चाडपर्वले राष्ट्रिय एकता कायम गर्छन् ः मुख्यमन्त्री गुरूङ

शान्ता कमली
लमजुङ ७ कार्तिक

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव रहेको औंल्याएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, दीपावली, नेपाल सम्बत्, छठ, तथा ल्होसारको अवसरमा बिहीबार बेसीशहरमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले देश संघीयतामा गैसकेकाले तीनै तहका सरकारबीच समन्वय हुन नसके समस्या उत्पन्न हुने बताए ।
मुख्यमन्त्री गुरुङले दशैं तिहार जस्ता चाडपर्वले राष्ट्रिय एकता कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले चाडपर्वको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
उनले भने– “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानत धमनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्नेछ ।”
अर्को प्रसङगमा मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले नागरिकको आवश्यकतालाई मध्यनजर राखेर काम गरेको बताउँदै स्थानीय सरकारले पनि नागरिकको आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशमा १४ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको जानकारी दिँदै आगामी पाँच वर्षभित्र ७ प्रतिशतमा झार्ने उद्घोष गरे ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक एवं प्रदेश सभा सदस्य मायानाथ अधिकारी, गण्डकी प्रदेशका सांसद धनन्जय दवाडी ,मधु अधिकारीे लगायत जिल्लाका विभीन्न पार्टीका प्रमुख एवं प्रतिनिधीको उपस्थिति रहेको थियो ।