म हुँ दोषी, सजाय मलाई देऊ !

 प्रतीक प्रधान

भक्तपुरमा बाढी घरघरमा पस्यो, कञ्चनपुरमा एक बालिकाको बलात्कार र हत्या भयो, काठमाडौंका सडक हिँडीनसक्नु हिलाम्य भए, चावहिल–जोरपाटी र कलंकी–नागढुंगा सडकको बिजोग हेरी नसक्नु छ । कसैको सालालाई ब्लड क्यान्सर भएको छ, कसैलाई फोक्सोको क्यान्सर, कसैको सासुलाई डिमेन्सिया भएको छ । कति लाशहरू हरेक दिन लाइन लागेर बाकसमा लुकेर गाउँ-कन्दरा पुग्दैछन्– आत्मीयलाई निर्जीव अनुहार देखाएर नजिकैको खोलामा खरानी भई बग्नका लागि मात्र । हाम्रा खरानी पनि अभिशप्त छन्, बगेर पानीको बाटो समुद्र पुग्नका लागि ।

न समाज बाँकी रह्यो न परिवार । न माया रह्यो न प्रेम । मेरी बहिनीलाई विदेशमा अस्मिता बेच्न वाध्य बनाइएको छ भने मेरो भाइको पसिना । मेरा छोरी र बहिनीलाई त आफ्नै गाउँ, आफ्नै नातेदारले मुख थुनी थुनी पिल्साएका छन् । अनि मुख खोल्छे भनेर ढुंगाले किचेर मारेका छन् । उफ !

मेरा आफ्ना हरेक कदममा लुटिएका छन्, हेपिएका छन्, ठगिएका छन् । तर, म ढुक्कसँग बसेको छु । हरेक दिन मेरा आफन्तको पीडा, दुःख, कष्ट, आर्तनाद, रुवाइ, चिच्याइ सबै मोबाइलका पर्दामा हेरेर यो सबैलाई एउटा सिनेमा झैँ मानेर बसेको छु । नाकमाथि पानी नआउन्जेल सबै रमिता हेरेर बसेको छु । एकदिन आफू पनि कसैको मोबाइलको पर्दामा, टेलिभिजन, रेडियो र पत्रिकामा समाचार हुन्छु भन्ने थाहा हुँदाहुँदै पनि म चुपचाप बसेको छु ।

मलाई के भएको हो ? अहिले ठीक छु होला । तर, हुन त हुन्छ, मलाई पनि हुन्छ । केही न केही अवश्य हुन्छ । तर, केही नभइकन पनि अहिले मलाई आत्मग्लानि भएको छ । किनभने यो देशमा, समाजमा, गाउँ–सहरमा र परिवारमा जे-जे भएको छ, त्यो सबैको दोषी म नै रहेछु । त्यसैले आत्मग्लानि भएको छ ।

लाग्छ, मेरो देश राक्षसको बस्ती हो । यहाँ घरघरमा राक्षसको बसोबास छ । जो राक्षस हुन सकेका छैनन्, ती भातमारा लाशमात्र हुन् । र, म त्यही भातमारा एउटा लाश हुँ । राक्षसले मेरो देशको भोजन गर्दा तिनको क्षुधा शान्तिको प्राकृतिक प्रक्रिया मानेर चुपचाप बस्ने म । आँखा नदेख्ने, कान नसुन्ने र बोल्न नसक्ने पक्षघातले ग्रसित जिउँदो लास, भातमारा लाश बनेर बसेको छु । राक्षसहरू अनेकौं रूप, रंग र आकारमा आउँछन् । मेलैसँग बसेर भोज लगाउँछन् । कसैलाई खुट्टा चाहिन्छ, कसैलाई छाती । कसैलाई सोमरस त कसैलाई रक्ति ।

कोही बालुवाटरमा बसेर डकार्छन्, कोही सानेपामा । कसैले गाउँगाउँ सिध्याए, कसैले काठमाडौंको गल्लीगल्लीमा च्यापे । कसैले सिंहदरबारमा बसेर खाएको अर्काले नारायणहिटीमा पुगेर दन्काए । मेरा आफ्ना, मेरा प्रिय, मेरो कुरा मिल्ने भन्नेले पनि आफ्नो राक्षसी प्रवृत्तिलाई रोक्न कुनै प्रयास गरेनन् । कसैले नेता बनेर भ्याए, कसैले कर्मचारी । कोही पुलिस बनेर लुटे कोही न्यायाधीश । अनि म रमिता बनेर बसेँ । केबल रमिते । बाघले खाएको सिकारको हड्डीमा लागेको मासु खान पाइन्छ कि भनेर रमिते बनेको स्याल भएर र्‍याल चुहाएँ ।

