जीत कांग्रेसकै हुन्छ, लमजुङमा गठबन्धनलाई छ सकस

मिलन शर्मा दनाई

मुलुक अहिले संघ र प्रदेशको निर्वाचनको संघारमा छ । संविधान कार्यान्वयनका लागि निर्वाचन जरुरी छ र यसै क्रममा स्थानीय निकायको निर्वाचन सम्पन्न भइ आउदो मंसिरमा दुई चरणमा संघ र प्रदेशको पनि निर्वाचन हुँदैछ । राजनीतिक दलहरु अहिले जोडतोडले निर्वाचनको तयारी र प्रचारप्रसारमा जुटिरहेका छन् । पहिलो चरणको निर्वाचन हुने भनिएको मंसिर १० का लागि उमेदवारहरु मत माग्न घरदैलो अभियानमा पनि जुटिसकेका छन् ।
अहिलेको निर्वाचन अलि पेचिलो छ । एकातिर बाम गठबन्धन र अर्कोतिर लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा छन् । तराई मधेसमा मधेसवादी दलहरुको गठबन्धन छ । यी बाहेक अन्य केही नयाँ र पुराना दलहरु पनि निर्वाचनको दौडमा छन् । मधेसबाहेक अन्यत्र विशेष गरी दुई गठबन्धनबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।
नेपाली राजनीति र राज्यसत्ताको मियो बनेको कांग्रेसलाई कसैगरी पनि हराउन नसकेपछि र यथास्थितिमा हराउन सकिने अवस्था नदेखिए पछि नेकपा एमालेले बाम एकताको नारा दिएर नेकपा माओवादी केन्द्रसंग चुनावी गठबन्धन बनाएको छ । गएको स्थानीय निकायको निर्वाचनमा देशका अधिकांश स्थानमा चुनावी गठबन्धनहरु भए । कतै बामपन्थी त कतै लोकतान्त्रिक गठबन्धनहरु बने । कतै कांग्रेस माओवादीको गठबन्धन पनि बन्यो, कतै एमाले माओवादीको त कहिँ कांग्रेस एमालेको गठबन्धन पनि बनेको देखियो ।
अहिलेको निर्वाचनमा भने स्थिति फरक बनेको छ । बामपन्थीहरु एकातिर र लोकतन्त्रवादीहरु अर्को कित्तामा विभाजित छन् । गठबन्धन बनाएर दुईतिहाई सिट जित्ने एमाले माओवादीको दाउ छ भने लोकतान्त्रिक गठबन्धन बनाएर त्यसलाई रोक्ने कांग्रेसको प्रयास छ । यद्यपी चुनावी नतिजा के हुन्छ अहिल्यै भन्न सकिने अवस्था छैन ।

लमजुङमा पनि राम्रैसंग चुनाव लागेको छ । लोकतान्त्रिक गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र बामपन्थी गठबन्धनको नेतृत्व एमालेले गरिरहेको छ । लमजुङमा माओवादी र राप्रपाको त्यस्तो ठूलो जनमत छैन भन्दा पनि हुन्छ । तसर्थ कांग्रेस एमालेकैबीचको प्रतिस्पर्धा हुने हो । एमाले माओवादीको साथ पाएर चुनाव जित्ने दाउमा छ भने कांग्रेस आफ्नै मतलाई जोगाउने र दुई राप्रपाको सहयोगमा चुनाव जित्ने प्रयासमा छ ।
अघिल्लो संविधानसभाको निर्वाचनमा दुईमध्ये एक÷एक क्षेत्र कांग्रेस एमालेले जितेका हुन लमजुङमा ।  अहिलेको निर्वाचनका लागि संघीय संसदका लागि एक र प्रदेशका लागि दुई निर्वाचन क्षेत्र छन् । संघीय संसदका लागि कांग्रेसले त्यागी नेता दीलबहादुर घर्तीलाई उमेदवार बनाएको छ भने बाम गठबन्धनबाट माओवादी नेता देव गुरुङ उमेदवार छन् ।
