उपनिर्वाचनमा बदर मत रोक्न नमुना मतदान

शान्ता कमली
लमजुङ ८ मंसिर
बदर मत कम गर्ने उदेश्यले लमजुङको सुन्दरबजारमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मंसिर १४ गते हुने उपनिर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले आइतबार नमुना मतदान कार्यक्रमको आयोजना गरेको हो ।

सुन्दरबजार नगरपालिका २ कान्तिमन्दीरमा आयोजना गरिएको नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो । निर्वाचन अगावै भएको नमुना मतदान गर्न पाउँदा स्थानीय खुशी देखिएका छन् ।

मतदानहरुको मत बदर नहोस भन्ने उद्धेश्यले नमुना मतदान गरेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । नमुना मतदानमा सहभागी ९७ जनामध्ये ९१ मत सदर भएको थियो भने ६ वटा मत बदर भएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले जानकारी दिइन् । मतदाताहरूलाई मतदानको महत्व, मतदान गर्ने तरिका लगायतका विषयमा जानकारी दिनका लागि नमुना मतदानको आयोजना गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार यस वडामा २ हजार १ सय २४ मतदाता रहेकोमा उप–निर्वाचनमा मतदाता संख्या २ हजार २ सय ९७ पुगेको छ । उप–निर्वाचनका लागि उक्त वडामा दुई मतदान स्थल र तीन मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनमा वडाध्यक्ष पदका लागी उक्त वडामा नेकपाबाट नविन श्रेष्ठ, नेपाली कांग्रेसबाट प्रकास सेढाई, राप्रपाका तर्फबाट पवनराज बसौला, मङ्गल नेशनल अर्गनाइजेशनका तर्फबाट रामजी दर्जी र स्वतन्त्रका तर्फबाट कृष्णबहादुर केसी चुनावी मैदानमा उत्रिएका छन् ।