म मात्र हुँ र, मेरो त पुस्तै लाचार छायाँ रहेछ । मेरा हजुरबा राणाबाट राजामा गएको अधिकार हेरेर बसे । मेरा बुबा राजाको थिचोमिचो सहेर बाघले खाएको शिकार हेरेर बसे । मेरा हजुरबा र बुबाले त कमसेकम शिकारीले सिकार गरेको हेरेका थिए र बेलाअनुसार चित्त बुझाएका थिए रे भनौं । म त शाकाहारी भनिएको जनावरले रगतको आहालमा बसेर गरिब जनताको मासु लुछीलुछी, भागबण्डा लगाई लगाई खाएको हेरेर बसेँ । म त्यही रमिते स्याल बनेर बसेँ ।

म बोल्नु पर्थ्यो । हैन, म चिच्याउनु पर्थ्यो । यो संसार थर्किने गरी, आकाश गर्जिने गरी, धर्ती फाट्नेगरी भन्नुपर्थ्यो – हाम्रा लागि लडेका भन्नेहरूले हामीलाई ज्युँदै सिध्याइसके भनेर । तर, म बोलिनँ । बल्खु, सानेपा र अनेकतिर अड्डा जमाएका राक्षसहरूले मेरो देशको रगत चुसिरहे । कमजोरीले थलिएर शिथिल भएको मेरो समाज सुतिरह्यो, उनीहरू चुसिरहे, म हेरिरहेँ ।

निर्वाचनका लागि भनेर चन्दा उठाउन हिँडेको मेरो साथीलाई मैले मेरो दुई पाङ्ग्रेबाट उहीबेला लात्ती हानेर झारेको भए, शायद केही पैसा चन्दा दिएको भरमा देश बेच्ने लाइसेन्स त्यो अधम एजेन्टले पाउँदैनथ्यो । म त त्यही चन्दाको चानचुनले खरिद गरिएको एक छाक खाजामा नै भुलेछु । प्रमाणपत्र नक्कली ल्याएर ठूला जागिरमा निवेदन दिनेको प्रमाणपत्र मैले जलाइदिनु पर्थ्यो तर म तिनको प्रगतिमा साथै लागेँ । व्यापारको नाममा राजस्व छल्नेलाई मैले नंग्याइदिनुपर्थ्यो तर म तिनकै वार्षिक कार्यक्रमको समाचार सँगाल्दै बसेँ ।

जनताका लागि भनेर उनीहरू छानी छानी मान्छेलाई आँगनमा बली दिँदै गर्दा मैले तिनी सबैलाई अन्तर्राष्ट्रिय अदालतमा लगेर जाक्ने काम गर्न सक्थेँ, मसँग कलमको तागत थियो । तर, म त ती राक्षसको अन्तर्वार्ता लिएर तिनलाई मायावी पुरुषको जलप लगाउन तम्सिरहेँ ।

तिनले सानेपा र बल्खुबाट सांसद पद बेच्दा धर्ती काँपिन्, भूकम्प आयो । तर, म भने समाज परिवर्तन हुने दिशामा छ भनेर चुपचाप बसिरहेँ । तिनले नदी किनाराका सम्पूर्ण जग्गा आफ्नो नाम गराउँदै गर्दा म मालपोतले कुनै सूचना दिएन भनेर सम्पादकलाई ओठेजवाफ लगाउँदै बसेँ । सरकारी कम्पनीले घाटा बेहोर्नुपर्‍यो भनेर हजारौं रोपनी जग्गासहितको कम्पनी तिनले बेच्दा त्यसमा कमिसन कति लुटे भनेर मैले हेरिनँ । अब देशको पैसा हरेक वर्ष जोगिने भयो, घाटाका कम्पनी बन्द हुने भए भनेर समाचार लेखेर बसेँ । अहिले काठमाडौंका खुला क्षेत्रका जग्गा आसेपासेलाई ठूला महल बनाउनका लागि सरकारले भाडामा दिइरहँदा पनि चुपचाप बसेको छु । अहिले सडकका खाल्डाखुल्डी नपुरिएर मेरा आफन्त, मेरा युवा पुस्ता सडकमा हिलाम्य भएर घर आउँदा पनि म खुसी छु । किनभने, धेरैले हिलाम्य सडकमा लाश उठाउन पुग्नुपरेको छ । तर, मेरा मरेका छैनन् भनेर मैले मनाएको यो खुशी क्षणिक हो, केही दिनको हो भन्ने मैले बुझेको छैन ।

