विविध कार्यक्रमका साथ बेसीशहरमा तीज उत्सव सम्पन्न

बेसीशहर भदाै १७ गते ।

हरितालिका तीजको अवसरमा लमजुङ मस्र्याङदी युवा क्लवले आयोजना गरेको तीज उत्सव सम्पन्न भएको छ ।

हरितालिका तीजको दिन तीज गीतमा नृत्य प्रतियोगिता तथा छेला प्रतियोगिताको समापन संगै उत्सव सम्पन्न भएको हो ।
तीज उत्सवमा बेसीशहरको न्यू इरा बोडिङ स्कुलले नृत्यतर्फ प्रथम स्थान हात पारेको छ । प्रतियोगितामा बुद्ध मेमोरियल बोडिङ स्कुल द्वितीय र सगरमाथा महिला घेदुङले तृतीय स्थान हात पारेका छन् । प्रतियोगिताका बिजयीलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार ५ सय र प्रमाणपत्र प्रदान गरियो ।

तीज उत्सवकै अवसरमा सोमबार आयोजना गरिएको छेलो प्रतियोगितामा सुन्दरबजार नगरपालिका १ कुञ्छाका दिपक सुनार प्रथम, दोर्दी गाउँपालिका ५ का कालु गुरुङ द्वितीये र बेंसीसहर १० का चन्द्र तामाङले तृतीय स्थान हासिल गरी क्रमशः ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्र पुरस्कार पाएका छन् ।
यसअघि आयोजना गरिएको भलिवल प्रतियोगितामा राइनास नगरपालिका प्रथम भई ५० हजार पुरस्कार पाएको छ । त्यस्तै खुल्ला ब्याडमिण्टन प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय लमजुङ प्रथम भयो ।

तीज उत्सवका अवसरमा क्लवले लमजुङको दुराडाँडामा जन्मेर नेपाली लोक गीत र संगीतको क्षेत्रमा उल्लेखनीय योगदान दिएका कृष्ण गुरुङलाई सम्मान गरेको छ ।
क्लवका अध्यक्ष जुन तामाङ र प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य मधु अधिकारीले गुरुङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
तीज उत्सव समापन समारोहमा बोल्दै प्रमुख अतिथि अधिकारीले तीज महिलाहरुको महान चाड भएको र यस अवसरमा क्लवले तीज उत्सव सञ्चालन गरेकोमा धन्यवाद दिइन् । उनले हिजोको जस्ता थिचोमिचो र बुहर्तनको अवस्था अहिले नरहेको र नेपालको संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको पनि बताइन् ।

कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र वडा नंं ८ का अध्यक्ष पवित्रा थापामगरले महिलाहरुको प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिताले सघाउने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु अर्जुन खड्का, सुनिता तामाङ, मञ्जु विकले दर्शकलाई मनोरञ्जन दिएका थिए । क्लवका अध्यक्ष जुन तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।