प्रदेशसभाका लागि क्षेत्र नंं १ का लागि कांग्रेसबाट भूपूसैनिक संघका केन्द्रीय उपाध्यक्ष गर्जबहादुर गुरुङ र बाम गठबन्धनबाट एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडी उमेदवार छन् । क्षेत्र नं. २ मा बाम गठबन्धनका उमेदवार एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ र कांग्रेसबाट निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद कोइराला उमेदवार बनेका छन् ।
अन्य दल र स्वतन्त्रबाट पनि उमेदवारी परेको छ तर उनीहरुको खासै प्रभाव देखिदैन ।
चुनाव नजिकिँदै जाँदा प्रचारप्रसारले तीव्रता त पाएकै छ, कार्यकर्ता र मतदाताबीच कसले चुनाव जित्छ भन्ने अड्कलवाजी र बहस पनि शुरु भएको छ । सबै आ–आफ्नो पक्षका उमेदवारले जित्ने दावी गरिरहेको सन्दर्भमा जितहारको विषयमा गहिरिएर विश्लेषण गरिएको पाइँदैन । गठबन्धन भएकै कारण मात्र आफूहरुले जित्ने गठबन्धनको दावी छ, आफ्नै मात्र मत जोगाएर गठबन्धनलाई माथ दिने कांग्रेसको प्रयास छ ।
स्थानीय निर्वाचन सम्पन्न भएको धेरै समय भएको छैन । लमजुङका ८ स्थानीय तहमध्ये ६ वटामा बाम गठबन्धनले जितेको हो । त्यसैको आधारमा गठबन्धनले नै जित्ने दावी एमाले माओवादीले गरीरहेका छन् । यद्यपी स्थानीय निर्वाचनमा गठबन्धले जित्नुको कारण जनमत मात्र हुँदै होईन । का्रग्रेसको असन्तुष्ट समूहको असहयोग प्रमुख कारण हो र अबको निर्वाचनमा हिजोको झैं गठबन्धनका उमेदवारले निर्वाचन जित्ने अवस्था सहजै देखिदैन ।
संघीय संसदका लागि बाम गठबन्धनबाट देव गुरुङको उमेदवारीले एमालेबृत्तमा नै हलचल ल्याइदिएको छ । पार्टीको केन्द्रीय स्तरबाट भएको यो निर्णयले एमालेको कार्यकर्ता पंक्ति नै खुशी छैनन् । एमालेबाट संघीय संसदका उमेदवारको रुपमा हेरिएका पृथ्वीसुब्बा गुरुङ प्रदेश सभामा लड्ने गरी क्षेत्र नंं २ बाट उमेदवार बनेका छन् । अर्का लोकप्रिय नेता जमीन्द्रमान घलेलाई संघ र प्रदेश दुवै तर्फबाट उमेदवार नबनाए पछि उनका हितैषी कार्यकर्ताहरु निराश बनेका छन् । पार्टीभित्र र बाहिर पनि राम्रो छवि बनाएका र चुनाव जित्ने नेताको रुपमा लिइएका घलेलाई एमालेले समानुपातिकमा पनि नपत्याए पछि बाम गठबन्धनभित्र भुइँचालो आउने अवस्था देखिएको छ । उनै घलेले पहिलोपटक क्षेत्र नंं १ बाट अघिल्लो संविधानसभामा प्रतिनिधित्व गरेका थिए ।
बाम गठबन्धनका साझा उमेदवार देव गुरुङ लमजुङका होइनन् । मनाङको ओडार गाउँका गुरुङ ०६४ को चुनावमा मनाङ र कास्कीबाट उमेदवार बनेका थिए । दोस्रो संविधानसभा बहिष्कारमा लागेका उनले लमजुङका विकासका लागि अहिलेसम्म कुनै भूमिका खेलेका छैनन् । भोलि चुनाव जितेर गए पनि लमजुङको विकासका लागि उनले भूमिका खेल्ने कुरामा प्रशस्त शंका गर्ने ठाउँ छ त्यसैले मतदाताको रोजाईमा उनी पहिलो प्राथामिकतामा परेका छैनन् । पार्टीका कार्यकर्ताहरुले बाहेक आम मतदाताले उनलाई पत्याउन पर्ने त्यस्तै केही कारण पनि देखिदैन । माओवादीभित्रै कहिले बैद्यतिर कहिले प्रचण्डतिर लागेका कारण माओवादी कार्यकर्ताहरु नै उनलाई राम्ररी पत्याउँदैनन् भन्ने सुनिन्छ । तसर्थ गुरुङले गठबन्धनले सोचे अनुसार मत पाउने देखिदैन । २६ बर्ष अघि ०४८ को आम निर्वाचनमा लमजुङ क्षेत्र नंं १ बाट बाम गठबन्धनबाटै चुनावमा उठेका उनी कांग्रेसका उमेदवार रामचन्द्र अधिकारीबाट पराजित भएका थिए ।
