सामुदायिक रेडियोको चुनौति र सहकार्य विषयक अन्तरक्रिया

बेलिना थापा

बेसीशहर, कार्तिक २ गते ।

बेंसीसहरमा सामुदायिक रेडियोको चुनौति र सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारीद्धारा सञ्चालित रेडियो चौतारी ९१.४ मेगाहर्जले जिल्लाका सञ्चारमाध्यमकाबीच अन्तरक्रिया गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले सामुदायिक रेडियोले विश्वसनिय र सत्यतथ्यको आधारमा समाचार प्रकाशन तथा प्रशारण गर्नुपर्नेमा जोड दिए । सामुदायिक रेडियोकाबीच एक आपसका समन्वय र सहयोगी भावनाका साथ सञ्चालन गरिनुपर्ने उनले बताए ।

सञ्चारमाध्यमले समुदायमा आधारित भाषा, संस्कार, संस्कृतिलाई मध्यनजर गरी कार्यक्रम उत्पादन तथा प्रशारण गर्नुपर्नेमा उनले जोड दिए । सञ्चारमाध्यमले राजनीतिक रुपमा भेदभाव नगरी समान रुपले काम गर्नुपर्ने र समाजका गलत कुरालाई बाहिर ल्याउनुपर्ने उनकाे भनाइ थियाे । सांसद दवाडीले स्रातेको खोजी र पहिचान, समय व्यवस्थापनमा ध्यान दिन पनि सुझाव दिए ।

कार्यक्रममा रेडियोका स्टेशन प्रमुख कृष्ण आलेले सामुदायिक रेडियोको चुनौति र सहकार्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ, गण्डकी प्रदेश सदस्य कमला के.सी., रेडियो चौतारीका सल्लाहकार एवं लमजुङ दर्पण दैनिकका प्रकाशक कृष्ण के.सी.लगायतले मन्तब्य राख्दै स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहले पनि चासो दिनुपर्ने बताएका थिए। मुनाफाको रुपमा नभई सामाजिक उत्तरदायित्वको काम गर्ने संस्था सञ्चारमाध्यम रहेको र सञ्चारमाध्यमले व्यवस्थापन पक्षमा ध्यान दिनुपर्ने उनीहरूकाे भनाइ थियाे ।

कार्यक्रममा स्थानीय रेडियो, दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रमुखले संस्था सञ्चालन गर्दा परेका समस्या तथा चुनौतिको बारेमा जानकारी गराएका थिए । साे अवसरमा उनीहरूले सञ्चारमाध्यमलाई अवसर भएपनि धेरै चुनौति समेत त्यतिकै थपिएकाे बताएका छन् । रेडियो चौतारीका अध्यक्ष इश्वर पाण्डेका अनुसार कार्यक्रमबाट स्थानीय सञ्चारमाध्यमले सेवाको गुणस्तर वृद्धि, विज्ञापन, सूचनामा समान दररेट कायम गर्ने निष्कर्ष निकालिएको छ । यस्तै जनशक्तिको क्षमता अभिवृद्धि तथा कार्यक्रम उत्पादनमा सहकार्य गरिने भएको छ ।