बेसीशहरमा विद्यमान खानेपानी समस्या पुस महिनाभित्रै हट्ने, भाचोकखोलाको पानी अाउँदै

शान्ता कमली
लमजुङ मंसिर ८ गते ।
खानेपानीको समस्या झेल्दै आएका बेसीशहरबासीले अबको एक महिनामै शुद्ध पानी उपभोग गर्न पाउने भएका छन् । जिल्लाकै ठुलो करिब १७ करोड लगानीमा निर्माणधिन भाचोकखोला खानोपानी आयोजनाको निर्माणकार्य ९० प्रतिशत सकिएसँगै बेसीशहरका उपभोक्ताका लागि पुस महिनाभित्र शुद्ध खानेपानी उपलब्ध हुने भएको हो । बेसीशहर नगरपालिका–१० भाचोक खोलाबाट उक्त खानेपानी बेसीशहर ६ किलोमिटरको दुरीमा बेसीशहर ल्याइनेछ । बेसीशहर सहलगानी खानेपानी तथा सरसफाई (भाचोक खोला मुहान) आयोजनाबाट एक महिनाभित्रमा बेँसीशहरमा खानेपानी ल्याउने र दुई महिनामा नागरिकले पिउन मिल्ने शुद्ध खानेपानी नै वितरण गरिने संघिया खानेपानी तथा ढल व्यावस्थापन आयोजना लमजुङका आयोजना प्रमुख रामचन्द्र काफ्लेले बताए । उनले भने यो जिल्लाकै नमुना र आधुनिक आयोजना हो आयोजना बनेसँगै बेसीशहरका नागरिकले शुद्ध पानी पिउन पाउनेछन् ।
उक्त आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माणधिन रहेको आयोजनाले जनाएको छ । हाल आयोजनाको इन्टेकको काम सम्पन्न भएको छ भने पानी प्रशोधन केन्द्रको करिब ९८ प्रतिशत काम सकिएको छ । यसै गरि ९ लाख लिटरको ३ वटा पोखरीको काम पनि सकिएको आयोजनाले जनाएको छ । त्यस्तै भाचोकखोलाबाट बेसीशहरमा पानी ल्याउनको लागी मस्र्याङ्दी नदीबाट पाइप क्रसिङका लागी करिब ३५ लाखमा छुटै झोलुङगे पुल समेत निर्माण गरिएको छ । मुख्य खानेपानीको लाइन जडान कार्य तथा वेसिशहरमा शाखा लाइन विस्तारको काम पनि अन्तिम चरणमा रहेको वेसिशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए । प्रति सेकेण्ड २५ लिटर पानी बेसीशहरमा आइपुग्ने भाचोक खोला खानेपानी आयोजना सम्पन्न भए पछि वेसीशहरवासीलाई २० वर्षसम्मका लागी खानेपानीको कुनै समस्या नहुने अध्यक्ष प्रधानले बताए । उनले भने ०७४ साउनबाट शुरु गरिएको आयोजना ०७६ को असार मसान्तमा सम्पन्न गर्नुपर्ने गरी ठेकेदार कम्पनी महादेव खिम्ती पराजुली जेभीले सम्झौता गरेको हो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पून ६ महिनाको म्याद थप गरी आगामी पुस १८ गते सम्मका लागी म्याद थप भएको हो । ढुवानीको लागी बाटोको अभाव, रिभर क्रसिङ डिजाइन परिवर्तन, मस्र्याङ्दी नदीको पुल निर्माणमा ढिलाई, आयोजना सम्झौतामा ढिलाई, चुनाव, चाडपर्व, लगायतका कारणले आयोजनाको काम निर्धारित समयमा नसकिएको निर्माण कम्पनीले जनाएको छ ।
आयोजनाको बिहीबार निरिक्षण गदै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बेसीशहरबासीले वर्षोदेखि खेप्दै आएको खानेपानीको समस्या अब केही महिनामै हट्ने बताए । उनले भने बेँसीशहरमा पहिलोपटक ०५० सालबाट खानेपानी वितरण गर्न शुरु गरिएको हो । ‘आयोजना बनेपछि हिउँदबर्खा पानीको समस्या हुने छैन’ उनले भने । कुल ४० हजार जनसंख्या रहेको बेसीशहरमा हाल महभीर खोला, ढुडखोला, लब्ले खोला, फुर्केभीर, ढाडखोला, पुवा खोला, सप्लीङ, ठूलोपँधेरो डिप बोरिङबाट गरि १८ लाख लिटर खानेपानी बेसीशहरबासीलाई उपलव्ध हुदै आएको छ ।