म्यार्दी खोलामा पुल निर्माण भएपछि मनाङको यात्रा सहज

बेसीशहर साउन २४ गते ।
हिमालपारीको जिल्ला मनाङमा सडक मार्गबाट पुग्नका लागि लमजुङसंगको सिमाना म्यार्दी खोलामा मोटरेबल पुल निर्माण भएपछि मनाङको यात्रा सहज भएको छ ।
दुई करोड लागतमा म्यार्दी खोलामा मोटरेबल पुल निर्माण गरिए पछि मनाङ जाने यात्रीहरुको सकस अब धेरै हदसम्म कम भएको हो । बर्षाका कारण म्यार्दी खोला उर्लिएको बेला खोलामा पुल नहुँदा यातायात आवगमन अबरुद्ध हुँदै आएको थियो । खोलामा सडक डिभिजन कार्यालय दमौलीले पुल बनाएको हो ।
मनाङ पुग्नका लागि बोलेरो जीप प्रयोग हुने भए पनि उर्लँदो म्यार्दी खोलामा जीपै डुब्ने गरी यातायात सञ्चालन गर्नुपर्दा दुर्घटनाको उच्च जोखिम थियो । कतिपय सवारी साधन खोला तर्न नसकी त्यतिकै रोकिने गरेका थिए ।
अघिल्ला बर्षहरुमा काठको अस्थायी पुल बाट यातयात सञ्चालन हुने गर्थे । त्यस अघि राखिएको फलामे ट्रष्ट खोलाले बगाएको थियो । पुल निर्माणपछि मनाङी जनताले राहतको महशुस गरेका छन् । मनाङ जाने पर्यटक, कर्मचारी सबैलाई राहत पुगेको छ । पुल नहुँदा एक्साभेटरले खोलामा अड्किएको गाडी तान्नु पर्ने बाध्यतासमेत झेलेका यातायात ब्यवसायी झनै खुशी भएका छन् । तर बर्षातका कारण सडकका विभिन्न स्थानमा झर्ने पहिरोले मनाङको यात्रा सहजै हुन भने सकेको छैन ।
“अझै पनि हाम्रो सास्ती सकिएको छैन, ठाउँ ठाउँमा पहिरो झरिरहन्छ, कति खोलाहरुमा अझै पुल बनिसकेका छैनन् । सडक त तपाइँहरुले देख्नु नै भएको होला नि !”–मनाङको रुटमा बोलेरो गाडी सञ्चालन गर्दै आएका मखन गुरुङ भन्नु हुन्छ । गुरुङका अनुसार अझै पनि मनाङको तिमाङ, पिसाङ लगायतका खोलाहरुमा गाडी डुबाएरै खोला तर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *