वर्तमान शिक्षालयहरू बेरोजगार उत्पादन गर्ने केन्द्र भएः मुख्यमन्त्री गुरूङ

शान्ता कमली

बेसीशहर, कार्तिक २ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले वर्तमान शिक्षालयहरू बेरोजगार उत्पादन गर्ने केन्द्र बनेको बताएका छन् । सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको शैक्षिक धार्मिक तथा साँस्कृतिक महाहोत्सव एवम् संगीतयम लीलामय श्रीमद्भागवत विराट नवाह ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

‘विज्ञान र प्रविधिले फड्को मारेको वर्तमान समयमा नेपालको शैक्षिक प्रणाली परिर्वतन हुन नसक्दा विद्यार्थीहरुको हातमा सर्टिफिकेट मात्रै छ, सीप छैन’, मुख्यमन्त्री गुरुङले भने । प्रदेश सरकारले स्थापना गर्न लागेको प्रादेशिक विश्वविद्यालयले सिपमुलक र रोजगारमुलक शिक्षा दिने उनको दाबी छ । उनले भने ५ वर्षभित्र बेरोजगारी समस्या समाधान सम्भव छैन डोनाल्ड ट्रम्प, चिनको सि जिनपिङले गर्न नसकेको कुरा नेपालको केपी ओली, पृथ्बीसुब्बा गुरुङले गर्न सक्छ ? सम्भव नै छैन, जनतालाई ढाँट्न हुन्न,’ गुरुङले भने समय अनुसार शिक्षा प्रणाली परिवर्तन गर्दै लैजानुपर्छ ।

कार्यक्रममा नेकपाका गण्डकी प्रदेशका प्रमुख सचेतक एवम् प्रदेशसभा सदस्य मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनन्जय दवाडी, नेपाल बौद्ध महासंघका उपाध्यक्ष खेन्पो कमल भण्डारी, महायज्ञका प्रमुख कथा वाचक बालयोगेश्वर महाराज लगायतको उपस्थिती रहेको थियो ।

क्याम्पसको निर्माणाधीन भवनलाई सम्पन्न गरी स्नातोकोत्तर तह संचालन गर्ने, शैक्षिक गुणस्तर वद्धि गर्ने र क्याम्पसलाई कम्पाउण्डिङ गर्ने उद्धेश्यले महायज्ञ संचालन गरिएको क्याम्पसका अध्यक्ष एवम् भक्ति आदर्श बहुमुखी क्याम्पस महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक धु्बहादुर कुवँरले बताए ।

महायज्ञको उद्घाटन हुनुपूर्व कलशयात्राका साथै बाजागाजा सहित झाँकी र्याली प्रस्तुत गरिएको थियो । महायज्ञ कार्तिक ९ गतेसम्म चल्नेछ ।