मलाई कसैले ‘तँ रुख पार्टी होस्’ भनिदियो । तर, त्यही पार्टीका मान्छेले रुखका फल, पात, हाँगा सबै लुटेर खाए म केही बोल्न सकिनँ । अलिकति बोलेजस्तो गर्दा ‘तँ त सूर्यको मतियार भइस्’ भने । सूर्यले बोलेरै देश सक्ने भयो । आफूले खाल्डो पारेको होइन त्यसैले पुर्ने जिम्मेवारी पनि होइन भनेर टक्टकिन्छ । ठूला आयोजनामा लुकेरै डिल गर्छ, जनताको समस्या उखान, टुक्का र चुट्किला चुनाएर समाधान हुन्छ भन्ने सोच्छ । न्यायालयमा अब कहिल्यै ‘अँध्यारो’ नहुने गरी चम्किलो सूर्य स्थापित गरिसक्यो । कर्मचारीतन्त्र मरिसक्यो । अब सूर्यको राजमा काम गरेर आफू कमाउने होइन, नेतालाई धेरै र बाँकी कर तिरेर सकिने भइसक्यो । तर, पनि म त मूकदर्शक नै बनेको छु ।

पहिले केही बोल्नु हुँदैन ज्यान धरापमा पर्छ भन्थे, चुप लाग्थेँ । अहिले त झन् केही बोल्नु हुँदैन सामाजिक सञ्जालमा हुँडारहरू एक झुत्त आइपुग्छन् अनेक घृणित आरोप लगाउन । यी हुँडारहरू आफ्ना पूज्य ख्वामितजस्तै राक्षसी प्रवृत्ति भएर यति साह्रो असभ्य र जंगली भएका हुन् कि यिनले पनि मजस्तै बाघले खाएको सिकारको हड्डी चुस्ने स्याल हुँ भन्ने नबुझेका हुन् ? यिनले नेताभक्ति र पार्टीभक्तिको नाममा देशभक्ति जलाएर खाइसके । जसरी लागूऔषध सेवनकर्ता आफ्नै आमालाई बेचेर पनि लागूपदार्थ खान तयार हुन्छ, त्यसरी नै यी हुँडार त्यसैगरी नेपाल आमालाई बेचेर आफू राक्षसी पात्रको युवराज हुन तम्सिरहेका छन् ।

तर, दोष मेरै हो । राक्षससँग डराएर बस्दा बस्दा यो देश सक्किइसक्यो । नेपालको सवारी चालक प्रमाणपत्रले संसारको कुनै पनि देशमा सवारी चलाउन नपाउने भइसक्यो । नेपालको पासपोर्टले संसारका कुनै पनि देशमा ‘अन एराइभल भिसा’ (सिधै एयरपोर्टमा पुगेर पाउने भिसा) नपाउने अवस्था हुन थालिसक्यो । नेपालको शैक्षिक प्रमाणपत्र त धन्न जोगिएको छ । तर, अर्काको थेसिस चोरी गर्नेलाई उपकुलपति बनाइएको छ । कुनै दिन हाम्रो प्रमाणपत्रलाई पनि दुईले भाग गरेर मूल्यांकन नगर्लान् भन्न सकिन्न । संसारमा गरिब र अनैतिक देशको कोटीमा सबैभन्दा अघिल्लो पंक्तिमा आइसक्यो ।

त्यसैले दोष मेरो हो । म यो पार्टी र त्यो पार्टीमा विभाजित छु । म मेरै चेली बलात्कृत भइन् भने पनि राजनीतिक रंग दिन पछि पर्दिन कि भनेर अहिल्यै त्रसित छु । मेरा साथीसंगी, इष्टमित्र सबै कुनै न कुनै रूपमा राक्षसी प्रवृत्ति ग्रहण गर्दैछन्, गर्ने क्रममा छन् तर म तिनलाई नै राजनीतिक रंग दिएर रंगभेदी हुन्छु कि भनेर अहिल्यै सशंकित छु । अथवा मैले हरेक कुरामा राजनीतीकरण गरी नै रहेको छु । त्यसैले म दोषी हुँ ।

अहिले भएका सबै समस्याको कारक म नै हुँ । यो देशको डीएनएलाई क्यान्सरयुक्त बनाउने काम मबाटै भैरहेको छ । म नै हुँ यो सबै समस्याको कारक । मलाई नै दिइयोस् सजाय !(copied from: Barhakhari)

Leave a Reply

Your email address will not be published. Required fields are marked *