जिल्ला कारागारमा खानेपानी अभाव

लमजुङ, जेठ २६ ।
जिल्ला कारागारमा विगत एकसातादेखि खानेपानीको अभाव भएपछि कारागारका बन्दीहरु समस्यामा परेका छन् । धारामा पानी नआउँदा वन्दीहरुमा सरसफाइको कमीका साथै गर्मी मौसममा लाग्ने भाइरल ज्वरो, रुघाखोकी जस्ता समस्याहरु देखिन थालेका छन् ।
जिल्ला कारागारका प्रमुख तीर्थबहादुर अधिकारीका अनुसार भारतीय भू.पू.सैनिक विकास समितिले कारागारमा उपलब्ध गराएको खानेपानीको ट्यांकी चुहिएको, बर्षातको पानीले विगारेको हुनाले खानेपानीको समस्या बढ्दै गएको हो ।
खानेपानीको ट्याँकी मर्मतका लागि बेसीशहर नगरपालिकामा अनुरोध गरिएकोमा नगरप्रमुख गुमानसिंह अर्यालबाट दुई तीनदिनभित्रै मर्मत गरिदिने आश्वासन प्राप्त भएको अधिकारीको भनाई छ । हाल जिल्ला कारागारमा खानेपानीको अभावले गर्दा शौचालय दुर्गन्धित बनी कारागार परिसरभित्र बसीनसक्नु भएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले  खानेपानीको समस्या समाधानका लागि आफूले सक्दो प्रयास गरेको जानकारी दिए ।
घ श्रेणीको यो कारागार २५ जना क्षमताको हो तर हाल जिल्ला कारागारमा ६४ जना बन्दीहरु रहेका छन् । यीमध्ये ६ जना महिला छन् । वन्दीहरुलाई खानेपानी अभाव भएपछि बजारबाट प्रशोधित पानी खरिद गर्नु परेको कारागार प्रमुख अधिकारीले बताए ।

–दलबहादुर मजाकोटी