लमजुङका तीन युवालाई युवा प्रतिभा तथा उद्यमी पुरस्कार

बेसीशहर, जेठ २१ गते ।

लमजुङका तीन युवा उद्यमीलाई युवा प्रतिभा तथा उद्यमी पुरस्कार–२०७५ बाट पुरस्कृत गरिएको छ । जिल्ला युवा समिति लमजुङले युवा उद्यमीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

सम्मानित हुने तीनै जना ब्यवसायिक कृषक रहेका छन् । पुरस्कृत हुनेमा व्यवसायिक तरकारी खेती गर्ने नवीनराज कुइँकेल, ब्यवसायिक मौरीपालक किसान ललित गुरुङ र व्यवसायिक बाख्रापालक किसान उत्तम गुरुङ रहेका छन् । तीनै जना उद्यमीलाई जिल्ला सन्वय समितिका प्रमुख लोकराज पाण्डे, युवा समितिका अध्यक्ष विवश बुढाथोकी र कार्यालय प्रमुख नारायण रेग्मीले नगद ७ हजार रुपियाँसहित सम्मानपत्रले सम्मान तथा पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुने कुइकेलले मस्र्याङ्दी कृषि फर्म स्थापना गरि व्यवसायिक तरकारी खेती गरेका छन् । १५ बर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य र अन्नपूर्ण पोष्ट दैनिकमा आवद्ध छन् । मस्र्याङ्दी गाउँपालिका–९ मा कुइकेलसँगै अन्य तीन जना युवाहरु मिलेर कृषि व्यवसाय गरेका हुन् । उनीसँगै अशोक सापकोटा, विकासचन्द्र घिमिरे र सुदिप अधिकारी यसमा संलग्न छन् ।

३० रोपनी जमिन भाडामा लिएर हाल २२ वटा टनेलमा गोलभेंडा खेती गरिएको छ । गोलभेंडा बाहेक काउली, बोडी, सिमी, मुला, धनिया, रामतोरिया, भेन्टा, काँक्रो खेती गरिएको युवा उद्यमी अशोक सापकोटाले बताए । फर्ममा ५० वटा टनेल, पाँचहजार लियर्स कुखुरा, माछा, फलफुल र तरकारी नर्सरी स्थापना गर्ने लक्ष्य रहेको सञ्चालक विकासचन्द्र घिमिरेले बताए ।

यस्तै पुरस्कृत हुने सुन्दरबजार नगरपालिका–५ गहतेका ललित गुरुङले व्यवसायिक मौरी पालन गरेका छन् । उनकोमा हाल ५३ घार मौरी छन् । एक घारबाट बार्षिक २० देखि २२ किलोसम्म मह उत्पादन हुने गरेको गुरुङले बताए । उनले हालसम्म ६ सय जति मौरीका घार बेचिसकेका छन् । ‘मौरी पालनबाट राम्रै आम्दानी भएको छ’, गुरुङले भने, ‘बार्षिक ८ देखि १० लाख रुपियाँ कमाउँछु ।’

क्व्होलासोथार गाउँपालिका–२ मालिङका उत्तम गुरुङले जिके बाख्रा फर्म सञ्चालन गरेका छन् । रोजगारीका लागि ५ वर्ष अर्फगानिस्तानमा विताएका गुरुङले २०७२ सालदेखी बाख्रा पाल्न थालेका हुन् । २५ वटा बाख्राका माउँवाट सुरु गरिएकोमा हाल ७२ बाख्रा पुगेका छन् । उनले बोयर क्रस, खरि र विटर क्रस गरि ३ जातका बाख्रा पालेका छन् । बाख्राका लागि उनले २० रोपनी जग्गामा डाले तथा भुइघास रोपेका छन् । बार्षिक १० लाख कमाउने गरेको उनले बताए ।

युवा समितिले गतबर्ष पनि तीन युवा उद्यमीलाई सम्मान गरेको थियो ।