ग्लानी (कथा)

  • सुधीर कुमार “सुमन”

दिन भरी आलि लगाएर लखतरान परेको थिएँ।बेलुकी पधेँरामा नुहाउन जाँदा आकासले साइला बाजेकोमा बेलुका कुर्न जानुपर्छ है भनेको थियो।साइला बाजे मरेको सात दिन भैसक्दा पनि कुर्न गएको थिइन।मेसै परेको थिएन।दिनभरी थाकेको जिउ खाना खाएपछी सुत्नकै हतार हुन्थ्यो मलाई।

“डिकुरो फुटाउने दिन हुन लागिसक्यो।गैदे न त आजको रात।”बाबाले जा भनेपछी हात पनि नओभाउँदै मन नलागी नलागी हातमा लाइट समातेर उकालो लागें।साथीहरु पहिले नै पुगिसकेका थिए।पिँढी मा दुई तीन जना बुढाहरु बसेका थिए।आँगनमा पाल ओडाएर खाट राखिएको थियो।त्यही खाटमाथी केटाहरु खाल जमाएर तास खेल्दै थिए। म यसरी कुर्न आउने भनेकै तास खेल्न पाइन्छ,रमाइलो गर्न पाइन्छ,अझ आसपास भएका कांक्रा फलफूल चोर्न पाइन्छ भन्ने नै हुन्थ्यो।

साइला बाजे गाउँकै नाइके मध्ये एक थिए।२००७ सालको आन्दोलन,१८ सालका जेल यात्रा,३३/३४ साल ताकाका भुमिगत जीवन यस्ता धेरै उदाहरणिय योगदान थिए बाजेका देशका लागि।जवानीमा नै कि शहिद भैएला, कि देश परिबर्तन गरिएला भन्दै युद्धमा होमिएका मान्छे थिए बाजे। बहुदलको आन्दोलनमा त कोख मा गोलि नै लागेको थियो रे।बुढै भए पनि हाम्रो गाउँको जन आन्दोलनको नेतृत्व उनैले गरेका थिए।राती राती चौतारामा बसेर नारा लगाउने।२०/२२ जना हुँदा पनि बाटो भरी राँको गाडेर दुई सय जना मान्छेले हाम्रो गाउँ बाट राती राती जुलुस निकालेका थिए भन्ने पारिदिन्थे बाजे। खुबै बाठा पनि थिए।
दुई तीन दिन अगाडि कोखा दुख्न थाल्यो भन्दा भन्दै सुतैकै ठाउँमा कहिल्यै नउठ्ने गरि सुतेका थिए बाजे।काकाकै सहपाठी थिए मने सार्की ।म सार्की बा भनेर बोलाउँथे।बडो मीठो बोल्थे।हामीले तिमी भनेपनी उनी चाहिँ हजुर तपाईं नै लगाएर बोल्थे।
“आफ्नो नाति जस्तो मान्छेलाई पनि के हजुर तपाईं भन्नू पर्यो सार्की बा।” म बेला बेला उनले हजुर तपाईं भन्दा बिरोध गर्ने गर्थें।

“जमाना कहाँ पुगिसक्यो।दलितहरु आन्दोलन गरेर कति माथी पुगिसके।तिमी बुढा चाहिँ उहीँ पहिले कै कुरा गरेर थाक्दैनौ”। म जिस्काउँदै भन्ने गर्थें।
“के गर्नु बाबु जति सुकै परिबर्तन भयो भनेपनी।जतिसुकै आन्दोलन भएपनी हामी गरिब कहिल्यै परिवर्तन हुन सकिएन।बिष्टको घराँ छिर्न पाउनु,आफै ले खाएको थाल माझ्न नपर्नु।यस्तो पनि परिवर्तन हुन्छ त बाबू हजुर आफै भन्नुस त।के लछारपाटो लायो र खै यस्ता परिवर्तनले”। बुढा एक तमासको हुँदै भन्ने गर्थे।
आज संयोगले सार्कि बा पनि कुर्न भनेर आएका रहेछन।बुढा पिंढीमा बसेका थिए।केटाहरु आफ्नै सुरमा मकैको गेडो बांडेर पोइन्टको हिसाब गर्दै थिए। पाँच जना पहिले नै नारिएर खेलिसकेको देखेपछी मेरो एक्काईस पत्ती समात्ने रहर अधुरै रहने संभावना बढेको थियो।बरु सार्की बा सङ्गै गफ गर्नुपर्यो।यहि सोचेर मैले बुढाको आडैमा पुठो टेकाएँ।
“सार्की बा! तिमी र साइंला बाजे त दाँवली हो क्यारे है।बैँसमा त खुब रमाइलो थियो होला है”। मैले आफै कुराको सुरुवात गरेँ।

“उ जमानाको कुरा नगर्नुस बाबू आजकलको जस्तो कहाँ छाडा जमाना थियो र ।जे गर्दा पनि लुकिछिपी थियो।तै पनि आजकल को भन्दा चाहिँ जमाना उहिले कै जाती”। सार्कि बाले हातको चुरोट ठोस्दै भने।

“भन्दा नपत्याउनु होला।हामी यहाँ बाट तीन चार घन्टा हिँडेर रोधी बस्न पुरानकोट पुगिन्थ्यो।राती राती त्यो पनि साइला र म मात्रै।यो साइलाको सोल्टिनी थि नि त त्यो गाउँमा।” सार्की बा मुसुक्क हाँस्दै बोले।

“तिम्रा थिएनन र सोल्टिनी।तिमी बुढा पनि त हेन्सी थियौ होला नि जमानामा।अहिले त पठ्ठो देखिन्छौ।” मैले जिस्काउँदै सोधेँ।

“खै थिए भन्नू कि थिएनन भन्नू।एउटि असाध्यै मन परेकी थिइ।तर मनको कुरा भन्नै सकिन।साइला जस्तै टाठो कहाँ थिएँ र म।हेहेहे बिहे पछि त श्रीमती सङ्ग लाज लागेर दुई बर्ष बोल्दै बोलेको थिइन।” बुढाले हाँस्दै भने।

“अनि त्यति राती जंगलको बाटो डर लाग्थेन र।अहिले त त्यति बाक्लो छ जंगल।उ जमानामा त झनै डरलाग्दो थियो होला नि।” मैले सोधेँ।

“डर त किन नलाग्दो हो।तर उबेलाको तन्नेरी जोश।दुई जना भएसी त डांडै पल्टाम्ला जस्तो बल आउँथ्यो।उसो त अहिलेको जस्तो जमाना कहाँ थियो र।डर भनेकै बाघ भालुको त हुन्थ्यो नि।अहिले पो मान्छे देखि मान्छे डराउने जुग आयो।” बुढाले आफ्नो जमाना सम्झिदै भने।

बुढाको कुराले मान्ठा देखि मान्ठा डराउने जुग भन्ने किताबको अंश सम्झिएँ।चोर फटाहा डाँकाको डर त अहिले पो छ।बुढाहरुको पालामा त त्यस्तो कहाँ थियो होला र।

“हैन त्यति बेला मान्छे अपराधिक मानसिकताका थिएनन क्या हो ? तिम्रा पालाँ त बडो नियम कानुन कडा झैँ कुरा गर्छौ त?” मैले बुढालाई खल्ती बाट चुरोट दिदै सोधेँ।

“नियम कानुनका कुरा गर्छौ।उ जमानाँ त थिती बसेको थियो।अपराध भनेपछी मान्छे सरकार सङ्ग पनि डराउँथ्यो।भौमान सङ्ग पनि डराउँथ्यो।आजकल पो मान्छे छाडा भए।जे गरे पनि भैगो।जे बोलेपनी भैगो।हामा पालाँ त यसरी मनपरी बोल्न, छाडा भएर हिंड्न पाइन्थ्यो र?” बुढाले सल्किएको चुरोट चुस्दै भने।

“त्यस्तो बोल्नै नपाउने कानुन पनि ठिक हुन्छ र सार्की बा? वाक स्वतन्त्रता त चाहियो नि।” मैले बुढाको कुरा काट्दै भनेँ।

“क्यार्छौ त यस्तो वाक स्वतन्त्रता।जस्ले जे बोले पनि भैराख्या छ।बिना प्रमाण अरुलाई जस्तो आरोप लाइदिए पनि पाइएकै छ।सय जनाले एउटै झुट बोले भने सत्य हुने जमाना आएको छ।मान्छे छाडा हुनुबाहेक के उपलब्धी छ त यो स्वतन्त्रताको।” बुढा जोशिदै बोले।

“त्यो चोक छ नि हो त्याहाँ प्रजातन्त्र आउनु भन्दा पहिले पसल थियो।एक चोटि डल्ले दमैले दुई रुपियाँको अबिर किन्दा एक चम्चा कम हालेको आरोपमा त्यो थापा साहु एक महिना सम्म अन्चलाधिसको अफिसमा तारिक धाउन परेको थियो।सरकारले पसल नै बन्द गराइदिएको नि त्यति बेला।आजकल त जस्ले जति लुटे पनि कसैलाई मतलब छैन।यस्तो जावो नि परिबर्तन हुन्छ?” बुढाले अझ थप्दै भने।

“जे भएपनी सार्की बा जमाना त अहिले कै ठिक छ।मान्छेले पढ्न पाएका छन।ठुला जात साना जात बराबरी भएका छन।तिम्रा जमाना मा त पढ्न पनि पाइदैनथ्यो रे।लुकेर पढ्नु पर्थ्यो रे।पधेंरा पनि फरक फरक हुन्थ्यो रे”। मैले हाम्रै जमाना ठिक भनेर बुढाको कुरालाई बिरोध गरेँ।

“के का पढ्न नपाउनु।मन भएकाले पढेकै थिए।मै पनि त उ जमानामा आठ क्लास पढेर छोडेको हो नि।पढ्न नपाइने भएको भए त कसरी पढिन्थ्यो होला र।स्कुल खुलेकै थिए।हजुरले पनि त राणा कालमा नै खुलेको स्कुलबाट एस एल सि दिनु भएको हैन? बरु आजकल पो त्यो पञ्चायत कालमा खुलेका कैयन स्कुलहरु कोल्याप्स भए अरे भन्ने समाचार आउँछ।पढ्न पाइएन भन्दै आफ्नो राजनितिक मुद्दा बनाएर जनतालाई उक्साउने काम पो गरेका हुन डाम्नाहरुले।नत्र त पन्चायतमा धेरै सरकारी स्कुल खुलेका थिए।अहिले बरु सरकारी मासिने,निजि उकासिने क्रम बढ्दो छ”। बुढाले आफ्नै कुरा माथी बनाउन खोजे।

“ए अँ त तिम्रा पालाँ त बाहुनहरु गुन्द्रीमा बस्ने दलितहरु भुँइमा बस्नु पर्ने हुन्थ्यो अरे नि त।दमन त उ जमानाँ बेस्सरि गरेका रचन नि त।” मैले प्रश्न तेर्साएँ।

“गुन्द्रीमा बस्नलाई ,चकटीमा पलेटी कसेर पढ्नलाई त आफैले चकटी बोकेर जानू पर्यो नि।अर्काले ल्याएको गुन्द्रीमा बस्न पाइन भनेर आन्दोलन गरेर भो त।बाहुन क्षेत्रीहरु गुन्द्री बोकेर ल्याउँथे।आफूलाई जो जो मिलनसार देखे उनिहरुलाई बस्न दिन्थे।पछि यहि कुरालाई जातिय मुद्दा बनाएर जनताको दिमाग भुट्नु भुटे यी नेताहरुले।सम्झिदा पनि रिस उठ्छ।” बुढाले नेताहरुलाई धारे हात लगाउँदै भने।

“अझ हामी दलित जाती प्राय बिष्टहरुकोमा नै काममा ब्यस्त हुने भएकोले र झारा टन्टा केहीमा जान नभ्याउने हुनाले हाम्रो लागि अलग्गै धारो बनाइदिन्थे।भलै धारो अलिक नराम्रो भएपनी पानी त उहि थियो नि।यसलाई पनि जातियताको दमनको लेप लगाएर आफैले पानी खाने धारो भत्काउन लगाए कथित क्रान्तिकारीहरुले।” बुढा झन झन उग्र हुँदै नेताहरुलाई गाली गर्न थाले।

“बिकास त भएकै हो नि।तिम्रा पालाँ नुन लिन ठोरी सम्म हिड्न पर्थ्यो अरे।आजकल त घर घरमा सडक पुगेको छ।घरैमा बसेर जताको भन्यो त्यतैको उत्पादन प्रयोग गर्न पाइएको छ।यतिका परिवर्तनलाई त नजर अन्दाज गर्न मिलेन नि कि कसो”। मैले आफ्नै जमाना ठिक देखाउनको लागि तर्क गरेँ।

