जलबिद्युत आयोजनाहरु धमाधम बन्दै, ट्रान्समिसन लाईन नबन्दा समस्या

दीपक अधिकारी
हिलेबजार (लमजुङ), फागुन २६ गते ।
ट्रान्समिसन लाईन नबन्दा पूर्वी लमजुङको दोर्दी करीडोरमा निर्माण भईरहेका जलबिद्युत आयोजनाहरु समस्यामा परेका छन् । ढोडेनीको किर्तिपुर देखि उदीपुर सवस्टेशन सम्मको १४ किलोमिटर ट्रान्समिसनलाईन नबन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु अन्योलमा परेका हुन् ।
दोर्दी करीडोरमा निर्माण भईरहेको २५ मेगावाट क्षमताको दोर्दीखोला जलबिद्युत आयोजना ग र २७ मेगावाट क्षमताको दोर्दी खोला जलबिद्युत आयोजना पनि २०७४ असार मसान्त सम्ममा सक्ने लक्ष्यका साथ निर्माण भईरहेको छ । यी आयोजनाहरुमा निर्धारीत लक्ष्य अनुसारनै काम भईरहेपनि ट्रान्समिसनलाईनको अन्योलताले प्रबद्र्धकहरु चिन्तामा छन् । त्यस्तै ४९.६ मेगावाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत आयोजना २०७६ सालसम्म सकिने लक्ष्यका साथ काम भईरहेको छ ।
लमजुङ विद्युत विकास कम्पनीले निर्माण गर्न लागेको १०.३ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत आयोजना पनि निर्माणको तयारीमा जुटेको छ । झण्डै १ अर्ब ८० करोडको लागतमा निर्माण गरीने सो आयोजना २०७६ माघमा सक्ने लक्ष्य छ ।
धमाधम जलबिद्युत आयोजनाहरु निर्माण भएपनि ट्रान्समिसनलाईनको अहिलेसम्म सुरसार छैन् । निर्धारीत समयमा काम नसके त्यसको भार थप पर्छ, लिवर्टी इनर्जी पावर कम्पनीका सञ्चालक राजेन्द्र वस्ती भन्छन्– “समयमै बिद्युत उत्पादन गरे पनि राष्ट्रिय प्रशारणमा जोड्ने ठाउँछैन् ।”
जलबिद्युतको क्षेत्रमा महत्वकांक्षी लक्ष्यका साथ लागिपरेको सरकारले आफ्ना लक्ष्य र योजनालाई ब्यबहारत कार्यान्वयन गर्न नसकेको पिपुल हाईड्रोपावरका प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमको आरोप छ । “सरकारले नीतिमा मात्र ल्याएको छ, अहिले सम्म ट्रान्समिसन लाईन बन्न सकेको छैन् ।” उनले ट्रान्समिसनलाईन बनाउन सरकारले ध्यान नदिने हो भने सरकारको लक्ष्य पुरा हुनै नसक्ने बताए ।
किर्तिपुर–उदीपुर सम्मको १३२ केभीए (१४ किमी) ट्रान्समिसनलाईन सरकारले निर्माण गर्ने भनिएपनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । त्यस्तै मार्पीचोक–भरतपुर २२० केभीए डबल सर्किट (६५ किमी) ट्रान्समिसन लाइन (किर्तिपुर –उदीपुर १३२) को स्तरोन्नति कार्यपनि अहिलेसम्म हुन सकेको छैन् । जलबिद्युत आयोजनाहरु धमाधम निर्माण भईरहँदा पनि ट्रान्समिसन लाईन बन्छ या बन्दैन् भन्ने टुंगो छैन् ।
ट्रान्समिसनलाईनको जग्गा खरिद र टेण्डर प्रक्रिया चालु आर्थिक बर्षमानै सक्ने बताइएपनि हालसम्म कुनैपनि प्रक्रिया बढ्न सकेको छैन् ।
यता नेपाल बिद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख माधव न्यौपाने जग्गाको प्राप्तिको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक बर्षमा टेण्डर प्रक्रियाको काम सकाउने योजना रहेको बताउँछन् ।
बिद्युत प्राधिकरणको ढिलाईले समयमानै ट्रान्समिसनलाईन बन्छ भन्नेमा जलबिद्युत आयोजनाका प्रबद्र्धकहरु बिश्वस्त छैनन् । “ट्रान्समिसन लाईनका हरेक क्रियाकलापमा ढिलाई छ, दोर्दी जलबिद्युत आयोजना ग का प्रबद्र्धक राजेन्द्र वस्ती भन्छन, “यही गतिमा निर्धारीत समयमा ट्रान्समिसन लाईन बन्नेमा शंका छ ।”
ट्रान्समिसन लाईन समयनै नबन्दा जलबिद्युत आयोजनाहरु काम सकाएपछि उत्पादित बिद्युत खेर जाने हो कि भन्नेमा चिन्तित छन् । जलबिद्युत आयोजना निर्माण भईसक्नुपर्ने अवधिक छोटिंदै गएपनि ट्रान्समिसन लाईन बनाउन सरकारको तदरुकदा नदेख्दा उत्पादन भएको बिजुली खेर जाने चिन्ता जलबिद्युत आयोजना प्रबद्र्धकहरुमा छ ।
“सयममा बिद्युत उत्पादन नगरेपनि घाटा छ, सुपरदोर्दी ख का प्रोजेक्ट म्यानेजर अर्जुन गौतम भन्छन्, “समयमै बिद्युत उत्पादन गरेपनि समस्या देखिने अबस्था छ ।” उनले सरकारले ट्रान्समिसनलाईन निर्माणका लागि बिशेष चासोको रुपमा हेर्न आग्रह गरे ।
जिल्लामा केहीबर्षयता ठूला–साना जलविद्युत् आयोजना निर्माण गर्ने लहर नै चलेको छ । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी र ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४.४ मेगावाट क्षमताको राँधीखोला जलबिद्युत आयोजना,५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए आयोजना निर्माण भईसकेको छ । ३ करिडोरमा निर्माणाधीन ६ वटा जलबिद्युत आयोजनाले ३ वषभित्र आयोजना बनाइसक्ने लक्ष्य लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *