बेसीशहर बजारमा दुई सय ५३ सडक बत्ती जडान, अब बेसीशहर उज्यालो शहर

शान्ता कमली
लमजुङ १३, असोज
साँझपखमै अध्याँरो हुने लमजुङको सदरमुकाम बेसीशहर बजारमा सडक बत्ती जडान गरिएको छ । नगरपालिकाले आर्थिक बर्ष ०७५÷०७६ मा पचास लाख रुपैया बिनियोजित गरी बेसीशहरको वडा नम्बर ७ र ८ का बिजुलीको पोलमा २ सय ५३ वटा सडक बत्ति जडान गरेसंगै बेसीशहर बजार झिलीमिली भएको छ । नगरपालिकको यो अभियानलाई नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले पनि सहयोग गरेको थियो भने नगरबत्ती जडान कार्य अधिकारी कन्ट्रक्सनले गरेको हो ।

पर्यटकीय जिल्ला लमजुङको सुन्दर नगरी बेसीशहर बजारलाई उज्यालोको माध्यमबाट सुरक्षित र उज्यालो बनाउने अभियानको आईतबार शुभारम्भ भएको छ । बेसीशहर नगर प्रमुख गुमानसिंह अर्यालले बेसीशहरको भिमसेनस्थान चोकमा रहेको सडक बत्तीको ‘स्विच अन’ गरी उज्यालो अभियानको शुभारम्भ गरेका हुन् ।

उज्यालो अभियानको शुरुवात गर्दै नगरप्रमुख अर्यालले नगरपालिकाले नगरभित्र सडकबत्तिको जडानले बजारबासीलाई सजिलो हुने बताए । नगरपालिका नगरबासीको साथमा रहेको भन्दै प्रमुख अर्यालले नागरिकका माग र आवश्यकताका आधारमा नगरपालिका अघि बढिरहेको बताए । उनले सडक बत्तीले नगरको सुरक्षालाई समेत सहयोग पु¥याउने दाबी गरे । प्रमुख अर्यालले सडक, नालाी र अन्य विकासका पूर्वाधारलाई प्रथामिकतामा राखेर नगरपालिका अघि बढेको बताए । नगरवासी र पर्यटकलाई मध्यनजर गरेर नगरपालिकाले सडक बत्ती जडान गरेको हो । नगरवासी तथा पर्यटकहरु सुरक्षित महशुस गर्दै बेलुका समेत हिड्न सक्ने, रातीको समयमा अध्याँरो बजारलाई उज्यालो बनाउने र विभिन्न जोखिम न्यूनिकरण हुने अपेक्षा नगरपालिकाले गरेको छ ।

चोरी, बलात्कार, अपारधजन्य घटनामा कमी आउने र शान्ति सुरक्षामा ठुलो टेवा पुग्ने स्थानीयबासीका विश्वास रहेको छ । बेसीशहर बजारमा एक वर्ष अघि २४ वटा सौर्यवत्ती जडान गरिएको थियो । तर उक्त वत्ती अपर्याप्त र जडान भएको केही समयमै अधिकांश विग्रीएको थियो । अहिले जडान गरिएको सडकवत्ती दिगो हुने र सौर्यवत्ती भन्दा राम्रो भएको नगरपालिकाले जनाएको छ ।
सडक बत्ति शुभारम्भ कार्यक्रममा नगरउप्रमुख लक्ष्मीदेवी अधिकारी, नगर कार्यपालिका सदस्य मनमाया गुरुङ, नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङ, वडा नम्बर ८ का वडा अध्यक्ष पवित्रा थापा लगायत स्थानीयबासी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *