संस्कार र संस्कृति लोप भएकोमा पाका पुस्ताको चिन्ता

शान्ता कमली
लमजुङ १८ भदौ
लमजुङमा तमु समुदायले आफ्नो संस्कार र संस्कृति लोप हुदै गएकोमा पाका पुस्ताले चिन्ता गरेका छन् । बुधबार बेसीशहरमा तमु प्ये ल्हु संघ युवा समितिले पहिलो जिल्ला अधिवेशन बारे जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा पाका पुस्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला समितीका अध्यक्ष ठाकुर गुरुङले गुरुङ भाषा र सस्कृतिको जर्गेना गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले भने हाम्रो भाषा संरक्षणका लागी आफ्ना बालकालिकासँग आ– आफ्नो घरमा साँझ विहान अनिवार्य रूपमा गुरूङ भाषामा कुराकानी गर्ने बानीको विकास गर्नुपर्छ ।
गुरुङ समाजका अगुवा राजबहादुर गुरुङले, गुरुङले आयोजना गरेका कार्यक्रमहरू गुरूङ भाषामा सञ्चालन हुनुपर्ने बताए । प्ले ल्हु संघका जिल्ला अध्यक्ष क्या. मिलबहादुर गुरुङले हामी गुरुङ जातिको धर्म बोन धर्म भएकाले यसको संरक्षणका लागी सबैले चासो दिनुपर्ने बताए । उनले भने पछिल्लो समय युवा पुस्ताले गुरुङ भाष र सस्कृतिलाई विर्सेर पश्चिीमी सस्कृतिको सिको गरेका छन् यसको अन्त्य गरी सबै युवापुस्तालाई आफ्नो भाषा संरक्षणमा लाग्न आग्रह गरे । गुरुङ अगुवा ढकबहादुर गुरुङले सबै विद्यालयमा गुरूङ भाषाको पढाई अनिवार्य हुनुपर्ने बताए । उनले भने, ‘खेमा लिपी पत्ता लगाउन २६ वर्ष लाग्यो भन्छ, यसका २९ अक्षर रहेछ, त्यो चाइनिज जस्तो अक्षर चिनेर पढ्न नै समय लाग्ने भएपनि गुरुङ भाषा कसरी फैलिन सक्ला र ? भन्ने चिन्ता व्यक्त गरे ।’ त्यस्तै, मालिङ इकाईका अध्यक्ष गोपिराज योज गुरुङले भाषा तथा भेषभुषा प्राथामिकतामा नै पर्न सकेको छैन कसरी संरक्षण हुन्छ भन्ने प्रश्न गरे । तमु प्ये ल्हु संघ, युवा समितिको पहिलो जिल्ला अधिवेशन आगामी असोज ११ र १२ गते हुने पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । तमु समाजका अगुवाहरूले तमु संस्कार र संस्कृति संकटमा परेकोले यसको प्रवद्र्धनका कार्यमा जोडतोडले लाग्नु पर्ने बेला आएको भन्दै यसलाई बचाउन अधिवेशन गर्न लागीएको बताएका छन् ।
उक्त दुई दिने अधिवेशनमा ९ लाख ८१ हजार खर्च लाग्ने अनुमान गरिएको तमु प्ये ल्हु संघ युवा समितिका जिल्ला अध्यक्ष शेष तमुले बताए । उनका अनुसार अधिवेशनका नारा ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मावन अस्तित्व नै हराउँछ भन्ने रहेको छ ।