यता लोकतान्त्रिक गठबन्धनबाट दीलबहादुर घर्ती उमेदवार छन् । लमजुङको जीतामा जन्मेका उनले लोकतन्त्र प्राप्तीका लागि पाएको दुःख विर्सिसक्नुको छैन । पञ्चायतकालमा प्रजातान्त्रिक आन्दोलनमा लाग्दा सर्वस्व हरणमा परी देश निकाला गरिएका नेता हुन् उनी । लोकतन्त्रप्रति उनको निष्ठाले कांग्रेस कार्यकर्तामाझ उनी लोकप्रिय छन् । घर्ती ०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नं. २ बाट पराजित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद बनेका उनी ब्यवस्थापीका संसदको राज्य ब्यवस्था समितिका सभापति भई संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेले । रुपान्तरिक संसदमा पनि भ्रष्टाचारविरुद्धको कानुन निर्माण गर्न उनको भूमिका रहेको थियो ।
बामपन्थी गठबन्धन हुँदा पनि अहिलेको निर्वाचनमा दीलबहादुर घर्ती देव गुरुङ भन्दा बलिया देखिएका छन् । लोकतन्त्रप्रति उनको निष्ठा, त्याग, विपक्षी उमेदवार बेजिल्लाका भएका कारण मात्र उनी बलिया देखिएका होइनन् । एमालेकै समर्थकको हौसलाका कारण पनि घर्ती गुरुङ भन्दा बलिया बनेका छन् । बामपन्थी एकता भए पनि द्वन्द्धका क्रममा माओवादीबाट दुःख पाएका कार्यकर्ताहरु देव गुरुङलाई भोट दिन भन्दा दीलबहादुर घर्तीलाई जिताउनु राम्रो मान्नेछन् । हिजो कांग्रेस जतिकै नभए पनि एमालेका कार्यकर्ता पनि माओवादीको तारो बनेकै थिए । यसकारण देव गुरुङलाई सबै एमाले कार्यकर्ता÷मतदाताको भोट प्राप्त हुन सक्ने देखिदैन ।
यद्यपी गएको स्थानीय निर्वाचनमा द्वारिका मिश्रको वागी उमेदवारीले सुन्दरबजारको मेयर जितेको बाम गठबन्धनले अहिले पनि उनी स्वतन्त्र उमेदवार बनेका कारण चुनाव जित्ने आशा गरिरहेको देखिन्छ । हिजो द्वारिका मिश्रले कांग्रेसकै दुई हजार सातसय मत काटदा अहिले पनि त्यही मतले आफूहरुले जित्ने दावी गठबन्धनको छ । तर हिजो स्थानीय चुनावमा द्वारिका मिश्रको पक्षमा मत हालेका कांग्रेस कार्यकर्ताहरु अहिले पनि उनैको पक्षमा भोट हाल्छन् भन्नु गठबन्धनको गलत बुझाई हो । स्थानीय तहको निर्वाचन र अहिलेको संघ÷प्रदेशको निर्वाचन फरक हो भन्ने बुझ्नु पर्छ । हिजो उमेदावर छनोटमा कांग्रेसले गरेको निर्णयको विरोध गरेका कांग्रेस कार्यकर्ता यसपालीको उमेदवारहरुको प्रचारमा निस्किएका छन् । हिजो उमेदवार छनोटमा गल्ती भए पनि अहिले पार्टीको निर्णय सही भएको भन्दै उनीहरु खुशी हुनु पनि दीलबहादुर घर्तीको विजयी शुरुवात मान्न सकिन्छ । यसबाहेक स्वयं एमालेका नेता कार्यकर्ताहरु देव गुरुङलाई गठबन्धनको सबै भन्दा कमजोर उमेदवारको रुपमा चित्रण गरिरहेका कारण पनि घर्तीको जीतको सम्भावनालाई बल पु¥याउँछ ।
