वर्तमान सरकारले सुशासन दिन नसकेकाे कांग्रेस नेताका अाराेप

बेसीशहर, असाेज ७ गते ।

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता रामबहादुर गुरुङले वर्तमान सरकारले जनतालाई करको भार बोकाएर आफूहरु मोज मस्तिमा लागेको आरोप लगाएका छन् । कम्युनिष्ट सरकार आएसँगै देशमा निर्मला काण्ड, सुनकाण्ड, वाइडबडी लगायतका काण्डै काण्ड मच्चिएकाले अहिलेको सरकारले जनतालाई सुशासन दिन नसकेको आरोप लगाए ।
नेपाली कांग्रेस लमजुङले दोस्रो चरणको जागरण अभियान अन्तर्गत मंगलबार बेसीशहरमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता गुरुङले वर्तमान सरकारले सर्वसत्तावाद लाद्न खोजेको र न्यायालय, स्वतन्त्र पे्रस र मानवअधिकार आयोगमा हस्तक्षेप गरेकाले कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।
नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले कम्युनिष्ट सरकार अपराधी पाल्ने सरकार बनेको आरोप लगाए । आफ्नो पार्टीको कार्यकर्ता जोगाउने नाममा सरकारले अपराधी लुकाउन काम गरेको भन्दै सरकारकै कारण देशमा न्याय मर्दै गएको आरोप लगाए ।
सभापति पौडेलले हिजो जनताका लागी लडेर जनताकै लागी अधिकार स्थापित गर्न होम्मिदा भौतिक क्षति व्यहोरेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अपमानजनक ब्यवहार नेपाली कांग्रेसलाई शैह्य नहुने पौडेलको चेतावनी दिए ।
बेसीशहरको मनाङे चौताराबाट शुरु भएको कांग्रेसको विरोध सभा बेसीशहर बजार परिक्रमा गर्दै शेराचोकमा आइ सभामा परिणत भएको थियो । विरोधसभामा भाग लिन जिल्लाका विभिन्न भागबाट कांग्रेसका कार्यकर्ताहरु बेसीशहर आएका थिए ।
नेपाली कांग्रेसले विरोधसभासंगै दोस्रो चरणको जागरण अभियान सम्पन्न भएको जनाएको छ । गत भदौ २४ गते जननायक विपी कोइरालाको जन्मजयन्तीको अवसर पारी दोस्रो चरणको जागरण अभियान शुरु गरिएको थियो ।