विद्यार्थी नभएपछि मध्यनेपालका तीन विद्यालय गाभिए

मध्यनेपाल कात्तिक २६ गते । विद्यार्थी नभएपछि मध्यनेपाल नगरपालिकाका तीनवटा विद्यालय गाभिएका छन् ।
वडा नं १ को ज्ञानेश्वरी प्रावि, वडा नंं ३ को गोरखनाथ प्रावि र वडा नं. ५ को बालकन्या प्राविलाई छिमेकका विद्यालयमा गाभिएको मध्यनेपाल नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
शाखाका प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार ज्ञानेश्वरी प्राविलाई जिताको सप्तधारा मावि, सुर्यपालको गोरखनाथ प्राविलाई मंगला मावि र समिभञ्ज्याङको बालकन्या प्राविलाई सम्झना माविमा गाभिएको हो ।
ती विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून भएका कारण अन्य विद्यालयमा गाभ्नु परेको भट्टराईले बताए ।
विद्यार्थी संख्या अत्यन्त कम वा शुन्य रहेको विद्यालयलाई पायक पर्ने अन्य विद्यालयमा गाभ्ने नीति अनुसार ती विद्यालायलाई पायक पर्ने विद्यालयमा गाभिएको र ती विद्यालयका भौतिक सम्पत्ती तथा कार्यरत शिक्षकहरुलाई छिट्टै ब्यवस्थापन गरिने मध्यनेपाल नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार विद्यार्थी संख्या शुन्य रहेको ज्ञानेश्वरी प्राविमा तीन जना, गोरखनाथमा दुई र बालकन्या प्राविमा एकजना शिक्षक कार्यरत थिए । उनीहरुलाई विद्यार्थीको चाप रहेका अन्य विद्यालयमा ब्यवस्थापन गर्ने तयारी भइरहेको बुझिएको छ ।