“क्यार्नु त यस्ता बिकासले।हाम्रो पालाँ गाउँ गाउँको उत्पादन बोकेर शहर झरिन्थ्यो।अनि आफ्नो सामान बेचेर उताको सामान किनेर ल्याइन्थ्यो।अहिले रोड आएसी त मान्छेहरु उत्पादनमा लाग्नै छोडे।रित्तै बजार झर्यो।सामान किन्यो घर फर्कियो।गाउँ पाखा बाँझो रहनुमा यो सडकको पनि मुख्य भुमिका छ।गाडीले बोकेर घर ल्याइदिने भएसि क्यार्न गर्नुपरो खेती ।यस्तो पनि बिकास हुन्छ।बिकास हुन त उत्पादन बढ्नु पर्छ।आफूले किनेर ल्याएको भन्दा आफूले बेच्ने जिनिस बढी भए पो हो त खांट्टि बिकास हुने”। बुढाले बडो गहन कुरा गरे।

यी बुढा सङ्ग बहसमा जित्नु भनेको फलामकै चिउरा थियो गाउँमा।त्यसै देश खाएर शेष भएका कहाँ हुन र।त्यही माथी उ जमानामा नै भएपनि कनिकुथी पढेका।राजनिती आन्दोलन सबै भोगेका मान्छे।बित्थामा बुढा सङ्ग बहस गर्न थालिएछ।बरु केटाहरु सङ्ग खेल हेरेर बस्या भएपनि मनोरंजन हुन्थ्यो नि जस्तो पनि लाग्यो एक मन त।जुरुक्क उठेर गैहाल्न पनि सकिन।कुरा मिठै भएपनी आफू तर्कमा पछि परेपछी कता कता अफ्ट्यारो लाग्यो।केटाहरुले ओएइ आइजा खेल्न कोटा खाली भयो भनेर बोलाइहाल्छन कि भनेर यसो खाल तिर हेरें।खेलाडीहरु आफ्नै सुरमा खेलिरहेका थिए।टडेँला र म्यारिज यति माल र उति मालको चर्चा चर्किरहेको थियो।

“ल बाबू एक पनि बजिसकेछ।अब त सुत्न जानुपर्छ होला।हजुर जस्ता तन्नेरीको हुल भएसी म बुढा क्यार्न बस्नु परो त”।बुढाले खल्तिबाट चुरोट निकाल्दै भने।

मैले आफ्नो खल्तीबाट लाइटर निकालेर चुरोट सल्काइदिदै भने “टस ल्याका छौ त बा।कि म पुर्याइदिम तल चोक सम्म”।

“हैन पर्दैन पर्दैन।नातिले बिदेशाटी पठाइदेको मोबिल छ नि।एक जना लाई त झलल उज्यालो हुन्छ।”बुढाले खल्तिबाट मोबाइल झिकेर लाइट बाले अनि लौरी टेक्दै बाटो लागे।

बुढा गएपछी म झन एक्लो भएँ।न यती बेला कसैको बारीमा हात लामो गर्न जानू,न त खालमा ठाउँ खाली नै भेट्नु।जितेकाहरुलाई जितेर उठ्न नपाइने नियम राखेका थिए।हारेकाहरु झन जित्ने आशामा ठाउँ छोड्ने स्थिती नै थिएन।एकछिन तिनिहरुले नै खेलेको हेरिरहेँ।आफ्नो लागि ठाउँ खाली नहुने नै देखे पछि म पनि केटाहरु सङ्ग कुरो मिलाएर घर तिरकै बाटो तताएँ।

अनिदोले आँखा पोल्न थालेको थियो।डङ्रङ्ग ओछ्यानमा पल्टिएँ।अंगालो भरीको श्रीमती अंगालेर निदाउने कोसिस गर्दा पनि फिटिक्कै निन्द्रा परेन।सार्कि बाका कुरा मन भरी खेल्न थाल्यो।जमानाका खुङ्खार क्रान्तिकारी,प्रजातन्त्र प्राप्ती,गणतन्त्र को लागि लडेका बुढाको मुखबाट त्यही प्रजातन्त्र र गणतन्त्रको बारेमा असन्तुष्ठि देख्दा अनौठो लाग्यो।बुढा र साईँला बाजे ४६/४७ सालको आन्दोलन को जिल्ला कै अग्रणी थिए अरे। पन्चायत फालेर बहुदल ल्याउन उनिहरुको देनको बारेमा जिल्लामा यदा कदा आजकल पनि बुढा पाकाहरु कुरा गरिरहन्थे।नचिन्ने कोहि थिएनन भन्दा पनि हुन्थ्यो।५८/५९ साल ताका कता हो युद्धमा छोरो शहिद भएपछी बुढा एकोहोरिएका थिए।राजनितीका कुरा सुन्नासाथ सन्किन्थे।

सार्की बाका छोरा पढाइमा असाध्य सिपालु थिए।उनी पढुन्जेल स्कुलमा उनलाई जित्ने कोहि भएनन।एसएलसी दिएपछी ठुला शहरमा गएर पढ्न सक्ने आर्थिक अवस्था नभएकोले हाम्रै स्कुल मा मास्टरी जागिर गर्दा गर्दै सदरमुकामको कलेजबाट ब्याचलर सकेका थिए।अत्यन्त मिलनसार थिए श्याम सर।गाउँलेको हरेक सुख दुखमा अगाडी हुन्थे।कसैलाई अन्याय परेको देखि सहन्न थे।”बाउ भन्दा खुङ्खार नेता बन्ने भो यो पनि” ।यदाकदा गाउँ घर तिर चर्चा चलिरहन्थ्यो श्याम सरको। एक दिन राती सार्की बा सङ्गै मशालमा हुँदाको साथी बास बस्न आएको थियो रे।खै कुन्नी रातारात बाउको साथीले के भनेर दिमाग भुट्यो।भोलिपल्ट बिहानै सार्की बालाई खुट्टामा ढोगेर “लौ बा कि सामन्तीको सत्ता ढालेर फर्किन्छु।आइन भने पनि माया मारे।यहि नातिको अनुहार हेरेर चित्त बुझाए “भनेर हिँडेका थिए रे।काखे बालखा र तरुनी श्रीमती छोडेर नजा भनेर कति सम्झाउँदा पनि “बाबा अब यो छोरो तिम्रो मात्र छोरो रहेन यो देशको छोरो हो।देशको मुहार फेरेर नै फर्कन्छु।तिम्ले पनि गर्वले छाती फुलाउनेछौ एकदिन।” यसै भनेर झोला बोकेर बाटो लागेका थिए अरे श्याम सर। तिनै श्याम दाइ जस्ता हजारौँको लासको सिँढी चडेर बर्गिय युद्ध गर्न हिडेका नेताहरु कहाँ बाट कहाँ पुगिसके।राजधानीमा महल ठड्याइसके।राजा कै जस्तो जीवन स्तर बनाइसके।सार्की बा त्यसै बिचलित कहाँ भएका होलान र।झलक्क सार्की बाका मुजा परेको अनुहार सम्झिएँ।औधी माया लागेर आयो।प्रजातन्त्र गणतन्त्रले प्राप्ती भन्दा पनि गुमाउने ज्यादा भएपछि कसको मन पोल्दैन र।सार्की बा भित्रको बिचलन राँको बनेर बसेको थियो। बर्तमान शासन ब्याबस्था देख्दा। मैले भित्र भित्रै महसुस गरेँ। सोच्दा सोच्दै कति बेला भुसुक्क भएँ पत्तै पाइन।

त्यस दिन देखि फुर्सद नभएर भनौँ कि के भयो कुन्नी साईला बाजेको घर तिर पाइला लम्काउन नै भ्याएको थिइन।न त सार्की बा नै भेट भएका थिए।साथी सङ्गती भन्दा पनि मैले सार्की बा अनि उनका कुराहरु मिस गरिरहेको थिएँ।आफू बहसमा पाहा पछारिएको झैँ पछारिए पनि उनका कुराहरु ओझिला लागेका थिए त्यो दिन।बुढाका तर्कहरु मनमा नै गढेर बसेका थिए।त्यसै “कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको ” भन्या होलान त । डिकुरो फुटाउँदा को दिन पनि बिहान थलाको काममा सार्की बा आइहाल्छन कि भन्ने आशामा पुगेको थिएँ।बुढा त्यो दिन आएनन।घर आउँदा बाटोमा पनि बुढाको झल्को आइरह्यो।फुक्लिएका दाँत।स्वात्त भित्र पसेका गाला।मसिना दारपात।लौरी टेकेर हिड्ने सार्की बालाई सम्झिरहेँ।दायाँ हातमा चुरोट च्यापेर बायाँ हात लौरिमा अढ्याएर।”हजुरका पालाँ भन्दा त हाम्रा पालाँ थिती बसेको थियो थिती ।नियम कानुन बलिया थिए”। भनेको कुराले कोक्काइरह्यो।

एघारौँ दिन को दिन।थलो फेर्ने दिन।काम अलि बढी नै हुन्थ्यो।बिहानै बाबाले एक अङ्गालो डुम्रीको डालो काटेर राखिदिनु भएको थियो। आमाले चिया खाजा दिएपछी बिहानि खाजाको काम निप्ट्याएर म खोला तिर लागेको थिएँ।

“ह्या यो हुँदा न खाँदा को चलन।कस्ले सिकायो होला यो नाना भाँती गर्न।यत्रो भारी बोक्न लगाएर”। मैले डुम्रीका डालाहरु फ्यात्त ढुङ्गा माथी मिल्काएर भनेँ।

सार्की बा त्यही ढुङ्गाको आडमा मलाई हेर्दै मुसुक्क हाँसिरहेका थिए।
“यो उमेराँ पनि यति जाबो एक पाँजी मुठा बोक्दा पनि क्यार्न सन्किनुभाको हो बाबू “। बुढाले मुख फोरे।

“समाज कताबाट कता पुगिसक्यो।हामी भने अझै उहि डुम्रीको पातको मुठा बनाउने,डांठ को दतिउन बनाउने रे।अझ एक दुइटा हो र तीन सय पैसठ्ठी ओटा।हुने काम पो गर्नु मर्ने मरेर गैसकेपछी।अब त यो काजकिरिया पनि छोट्याउन थालिसके मान्छेले।हामी भने उहि पुरानो ढर्रा।”मैले बुढा तिर हेर्दै भनेँ।

“त्यसै यस्तो चलन बसाल्या होलान त पुर्खाहरुले।केही न केही कारण त होला नि”। बुढाले मलाई सम्झाउने हिसाबले भने।

“होला होला यस्तो बैज्ञानिक जमानामा पनि उही पुरानो चलन झ्याउ लाग्ने”। मैले आफ्नो पुस्ता बैज्ञानिक युगमा प्रबेश गरेको फुर्ती लगाएँ।

“खै बाबू बिज्ञानले चाहिँ के भन्छ कुन्नी।तर यसरी शोक मनाउन थलोमा आएपछी मान्छे बेफुर्सदिलो भयो भने नानाभाँती कुरा गरेर बस्छ।मौका परे हांसो ठट्टा पनि चल्दो हो।अर्काको शोकमा त्यस्तो नहोस भनेर मान्छे भुलाउन यो काम थालेको हुनुपर्छ”। बुढाको कुरा मलाइ बडो रोचक लाग्यो।

म आफ्नो पात गाँस्नु पर्ने काम लिएर बुढाकै आडमा बसेँ।

“अहिलेका पुस्तालाई त दाहासँस्कार गरेको पनि मन नपर्दो हो।१३ दिने काज किरिया पनि मन नपर्दो हो।गल्ती हाम्रै पुस्ताको हो नि।क्रान्ती का नाउँमा भएका जति संस्कार मास्ने काम हाम्रै पुस्ताले गरेको हो।बाबूहरु त यो मामलामा निर्दोष हुनुहुन्छ”। बुढा बोल्दै गए।म भने डालाबाट पात चुड्दै पोको पार्न थालें ।

“थाहा छ बाबू हाम्रो शरीर पञ्चतत्व बाट बनेको हुन्छ रे।दाहसंस्कार गर्नु भनेको हाम्रो शरीरलाई।खरानी बनाएर माटो बनाउनु,आगो लगाउनु,धुँवा बनाएर आकासमा उडाउनु,अनि अन्तिममा गंगामा बिसर्जन गर्नु हो।हजुरले खोजेको जस्तो बैज्ञानिक आधार होला नहोला।तर केही न केही कारण त छ नि।जे बाट बनेको हो त्यसैमा बिसर्जन गर्नुमा पनि”। बुढाले यति भन्दै चुरोट सल्काए।

