जनविकासकी छात्रा ममिता लमजुङमा सर्वाेत्कृष्ट

बेसीशहर मंसिर १५ गते ।
बेसीशहरको जनविकास कलेजकी एक छात्राले बिबिएस चौथो बर्षमा लमजुङ जिल्लाभर सर्वाेत्कृष्ट नतिजा प्राप्त गरेकी छन् ।
बेसीशहर नगरपालिका वडा नंं २ भकुण्डे निवासी ममिता थापाले ७०.८२ प्रतिशत अंकका साथ लमजुङ जिल्लाका सबै कलेजका विद्यार्थीलाई पछि पारेकी हुन् ।
कलेजका प्रमुख सुरेश बरालका अनुसार कक्षामा अनुशासित र लगनशील विद्यार्थीको रुपमा रहेकी ममिताको सफलताले सिंगो कलेज परिवारले गौरवको अनुभूति गरेको बताउनुभयो ।
बुबा तिलकबहादुर थापा र आमा टीकादेवी थापाकी कान्छी छोरी ममिताले भकुण्डेको मनकामना अंग्रेजी माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेकी हुन् । उनले कक्षा ११ र १२ भकुण्डेकै बालकल्याण माविमा अध्ययन गरी स्नातक तहका लागि जनविकास कलेजलाई रोजेकी हुन् ।
जिल्लामा सर्वोत्कृष्ट भएको सुन्दा खुशी लागेको बताउँदै ममिताले लमजुङ आवाजसंग भनिन्– मेहेनतले नै सफलता मिल्दो रहेछ । मलाई पढ्न घर परिवार र कलेजमा राम्रो वातावरण थियो । म नियमित कलेज जान्थें र ध्यान दिएर पढ्थें । घरमा घुँडा धसेरै त होइन, सरहरुले पढाएको बेला ध्यान दिएँ र घरमा पनि राम्ररी पढें ।
जनविकास शैक्षिक सहकारी संस्थाद्वारा सञ्चालन भएको जनविकास कलेज लमजुङको उत्कृष्ट कलेजको रुपमा उदाएको छ । स्थापनाको छोटो अवधिमै कलेजले गुणस्तरीय शिक्षा दिँदै आएको कलेजले जनाएको छ । सदरमुकाम बेसीशहरमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले जिल्लाका प्रतिष्ठित समाजसेवी, ब्यापारी तथा शैक्षिक ब्यक्तित्वहरुको सामुहिक प्रयासमा जनविकास कलेजको स्थापना भएको हो । बेसीशहरको वडा नं. ७ मा रहेको जनविकास माविको भवन भाडामा लिइ सञ्चालन भइरहेको कलेजले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *