ताङ्लीचाेकमा स्व. हर्क गुरूङकाे सम्झना, उनकाे ब्यक्तित्वमाथि चर्चा

बेसीशहर, असाेज ६ गते ।

हेलिकाेप्टर दुर्घटनामा परी निधन भएका स्व.डा.हर्क गुरुङको १३ अाैं स्मृति दिवसकाे अवसरमा साेमबार भुलभुलेकाे ताङ्लीचाेकमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।

डा गुरूङकाे जन्मस्थल मर्स्याङदी – ७ ताङ्लीचोकमा रहेकाे उनकाे समाधिस्थलमा अायाेजित कार्यक्रममा स्व. गुरूङकाे ब्यक्तित्व र उनले देशका लागि पुर्याएकाे याेगदानकाे चर्चा गरियाे ।

कार्यक्रममा बाेल्दै संविधानसभाका सदस्य जमीन्द्रमान घलेले हर्क गुरूङकाे निधनले मुलुकलाइ अपुरणीय क्षति पुगेकाे भन्दै उनी जस्ता विद्वान र देश बुझेकाे मान्छे पाउन मुस्किल हुने बताए । स्वर्गिय हर्क गुरूङ स्मृति केन्द्रकाे अायाेजनामा भएकाे कार्यक्रममा संविधानसभाका सदस्य लालबहादुर गुरूङ, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ, साेही गाउँपालिकाकाे वडा नंं ३ का अध्यक्षा प्रेमबहादुर बस्नेत, वडा नंं ७ का अध्यक्ष युवा घले, कर्यपालिकाका सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू, स्थानीय शिक्षक तथा विद्यार्थीहरू. गुरूङका परिवारजन र स्थानीयकाे उपस्थिति थियाे ।

हर्क गुरूङ स्मृति केन्द्रका अध्यक्ष तेजु गुरूङले साे अवसरमा हर्क गुरूङकाे समाधिस्थल वरपर कम्तीमा १०–१२ राेपनी जग्गा जाेडेर साे स्थानमा पुस्तकालय, उद्यान, संग्राहलय, स्व. हर्ककाे सालिक निर्माण गरी त्यस क्षेत्रलाइ पर्यटकीय स्थलकाे रूपमा विकास गर्ने याेजना सुनाएका थिए ।

उनकाे याेजना सुनेपछि ५ जना स्थानीय बासीन्दाले साे कार्यका प्रशंसा गर्दै जग्गा निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएका थिए ।

लमजुङकाे तराञ्चेमा १९९५ पुस २१ गते जन्मेका उनकाे २०६३ असाेज ७ गते ताप्लेजुङकाे घुन्सामा भएकाे हेलिकाेप्टर दुर्घटनामा परी निधन भएकाे थियाे । स्व. हर्क गुरूङ भूगाेलविद थिए । बेलायतबाट विद्यावारिधी गरेका उनले नेपालकाे विकासका लागि ५ वटा विकास क्षेत्रकाे अवधारणा ल्याए अनुसार पञ्चायती ब्यवस्थाका बेला स्व. राजा वीरेन्द्रले नेपाललाइ ५ विकास क्षेत्रमा विभाजन गरेका थिए ।

२०२४ मा केवल २९ वर्षकै उमेरमा राष्ट्रिय योजना आयोगको सदस्य भएका डा. हर्क तीनबर्ष पछि उपाध्यक्ष बने । देशको समानुपातिक विकास गर्ने उद्देश्यले पाँच विकास क्षेत्रको अवधारणा ल्याएका उनले विकास क्षेत्रको अवधारणामा  ‘हिमाल, पहाड र तराईलाई नजोडेसम्म विकास सम्भव छैन । प्रत्येक विकास क्षेत्रमा हिमाल, पहाड र तराईलाई जोड्ने राजमार्ग निर्माण गरिनुपर्छ । र, ती राजमार्गहरूमा पर्ने गरी हिमाल, पहाड र तराईमा विकास केन्द्रहरूको पनि विकास गरिनुपर्छ ।’ भनि लेखेका थिए ।

डा गुरूङलाइ नेपालको पर्यटन विकासका त मानक मानिन्छ। उनकै अगुवाइमा २०२९ मा नेपाल पर्वतारोहण संघ स्थापना भएकाे थियो । त्यसको दुई वर्षपछि नै सरकारले पर्यटन मन्त्रालय गठन गरी डा. गुरुङलाइ पर्यटन मन्त्रालयको बागडोर सम्हाल्न दिएकाे थियाे । उनकै पालामा पर्यटन ऐन, ट्राभल-ट्रेकिङ नियमावली बनेका थिए । डा हर्ककै पहलपछि नेपालकाे पर्यटन उद्योगलाई पनि नेपाली अर्थव्यवस्थाको महत्त्वपूर्ण अंगका रूपमा हेरिन थालेकाे थियाे ।

डा गुरूङ पञ्चायतकालमा दुइ पटक मन्त्री बने । शुरूमा शिक्षा तथा उद्याेग बाणिज्य र अापूर्ति राज्न्यमन्त्री बनेकाे उनी ०३२ सालमा पर्यटन तथा यातायात मन्त्री बनेका थिए ।

२०४० मा डा. हर्क गुरुङ संयोजक रहेको एक अध्ययन समितिले ७० बुँदे सुझावसहितको ‘नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ’ प्रतिवेदन तयार पारी महत्वपूर्ण सुझाव दिएकाे थियाे । अन्तर्राष्ट्रिय सिमाना, नागरिकता, व्यापार, श्रम र रोजगारी, प्रादेशिक विकास र विविध गरी छ खण्डमा विभाजित सुझावमा ‘नेपाल र भारतबीचको खुला अन्तर्राष्ट्रिय सिमाना निर्वाध आवागमनका कारण दुई देशबीचको बसाइँसराइ प्रक्रिया र प्रवाह तीव्र भइरहेकोर  यसबाट नेपाल र भारतबीच अवैध व्यापार वृद्धि हुने भएकाले नेपाल-भारत सिमानामा आवागमनलाई नियमित गर्नु आवश्यक रहेकाे सुझाव दिएका थिए ।

साेही सुझावकाे नागरिकताको खण्डमा उनले अंगीकृत नागरिकको स्थान र हैसियत वंशज र जन्मसिद्ध नागरिकको भन्दा भिन्न गरिनुपर्ने र संवैधानिक पद तथा तोकिएका महत्त्वपूर्ण सामाजिक ओहोदाहरूमा अंगीकृत नागरिकलाई नियुक्त गर्न नपाउने कानुनी व्यवस्था गरिनुपर्ने सुझाएका थिए ।