“अनि सार्की बा।यो काजकिरियाको काम पनि छोटो गर्दैमा के खेर जान्छ र।उसो त गर्नै पर्छ भन्ने पनि छैन होला नि।यसको पनि केही त कारण होला नि।” मैले प्रश्न तेर्साएँ।

“हैन के भन्नुहुन्छ यी बाबू ।पोहोर त्यै पल्लाघरे काजिको छोराले खुब क्रान्तिकारी बन्ने झोंकमा आमाको किरिया नै गरेन नि।त्यसको एक दुई महिना पछि साइको भएर हिंडेको त आफ्नै आँखाले देखिहाल्नु भयो।आफ्नो संस्कार भनेको आफ्नै संस्कार हो नि।जति छोड्छु भने पनि जति क्रान्तिका कुरा गरेपनी कहाँ हुन्छ र।यो काजकिरिया त झन पुरै मनोबिज्ञान सङ्ग सम्बन्धित पो छ त।यी दश एघार दिन नाता गोता आउँछन।गाउँले राती बत्ति कुर्ने बहानामा आँगनमा भेला हुन्छन।बिस्तारै बिस्तारै पीडा भुल्न सजिलो हुन्छ।जे भएपनी आफन्त छन दाजु भाइ इष्ट मित्र छन।गाउँले छन भन्ने आड भरोसा हुन्छ।पीडा कम हुँदै जान्छ।अब भन्नुस त यो १३ दिने काजकिरिया कसरी नराम्रो भयो”। बुढाले लामै भाषण छांटे।

के जवाफ दिनु के नदिनु।म कुरा सुन्दै पातको पोको गन्न तिर लागेँ।

“बुझ्नुभो बाबु हरेक दिन चढाएको पिन्डबाट पितृको शरीर को एक एक भाग बन्छ अरे।कहिले हात,कहिले टाउको,यस्तै यस्तै।आस्था हो नि।मेरा पितृको आत्माले शान्ती पायो भन्ने आत्मासन्तुष्टि हुन्छ नि।मरे पछि के हुन्छ त कस्ले देख्या छ र।तर बाँचेकाहरुको आत्मासन्तुष्टी कै लागि भएपनी यो काम चाहिँ जरुरी छ झैँ लाग्छ।साइकोलोजी हो कि के भन्छन नि हो त्याही के”।सार्कि बाले फेरि थपथाप गरे।

“के तिम्लाई बिस्वास लाग्छ बा यस्ता कुरा।तिमी त जमानाका खुङ्खार क्रान्तिकारी हौ क्यारे।साईंला बाजे र तिमी त क्रान्तीका नायक नै हौ क्यारे नि।के यति गरेर साईंला बाजेको आत्माले शान्ती पाउला त”। मैले सोधेँ।

पात पोको पारिसकेको थिएँ।अब मज्जैले गफ गर्नुपर्यो भन्ने सोचेर म पनि बुढा भएतिरै लम्किएँ। “खै शान्ती त के पाउला कुन्नी तर भाइ छोराले आत्मासन्तुष्टी चाहिँ पक्का पाउँछन्।साँच्ची भन्दा मलाई त हाम्रो पुस्ताको आत्माले कहिल्यै पनि शान्ती पाउँदैन कि झैँ लाग्छ।” बुढाले घोरिदै भने।

“होइन के भन्छौ सार्की बा त्यस्तो।किन नपाउने तिम्रा पुस्ताका आत्माहरुले शान्ती।के भन्याहोलान यी बुढाले।साथी मरेको पीडामा यी बुढा पनि साइको भएछन।” मैले जिस्काउँदै भने।

“त्यसो हैन बाबू ढिलो चाँडो मात्रै हो।कुन दिन त्यस्तो राम्रो थिति बसेको,संस्कारि,धर्ममा अडेको,नियम कानुन कडा भएको देशमा राजनिती गर्नको लागि यो नानाभाँती ब्यबस्था ल्याएर नयाँ पुस्ता माथि घात गरे भनेर पुरानो पुस्तालाई सराप्ने छन नयाँ पुस्ताले।आजकल को भाँडभैलो देख्दा त मलाई पुराना क्रान्ती प्रती ग्लानी बाहेक केही हुँदैन…” बुढा बोलिरहे।म एकोहोरो सुनिरहेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *