मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपत्ता

बेसीशहर, साउन १९  गते ।

लमजुङको बेसीशहर नगरपालिका वडा नंं १ र ११ को बीचमा पर्ने मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा दुईजना किशोर बेपत्ता भएका छन् ।
मध्यमस्र्याङदी जलविद्युत परियोजनाको जलाशयमा पौडी खेल्न गएका तीनमध्ये दुई किशोर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बेसीशहर नगरपालिका वडा नं. ६ का १४ बर्षका योगेन्द्र रिमाल र सिम्पनीका १५ बर्षका अजित थापा रहेका प्रहरीले जनाएको छ ।
उनीहरुसंगै पौडी खेल्न गएका सोही ठाउँका १४ बर्षका प्रतीक रिमाललाई भने नेपाली सेनाले उद्धार गरेको छ । अहिले उनको सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।
उदीपुरको चिप्लेटीबाट चितीतर्फ जाने झोलुंगे पुलबाट मस्र्याङदी नदीमा फाल हालेर पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएको स्थानीयले बताएका छन् । शनिबार दिउसो करिब ४ बजेको आसपास उनीहरु मस्र्याङदीमा पसेका थिए ।
बेसीशहर नगरपालिकाको वडा नंं १ स्थित गाइखुरे झरनाको  सुन्दर र मनमोहक  दृष्यमा तस्वीर खिचाउने, पौडी खेल्ने र नुहाउनेहरुको भीड भएका बेला उनीहरु मस्र्याङदीमै पौडी खेल्न जलाशयमा गएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरूकाे खाेज तलास जारी राखिएकाे प्रहरीले जनाएकाे छ ।