गुरुङको मेरो मुटु समिभन्ज्याङ गीतको छायाङ्कन

रुपिन्द्र प्रभावी

लमजुङ, फागुन २६ गते ।
लमजुङको समिभन्ज्याङको विषयमा तयार पारिएको मेरो मुटु समिभन्ज्याङ बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन कार्य सम्पन्न भएको छ । साविकको समिभन्ज्याङ गाविस र हालको मन्ध्य नेपाल नगरपालिकाको वडा नं. ८ र ९ का विभिन्न ठाउँ, संस्कृति, परम्परा र जनजीवनलाई समेटेर ३ दिनसम्म छायाङकन गरिएकोे भिडियोको निर्देशन सुरज गुरुङले गर्नुभएको हो ।

“उद्वेलन” नामक गजल सङ्ग्रह प्रकाशनको तयारी गरिरहनुभएका साहित्यकार गुरुङले यसअघि “अनि हरिभक्त फर्किएनन्” नामक वृत्तचित्रको सहनिर्देशन गर्नुभएको थियो । लमजुङकै भोर्लेटारका स्थायी वासिन्दा गुरुङ हाल भारतीय सेनामा कार्यरत हुनुहुन्छ । पेसाले सैनिक भए पनि कला, साहित्यमा सानैदेखि रहेको आफ्नो रुचिलाई मूर्त रुप दिनका लागि समयले भ्याएसम्म यस्ता कार्यमा लाग्ने गरेको निर्देशक गुरुङले बताउनुभयो । आफ्नो छिमेकी गाविसका बारेमा बनेको गीतले निकै प्रभाव पारेकाले आफू निर्देशनका लागि लागिपरेको उहाँको भनाइ छ ।
अनुपम म्युजिक, पोखराको प्रस्तुती रहेको गीतको अडियो रेकर्डका लागि साविकको समिभन्ज्याङ गाविस र नागभैरव संस्कृति संरक्षण समूहले विशेष सहयोग गरेका थिए । जुनु रिजाल र सन्तोष प्रधानको स्वर तथा सन्तोष प्रधानको सङ्गीत रहेको गीतको रचना रुपिन्द्र प्रभावीले गर्नुभएको हो । भिडियोको छायाङ्कन पुष्कर थापाले गर्नुभएको छ भने अनुसा गुरुङ र राहुल थापाको अभिनय रहेको छ । एक महिनाभित्र म्युजिक भिडियोको सम्पादन कार्य सकिने र छिट्टै विशेष समारोहका बिच भिडियो सार्वजनिक गरिने प्रस्तुतकर्ता अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिनुभयो । भिडियोले समिभन्ज्याङको पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास तान्द्राङकोट परिसर विकास समितिका अध्यक्ष मेमबहादुर गुरुङले व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *