स्थानीय तहमा चहलपहल, सुनसान बन्दै सदरमुकाम

शान्ता कमली

बेसीशहर, साउन १ गते । केही समययता जिल्ला सदरमुकाम बेसीसहर सुनसान बनेको छ भने स्थानीय तहमा चहलपहल बढेको छ । संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएपछि सदरमुकाममा चहलपहल घटेको हो ।

नयाँ संरचनाअनुसार सदरमुकामका रहेका एक दर्जन कार्यालय स्थानीय तहमा समाहित भएका छन् । जनसम्पर्क बढी हुने सरकारी कार्यालयसमेत स्थानीय तहमा गाभिएकाले सदरमुकाममा मानिस कम आउने गरेका हुन् ।

लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले गाउँमै सेवा पाएका कारण सदरमुकाममा चहलपहल कम भएको बताए । प्रजिअ ढकालले भने, ‘शिक्षा, स्वास्थ्य, कृषिलगायत काम स्थानीय तहबाटै हुने भएकाले सदरमुकाम आउने संख्या कम भयो ।’

जिल्ला समन्वय समिति पनि सुनसान

आर्थिक वर्षको अन्तिममा योजनाको अन्तिम किस्ता लिन सेवाग्राहीको भिड लाग्ने जिल्ला समन्वय समिति लमजुङमा यसपटक सुनसान छ । यसअघि जिविस तथा जिससले खर्च गर्दै आएको बजेट र योजना अहिले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकामा गएसँगै जिल्ला समन्वय समिति सुनसान बनेको जिल्ला समन्वय समिति लमजुङका जिल्ला समन्वय अधिकारी अन्तरबहादुर सिलवालले बताए । उनले भने, ‘सबै बजेट र योजना स्थानीय तहमा गएपछि जिससमा सेवाग्राही आउन छाडेका छन् । भएका केही कर्मचारी पनि फुर्स्दिला छन् । ’

३१ जना कर्मचारी रहेको जिल्ला समन्वय समितिको कार्यालय लमजुङमा अहिले चार कर्मचारी रहेको जिससका सूचना अधिकारी सुशीला श्रेष्ठले बताइन् । ८ वटा स्थानीय तह रहेको लमजुङका ७ वटा स्थानीय तहमा जिल्ला समन्वय समितिका कर्मचारी पुगेका छन् ।

व्यापार–व्यवसायमा गिरावट

स्थानीय तहमा सेवा पाएसँगै व्यापार–व्यवसायसमेत घटेको छ । बेसीसहरको जनजीवन र व्यापारिक कारोबारसमेत बिस्तारै कम हुँदै गएको बेसीसहरका फलफूल तथा तरकारी व्यवसायी विष्णुनिधि लोहनीले बताए ।

सदरमुकाम बेसीसहरमा रहेको नापी, कृषि, जिल्ला जनस्वास्थ्य, पशु सेवा, सहकारी प्रशिक्षण तथा डिभिजन, महिला तथा बालबालिका, शिक्षा कार्यालय स्वतः स्थानीय तहमा गाभिन पुगेपछि सदरमुकाम बेसीसहरमा मानिस आवागमनको चहलपहल नै सुनसान बन्न थालेको बेसीसहरका होटेल व्यवसायी सन्तोष बस्नेत बताउँछन् । दर्जनभन्दा बढी सरकारी कार्यालयका कर्मचारी र ती कार्यालयमा जिल्लाभरिबाट कामविशेषले सदरमुकाम आउने जिल्लावासी नागरिकको आवागमन घटेको छ । बेसीसहरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, कोष तथा लेखा नियन्त्रणको कार्यालय र मालपोत कार्यालय आदि सरकारी कार्यालय मात्र सदरमुकाम बेसीसहर सीमित छन् । सेवाग्राहीको आवागमन ह्वात्तै घट्दा आर्थिक गतिविधिमा समेत प्रतिकूल असर परेको स्थानीयले बताए ।