पशु व्यवस्थापन र पशु अधिकारका विषयमा बेसीशहरमा छलफल

बेसीशहर, असाेज १ गते ।

अघिल्लाे साता रेविज राेगबाट एक बालककाे मृत्यु भएपछि रेविज राेगकाे जाेखिम कम गर्न पहल थालेकाे छ । रेविज रोगको उच्च जोखिम देखिएपछि बेसीशहर नगरपालिकाले वेवारिसे कुकुरलाइ विषादी दिएर मार्ने  अभियान चलाए पनि यसमा स्थानीयकाे विराेध अाएपछि  यसबाट नगरपालिका पछि हटेकाे थियाे ।

नगरपालिकाकाे पशु शाखाका कर्मचारीहरूले विषादी दिइ कुकुर मारेकाे भिडियाे सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि नगरपालिकाले वेवारिसे र घरमा पालिएका कुकुरलाइ रेविज विरूद्धकाे भ्याक्सिन समेत दिन लगाएकाे थियाे । रेविजकाे सन्त्रास फैलिएपछि घरपालुवा जनावर पाल्नेहरूले अाफ्ना कुकुर, बिराला भेटेरीनरी अस्पताल बेसीशहरमा लगि रेविजकाे भ्याक्सिन समेत लगाएका थिए ।

पशु स्वास्थ्यकर्मीहरूले बेसीशहरबजारमा वेवारिसे हिँडेका तर रेविज नलागेका कुकुरहरूलाइ समेत रेविजकाे भ्याक्सिन दिएका थिए । पछिल्लाे पटक नगरपालिकाले सोमवार सडक पशु व्यवस्थापनका विषयमा छलफल पनि गरेकाे छ । छलफलको क्रममा नगरपालिका र पशु कल्याण संघ नेपालको सहकार्यमा  बेसीशहर नगरपालिका भित्र रहेका घर पालुवा र सामुदायिक कुकुर, विरालो आदिलाई भ्याक्सिन लगाउने, वान्ध्याकरण र व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

रेविजका कारण विभिन्न स्थानमा घरपालुवा जनावरको समेत मृत्यु भएपछि बेसीशहर नगरपालिकाले सडक पशुलाई व्यवस्थापन कसरी गर्ने भन्ने सम्वन्धमा पशुकल्याण संघ नेपाल र सामाजिक न्याय अभियान लमजुङको समन्वयमा छलफल चलाएकाे हाे ।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वरीष्ठ पत्रकार तथा पशुअधिकारकर्मी कपिल काफ्लेले पशु अधिकारकाे बारेमा र पशु कल्याण संघ नेपालका प्रतिनिधि विकेश श्रेष्ठले पशुपंक्षीको व्यवस्थापनका विषयमा जानकारी गराएका थिए । त्यस्तै अधिवक्ता तथा सामाजिक अभियान्ता सुदर्शन जाेशीले मूलुकी अपराध सहिंता २०७४ मा पशुपंक्षी सम्वन्धि  गरिएकाे ब्यवस्था र ऐननियमको जानकारी गराएका थिए ।

बेसीशहर नगरपालिकाले बेसीशहरस्थित घरपालुवा कुकुरलाई सुरक्षित रुपमा घरमा राख्न अनुरोध गरेकाे छ । घरपालुवा र सडकमा रहेका कुकरलाई रेविज विरूद्ध भ्याक्सिन सञ्चालन गरिएकाे जनाएकाे छ । नगरपालिकाको पशु सेवा शाखाका अनुसार शाखाका प्राविधिक टोली टोलटोलमा पुगी एन्टीरेविज भ्याक्सीन लगाउने कार्य गरेको छ । हालसम्म घरपालुवा कुकुर, विरोलो, वाँदर गरी १ सय भन्दा बढी पशुलाइ  भ्याक्सिन लागइएको पशु सेवा शाखा बेसीशहरका प्रमुख हरिवहादुर धितालले जानकारी दिए ।