युगल ब्याडमिण्टन प्रतियोगिताको उपाधि प्रधान र लामालाइ

बेसीशहर, जेठ २६ ।

बेसीशहरमा आयोजित जिल्लास्तरीय युगल ब्याडमिण्टन प्रतियोगिताको उपाधि कृष्णकुमार प्रधान र अजय लामाले जितेका छन् ।
शनिबार फुलबारीमञ्चस्थित ब्याडमिण्टन कोर्टमा भएको प्रतियोगिताको फाइनलमा दिलबहादुर गुरुङ र कृष्ण रानाको जोडीमाथि सोझो सेटमा रोमाञ्चक जीत निकाल्दै प्रधान र लामाको जोडीले उपाधि जितेको हो । गर्मीको मौसम र लगातारको खेलले लखतरान भएका खेलाडीहरुबीच दोस्रो खेल निकै रोमाञ्चक रह्यो । पहिलो सेटमा सहज जीत निकालेको प्रधान र लामाको जोडीलाई दोस्रो सेटमा जीत निकाल्न हम्मे हम्मे प¥यो । साविक २१ मा सकिनु पर्ने खेल कडा प्रतिस्पर्धाका कारणा २९ मा पुगेर मात्र टुंगिएको थियो ।
प्रतियोगितामा विनोद तामाङ र प्रल्हाद बोहरा तथा पदम रावत र नरजंग तामाङको जोडीले तृतीय स्थान हात पारे । प्रथम हुने खेलाडीहरुले नगद १५ हजार, कप, पदक तथा प्रमाणपत्र, द्वितीय हुने जोडीले नगद १० हजार पदक र प्रमाणपत्र र तृतीय हुने जोडीले नगद ३÷३ हजार पदक र प्रमाणपत्र प्राप्त गरे ।
लमजुङ जिल्ला ब्याडमिण्टन संघको आयोजनामा भएको प्रतियोगितामा बेसीशहर, भोटेओडार, सुन्दरबजार, खुदी तथा बाहुनडाँडाडाका गरी ३४ जोडीले सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र समापन उपमेयर लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।