बेरोजगार युवालाई जिल्लामै रोजगार दिन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक : नेता घर्ती

लमजुङ २५ कात्तिक । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले जिल्लाबाट विदेशीएका युवालाई जिल्लामा रोजगारी प्रदान गर्न लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस वेशीशहर नगरपालिका स्तरिय अगुवा कार्यकर्ताको भेलालाई आज सम्बोधन गर्दै नेता घर्तिले समग्र जिल्लाको विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको हो । “नेपालबाट ९० लाख युवाहरु बाहिरीएका छन् तिनीहरुलाई रोक्नका लागि मेरो उम्मेद्वारी हो,”– उहाँले भन्नुभयो ।

नेता घर्तीले लमजुङको विकास काँग्रेसको पालामा भएको भन्दै निर्माण अझ धेरै विकासका लागि काँग्रेसले मार्गदिशा कोरेको स्पष्ट पार्नुभयो । उहाँले विगतदेखि नै काँग्रेसले जित्दै आएको लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

काँग्रेस पूर्व केन्द्रीय सदस्य घर्तीले जनताको विकास र समृद्धिका लागि कांग्रेसको जीत आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।

काँग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठले मुलुकको हरेक परिवर्तन नेपाली कांग्रेसले नै गर्दै आएको स्मरण गर्दै कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको लागि पनि नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताउनुभयो ।

नेता घर्तीले आजै वेशीशहर आमा समूहलाई समेत सामुहिक भेट गर्नुभएको छ ।