प्रदेश सभातर्फ पनि कांग्रेसकै उमेदवारहरुको पल्ला भारी देखिन्छ । क्षेत्र नं. १ (क) मा कांग्रेसले गर्जबहादुर गुरुङलाई उमेदवार उठाएको छ । बाम गठबन्धनबाट विचौरकै धनञ्जय दवाडी उमेदवार छन् । पार्टीका जिल्ला अध्यक्ष रहे पनि दवाडी जनतामा धेरै भिजेका नेता नभएको एमालेबृत्तमा चर्चा छ ।
एमाले लमजुङमा जमीन्द्रमान घलेलाई धेरै जनाधार भएको नेता भन्ने गरिन्छ । जिविस सभापति हुँदा उनले गरेको कामको मूल्याङ्कन गरी अघिल्लो संविधानसभा निर्वाचनमा क्षेत्र नंं १ का जनताले पत्याएर संसदमा पठाएका थिए । तर अहिलेको निर्वाचनमा घलेलाई एमालेले समानुपातिकमा पनि नपत्याए पछि उनका समर्थकहरु निराश बनेका छन् ।
अर्कोतर्फ क्षेत्र नं. १ संगठनको हिसाबले कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्छ । यसले पनि कांग्रेसको जीत हुनेमा विश्वास गर्ने प्रशस्त ठाउँ छ । कांग्रेस एक ढिक्का हुन सक्यो भने त्यहाँ भारी मतले कांग्रेसले जित्न सक्छ । गुरुङ समुदायको बाक्लो उपस्थिति रहेको क्षेत्रमा गुरुङ उमेदवारले नै बढी भोट ल्याउने आंकलन गरिनु पनि अस्वभाविक होइन । यस बाहेक राप्रपाको मत कांग्रेसमा आउने त छँदैछ ।
यता क्षेत्र नं. २ (ख) मा पूर्व मन्त्री तथा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका निवर्तमान जिल्ला सभापति कृष्ण कोइरालाबीचको चुनावी टक्कर निकै रोमाञ्चक हुने देखिएको छ । दुवै नेतामा कसले बाजी मार्ला भनि अड्कलबाजीहरु भइरहेका छन् । बाम गठबन्धनले गुरुङलाई भावि मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । उनी मुख्यमन्त्री हुँदा लमजुङको सान हुने र लमजुङको विकासले फड्को मार्ने प्रचार गरिएको छ । तर गुरुङलाई मुख्यमन्त्री बनाउनैका लागि लमजुङेहरुले फेरि उनलाई मत हाल्छन् भन्ने ग्यारेन्टी भने छैन । किनकी पहिलो संविधानसभामा लमजुङ क्षेत्र नं. २ बाट जितेर गएका उनले गैर आदिवासी जनजातिहरुको भावनामा ठेस लाग्ने गरी अभिब्यक्ति दिएको आरोप छ । सोही कारणले दोस्रो संविधानसभामा आफू पराजित भएको स्वयं गुरुङले बताउँदै आएका छन् ।
पृथ्वीसुब्बा गुरुङ सम्भवत नेपालकै यस्ता उमेदवार हुन्, जो ०४३ सालदेखि हरेक आम निर्वाचनमा उमेदवार बनेका छन् । ४० बर्षसम्म लगातार उनको उमेदवारीले कतिपय मतदाता नै दिक्क भैसकेका हुन सक्छन् । एमालेकै कार्यकर्ताहरु उनी बाहेक एमालेमा अरु योग्य छैनन् र ? भनि प्रश्न गरिरहेको अवस्थामा उनले चुनाव जितेर मुख्य मन्त्री बन्ने सम्भावना पनि कम देखिन्छ ।
