आयो दसैँ आयो (बालकविता)

  • – रमेशचन्द्र घिमिरे
आयो दसैँ आयो, खुसियाली छायो
दिदी साह्रै रमाइन्, भाइ उस्तै रमायो
सबैसँग रमाउँदै,
हाँस्दै, नाच्दै, गाउँदै
आयो दसैँ आयो, खुसियाली छायो
छैन भुइँ गिलो, छैन धूलो–हिलो
जाऔँ पिङ खेल्न, गर्नुहुन्न ढिलो
पिङमा घुम्दै–मच्चिँदै,
हाँस्दै, नाच्दै, गाउँदै
आयो दसैँ आयो खुसियाली छायो
रोप जौ कमला, उमार्ने हो जमरा
टपरीमा माटो ल्याऊ, चाहिँदैन गमला
जमरालाई कानमा स्यूरी,
हाँस्दै, नाच्दै, गाउँदै
आयो दसैँ आयो, खुसियाली छायो ।
– भोर्लेटार, लमजुङ ।