अलैंचीको ज्ञान लिन गोरखाका किसान लमजुङको छिनखोलामा

शान्ता कमली
लमजुङ असाेज ९ गते
गोरखाका अलैंची किसान अलैंची खेतीबारे थप ज्ञान लिन लमजुङ आएका छन् । अलैंची गाउँले चिनिएको छिनखोलाको अलैंचीबारी हेर्न र सोही बारे ज्ञान सिक्न गोरखाका अलैंची किसान लमजुङ आएका हुन् ।

अलैंची खेतीबाट राम्रो आम्दानी गर्न सकिने थाहा पाएका र आफ्नो गाउँवस्ती सो खेतीको लागि उपयुक्त रहेको भेउ पाएका गोरखाका ३५ जना कृषकहरु अलैंची खेतीबारे बुझ्न यहाँ आएका हुन् । गोरखाको भिमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाका कृषकहरु अलैंची खेतीका बारेमा बुझ्न र सिक्न बुधबार मस्र्याङ्दी गाउँपालिका ७ छिनखोला पुगेका हुन् । कृषकहरुको ४ समुहले अलैंची बारीको स्थलगत अवलोकन गरेर त्यसको विषयमा जानकारी लिएका नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए ।

थोरै–थोरै अलैंची रोपेका, अलैंची रोप्ने चाहना भएका र अलैंचीको बारेमा जान्ने रुचि भएका कृषकहरुले त्यस बारेमा विविध जानकारी लिएको उनी बताउँछन् । कृषकहरुलाई तामाङ स्वयंले अलैंची बारीको भ्रमण गराएर त्यसको सैद्धान्तिक र व्यवहारिक पक्षबारे स्पष्ट पारे । अलैंची खेतीको अवस्था, पृष्ठभूमि, परिचय, वानस्पातिक विवरण, खेतीको उपयोगिता र महत्व, यसका प्रचलित प्रजातिको चिनारी, प्रसारण विधि, नर्सरी व्यवस्थापन, विरुवा रोपण, स्याहार, रोग किरा नियन्त्रण, उत्पादन र त्यसपछिका कार्यहरु, बजारीकरण लगायतका विषयमा सामुहिक रुपमा जानकारी गराईएको तामाङ बताउँछन् । अलंैचीको बारेमा विभिन्न जानकारी पाएपछि आफुलाई व्यवसायिक रुपमा अलैंची उत्पादन गर्न ठूलो सहयोग मिल्ने गोरखा भिमसेन गाउँपालिकाका मिना गुरुङ बताउँछन् ।

आफुले केही वर्षदेखि अलैंची खेती सुरु गरेको त्यस बारेमा सैद्धान्तिक र प्राविधिक ज्ञानको कमीले राम्रो स्याहार सुसार गर्न नसकेको उनी बताउँछन् । उनी भन्छीन् कतिबेला अलैंचीको कस्तो स्याहार सुसार गर्ने, गोडमेल, मलखाद र छहारीको व्यवस्था, टिप्ने र सुकाउने जस्ता प्रकृयामा आफुहरु लाई ज्ञान भएन त्यसैले अलैंची खेतीबारे ज्ञान लिन लमजुङ आएका हौ । व्यवसायिक कृषि उत्पादन मार्फत् कृषकको आर्थिक अवस्था सुधार गराउँदै जाने उद्देश्यले सिआरएस नामक संस्थाको सहयोगमा कृषकहरुलाई अलैंची खेती बारे ज्ञान दिईएको सिआरएस जीविकोपार्जन कार्यक्रमका अधिकृत रामकुमार श्रेष्ठले बताए ।

गाउँघरमा अन्यबाली लगाउँदा बाँदरले नष्ट गरिदिने, खेती गर्ने जनशक्तिको अभाव हुँदै गएको र बाँझो रहने अवस्थामा पुगेकाले संभावित क्षेत्रका कृषकहरुलाई सो खेती बारे जानकारी गरार्ईएको उनी बताउँछन् । अलैंचीका विषयमा पूर्णरुपमा जानकारी पाएपछि कृषकरु खुशी भएका र सो खेती तर्फ उनीहरुको आकर्षण समेत बढेको उनको भनाई छ । लमजुङले गुणस्तरीय अलैची खेतीको विस्तार गरेको भन्दै किसानहरुलाई हौसला जगाउनको लागि गोरखाका अलैची कृषकलाई अलैंचीबारे थप ज्ञान लिन लमजुङ ल्याएको सिआरएस जीविकोपार्जन कार्यक्रमका कार्यक्रम अधिकृत श्रेष्ठले बताए । उनका अनुसार सिआरएसको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँविकास केन्द्र गोरखाले उक्त कार्यक्रम गरेको हो ।

छिनखोलाका ८० प्रतिशत किसानहरु अलैंची खेतीमा लागिपरेका छन् । छिनखोलामा मात्र ५० घरधुरीले अलैची खेती शुरुवात गरेका छन् । ओसिलो जमिन भएकोले छिनखोला अलैंचीको प्रमुख क्षेत्रको रुपमा स्थापित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अलैंची जोनका प्रमुख ईशवरी प्रसाद न्यौपाने बताउँछन् । उनका अनुसार यहाँ उत्तिसको राम्रो जंगल भएकोले अलैंची हुर्कन, बढ्न निकै सहयोग मिलेको छ । परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै आधुनिक नगदे खेतीको व्यावसायिकतामा जोड दिदै अलैंची खेती लगाउन किसानहरु उत्साहित भएको अलैची अध्यक्ष तामाङ बताउँछन् । उनका अनुसार लमजुङको अलैंची गुणस्तर उत्पादन हुन थालेपछि विभिन्न जिल्लाबाट समेत किसानहरु अवलोकनमा आउन थालेका छन् । छिनखोला अलैंचीको पकेट क्षेत्रको रुपमा स्थापित भएको छ ।