उनका प्रतिस्पर्धीको रुपमा कांग्रेसका उमेदवार कृष्ण कोइराला हुनुले पनि उनको जितमा गठबन्धनभित्रै शंका छ । कांग्रेस जिल्ला सभापति भइसकेका शालिन ब्यक्तित्वका धनी कोइराला गठबन्धनका लागि फलामे च्युरा हुन् । क्षेत्र नं. २ मा माओवादीको दरो मत नभएकाले गठबन्धन कांग्रेसको मतबाट मात्र आफ्नो जीत सुनिश्चित हुने देखिरहेको छ । त्यसैले कांग्रेसभित्रको आन्तरिक कलहलाई उपयोग गरेर मात्र चुनाव जितिने बाम गठबन्धनको निष्कर्ष छ । त्यसैले यसलाई मलजल गर्न उनीहरु उद्यत भइरहेको स्पष्ट देखिन्छ ।
बाम गठबन्धन सञ्चारमाध्यममार्फत कांग्रेसका विरुद्ध आक्रमण गरिरहेको छ । केही पत्रपत्रिका, अनलाईन र सामाजिक सञ्जालले कांग्रेस विरुद्ध हावादारी समाचार प्रेषित गरिरहेका छन् । यहाँसम्म कि “कांग्रेस सभापति शेरबहादुर देउवा एमालेमा प्रवेश” जस्ता शिर्षक राखेर केही अनलाईनहरुले समाचार बनाएका छन् र यस्ता समाचार सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
जीतप्रति गठबन्धन विश्वस्त नहुनु अर्को कारण लमजुङमा एमाले र माओवादीले गत निर्वाचनमा प्राप्त गरेको मत पनि हो । स्थानीय चुनावमै गठबन्धन गर्दा कांग्रेसलाई पुरै जित्न नसको हो गठबन्धनले । सुन्दरबजार र राइनास नगरपालिकामा एमाले गठबन्धनले मेयर जित्नु चिठ्ठा पर्नु नै हो र चिठ्ठा बारम्बार परिरहँदैन । क्वोंलासौथर गाउँ पालिकामा कांग्रेस केही कमजोर नै हो । मध्यनेपाल र दूधपोखरी कांग्रेसले जितेकै ठाउँ भइहाले । मस्र्याङदी र दोर्दी गाउँपालिकामा बराबरीको हैसियत हो तर कांग्रेसले प्राविधिक पक्ष मिलाउन नसकेको हो ।  बेसीशहरमा पनि बलियो भैकन पनि कांग्रेस हारेको हो त्यो पनि आफ्नै कारण ।
यसरी सबैतिर विश्लेषण गर्दा पनि कांग्रेस बाम गठबन्धन भन्दा बलियो नै छ लमजुङमा । यद्यपी कांग्रेसलाई आफैभित्रको परम्परागत रोगले कतिको पिरोल्छ भन्ने चिन्ता हो ।
आगामी निर्वाचनमा दुई तिहाई सिट जित्ने र कांग्रेसलाई पत्तासाफ बनाउने उद्देश्य राखेर एमाले माओवादीको बाम गठबन्धन बनेको विदितै छ । सरसर्ती हेर्दा दुई पार्टी मिलेर चुनाव लडेकाले यो गठबन्धन बलियो देखिन्छ । तर गठबन्धनभित्रका समस्या अनेक छन् । दुई भिन्न ध्रुवका, भिन्न विचार, भिन्न राजनीतिक प्रशिक्षण पाएका दुई दलका कार्यकर्ताबीच आपसी मेल अझै राम्रो छैन । दुवै पार्टीका कार्यकर्ताको धङधङी पुरानै हो । पार्टी एकतै भएको भए पनि यो धङधङी यति छिट्टै सेलाउने अवस्था थिएन भने अहिले त गठबन्धन मात्रै बनेको हो । भोलि पार्टी एकता हुन्छ भन्ने नै ग्यारेन्टी नभएकाले सबै माओवादीले उनलाई मत दिन्छन् भन्ने पनि छैन । कांग्रेस फुटेर पुनः जुट्दा अझै भावना जुटिसकेको छैन भने बाम गठबन्धनमा साँच्चिकै भावनात्मक एकता अलि परको कुरा हो । यसै कारण पनि मन फुकाएर कार्यकर्ता मतदाताले गठबन्धनका उमेदवारलाई नै भोट हाल्छन् भनेर विश्वास गर्ने आधार छैन ।
अर्कोतर्फ कांग्रेसका लागि यो गर या मरको स्थिति हो । गठबन्धनका उमेदवारले जितेको खण्डमा आउँदो १० बर्ष कांग्रेसले टाउको उठाउन सक्दैन भन्ने नेतादेखि सामान्य कार्यकर्ता र मतदातालाई पनि हेक्का छ । स्थानीय निकायको निर्वाचनमा उमेदवार चयनमा भएको गल्तीले धेरै ठाउँमा पराजयको स्वाद चाखिसकेको छ कांग्रेसले । यसर्थ अहिलेको निर्वाचनका लागि उमेदवार तय गर्दा अघिल्लो गल्ती नदोहोरियोस् भन्नेमा विशेष ध्यान दियो कांग्रेसले । यद्यपी कतिपय स्थानमा असन्तुष्टि नदेखिएको होइन । तथापि नेता कार्यकर्ताले त्यसलाई बाहिर देखिन दिएका छैनन् ।
लमजुङको सन्दर्भमा कांग्रेसभित्र विगतको जस्तो असन्तुष्टि देखिएको छैन । द्वारिका मिश्र स्थानीय चुनावमा बागी उठेर सुन्दरबजार नगरपालिकामा एमालेलाई जिताउने अभियानमा सरिक भएकाले उनी कांग्रेस अब रहेनन् । उत्तम गुरुङको हालत पनि त्यही हो । दुवै जना कांग्रेसका विरुद्ध उमेदवार भएका हुन् । स्थानीय चुनावमा उनीमाथि अन्याय भयो भनेर धेरै कांग्रेसले उनलाई मत दिए । त्यसलाई उनले आफ्नो ब्यक्तित्व दीलबहादुर घर्ती सरहको उचो भएको निष्कर्ष निकाले होलान् र त दीलबहादुरसंग चुनावी प्रतिस्पर्धामा उत्रिए । तर उनको यो दुस्साहस मात्र हो । हिजो नगरप्रमुखमा उठ्दा पाएको सम्मानजनक भोट अब पनि पाउँछु भन्ने सोच्नु उनको मुर्खता मात्रै हो । हिजो कांग्रेस भएकै कारण मत पाएका उनले अब कांग्रेसको मत पाउने विश्वास गर्न सकिँदैन ।
यसर्थ आगामी मंसिर १० को निर्वाचनमा लमजुङमा बाम गठबन्धनलाई चुनाव जित्न निकै सकस छ । बामपन्थीहरुको मतले मात्र चुनाव जित्न नसकिने निष्कर्षले पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाएर लमजुङको मुहार फेर्नुपर्छ भन्दै एमाले नेता कार्यकर्ताहरु मत मागिरहेका भेटिन्छन् । चुनाव प्रचारमा एमाओवादीका नेता कार्यकर्ता संगै हुँदा पनि गुरुङको टीमले देव गुरुङका लागि भोट मागेका छैनन् । जसका कारण माओवादीका नेता कार्यकर्ताहरु सशंकित देखिएका छन् । क्षेत्र नं. १ का उमेदवार धनञ्जय दवाडी र संघका लागि गठबन्धनका उमेदवार देव गुरुङलाई कमजोर देखेर नै होला एमालेको पुरै शक्ति पृथ्वीसुब्बा गुरुङलाई जसरी पनि जिताउने अभियानमा लागेका छन् । यसका लागि कांग्रेस नेता कार्यकर्तालाई एक अर्का विरुद्ध लडाउने दाउमा उनीहरु लागेका छन् ।
कांग्रेसभित्र गुटबन्दी हावी हुने र निर्वाचनमा त्यसले महत्वपूर्ण भूमिका खेल्ने गरेको कसैबाट छिपेको छैन । आफू र आफू अनुकूलका उमेदवार नभएपछि पार्टीको आधिकारिक उमेदवारलाई हराउने अभियानमा लाग्दा ०६४ र ०७० को संविधानसभा निर्वाचनमा पराजय भोग्नु प¥यो कांग्रेसले । गएको स्थानीय निर्वाचनमा पनि यस्तै भएको हो । यसबाट कांग्रेस नेता कार्यकर्ताले कत्तिको शिक्षा लिएका छन् भन्ने कुराले अबको चुनावमा प्रभाव पार्ने देखिन्छ । किनकी अब पनि घात अन्तरघातको श्रृंखला दोहोरिए कांग्रेस लमजुङको संगठन नै ध्वस्त हुन सक्छ र त्यसो भएमा कांग्रेस अबको १० बर्ष थला पर्नेछ ।