सीमा मिचिएकाेमा सर्वत्र विराेध, बेसीशहर र भाेर्लेटारमा पनि प्रदर्शन

बेसीशहर कार्तिक २६ गते।

भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेको विरोधमा लमजुङका विभिन्न स्थानमा प्रदर्शन भएको छ । विभिन्न विद्यार्थी संगठन, नागरिक समाजसमेतले विरोध जनाएका हुन् ।
मध्य नेपाल नगरपालिकाको भोर्लेटार बजारमा सोमबार भारतीय हस्तक्षेप बिरुद्द युवाहरुले शान्तिपुर्ण जुलुस निकालेका छन।
स्थानीय समाज सेवी ज्ञानराज मल्ल र ग्रिन भ्याली क्लबका अध्यक्ष हेमन्त पराजुलीको अगुवाइमा जुलुस निस्किएको हो । युवाहरुको जुलुस भोर्लेटारको रानीपानी टोलहुदै भोर्लेटार बजार पाखुरिचोक हुदै दुईपिप्लेमा पुगेर कोण सभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन युवाहरुले देशको सिमा समस्याको विषय निकै समंबेदनशिल भएको भन्दै अन्तर्रािष्ट्रयकरण गरेर भए पनि मुद्दा टुंगो लगाउनु पर्नेमा जोड दिए । हजारौको भिडमा भएको यस कार्यक्रम शान्तिपुर्णरूपमा सम्पन्न भएको थियो ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेको बारेमा बेसीशहरमा विरोध प्रर्दशन गरेको छ ।
अनेरास्ववियूले आइतबार विहान लमजुङको बेसीशहरमा विरोध प्रदर्शन गरेको हो । लिपुलेक, कालापानी लगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा लमजुङमा पनि ‘गो व्याक इण्डिया’ को नारा लगाईएको थियो। अनेरास्ववियूले भारतीय नक्सामा राखिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका थिए । अनेरास्ववियूका अध्यक्ष रोनिश परियारले भारतले एकहप्ता पहिले नेपालका यी भुभागहरुलाई आफ्नो भूमिमा मिसाएपछि विरोध प्रदर्शन गरिएको बताउनुभयो ।
विरोध पछिको कोणसभामा बोल्दै अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य जुन तामाङले भारतले आफ्नो नक्सामा समावेश गरेकाले यी भूमिलाई जोगाउन विद्यार्थीहरु सडकमा आउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो–“नेपाल सरकार पनि यो समयमा यी भूभागहरु जोगाउन तयार हुनुपर्छ । वैदेशिक हस्तक्षेपका विरोधमा आवश्यक परे लड्न, रगत बगाउन तयार छौँ, यूवा विद्यार्थी नेता तामाङले भन्नुभयोे ,–‘हाम्रो भूमि मासिन दिदैनौ । ‘नेपालको सिमाहरु जेगाउनलाई यी आन्दोलन गरेका हौँ ।”
विद्यार्थी तथा युवा नेताहरूले भारतलाई यथाशीघ्र गल्ति सुधार्न चेतावनी दिएका छन् । र्यालीमा सहभागीले ‘गो व्याक इण्डिया’, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिदैन–नेपाली भूमि मिच्न पाईदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए ।
कार्यक्रममा मस्र्याङ्दी बहुमुखी क्याम्पस स्ववियु सभापति देवेन्द्र गुरुङ, अनेरास्ववियू जनविकास माविका अध्यक्ष निश्चल पाण्डे अनेरास्ववियू केन्द्रिय स्तरका विद्यार्थी नेता, जिल्ला स्तरका विद्यार्थी नेता र मस्र्याङ्दी बहुमुखी क्याम्पस र जनविकास माविमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति थियो ।
बेसीशहर नगरपालिकाको आपत्ती
यसैबीच बेसीसहर नगरपालिकाले भारतले सार्वजनिक गरेको नयाँँ नक्साप्रति आपत्ती जनाएको छ । नगरपालिकाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपालको भौगोलिक अखण्डतामा आँच पुग्ने गरी गरेको कार्य आपत्तिजनक र अस्वीकार्य रहेको जनाएको छ।
नेपालले सदिऔँदेखि छिमेकी मुलुक भारतप्रति असल व्यवहार गर्दै आएको तर भारतले हामीमाथि हेप्ने, चेप्ने र मिच्ने प्रवृत्ति अंगाल्दै आएकोमा पछिल्लो समय दुई देशबीचको ऐतिहासिक सिमाना नक्सा परिवर्तन गरी सर्वजनिक गरेको नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको नगरप्रमुख गुमानसिहं अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
नेपाली माटोको रक्षा र राष्ट्रियताका विषयमा समयमै सम्वेदनशिल बनेर कुटनीतिक ढंगले पहल थाल्न ढिलाई गर्न नहुने विज्ञप्तिमा जनाइएको छ । नगरपालिकाले एतिहासिक दस्तावेज र तथ्य प्रमाणको आधारमा कुटनीतिक माध्यमबाट तत्काल दीर्घकालिन समाधान खोज्न नेपाल सरकारसँग मागसमेत गरेको छ ।
राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले पनि विज्ञप्ती प्रकाशित गरी नेपाली भूमि भारतीय नक्सामा पारिएकोमा विरोध जनाउनु भएको छ । एक स्वाधीन र सार्वभौम राष्ट्रको भूमिलाई आफ्नो नक्सामा पार्ने भारतीय हर्कतको विरोध गर्दै थापाले विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । नेपालले आफ्नो अभिन्न अंगको रुपमा लिएको दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गत शनिबार भारतले सार्वजनिक गरेको नक्सामा समेटेको पाइएपछि देशभर भारतको यस हर्कतको विरोध भएको छ । राजधानी काठमाण्डौं, पोखरा, चितवन लगायत देशका प्रमुख शहरहरुमा भारतको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।