चिसो मनाङ पनि निर्वाचनले तात्यो, लोकतान्त्रिक गठबन्धनकै जीतको चर्चा

चामे, कार्तिक २९ ।
मंसिर लाग्नै लागेकोले यतिबेला चिसो बढीरहेको छ । तराई मधेस र पहाडमा पनि चिसो पसिसकेको छ । मौसमको यो चिसोबाट झन् हिमाली भेग अछुतो रहने कुरै भएन । मौसम चिसो भए पनि आउँदो मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्बाचनका कारण हिमाल पारीको जिल्ला मनाङको राजनीतिक मौसम भने ह्वात्तै तातेको छ ।
देशभर जस्तै मनाङमा पनि लोकतान्त्रिक गठबन्धन र बामपन्थी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यस अघिको संविधान सभा निर्वाचनमा मनाङबाट नेपाली कांग्रेसले जितेको थियो । कांगेस नेता टेकबहादुर गुरुङले चुनाव जित्नु भएको थियो । अहिले पनि प्रतिनिधिसभामा टेकबहादुर उमेदवार बन्नु भएको छ ।  त्यस्तै प्रदेशतर्फ क मा चिन्ताबहादुर घले र ख मा कर्मा गुरुङ उमेदवार हुनुहुन्छ ।
त्यस्तै बाम गठबन्धनबाट प्रतिनिधि सभाका लागि पाल्देन छोपाङ गुरुङ, र प्रदेश क तर्फ धोर्जे गुरुङ र ख तर्फ दीपक मनाङेको उमेदवारी छ । सर्वत्र विरोध पछि एमालेले पहिला दीपक मनाङेको ठाउँमा खाण्डा गुरुङलाई उमेदवार उठाएको थियो । पछि उहाँलाई उमेदवारी झिक्न लगाएर मनाङेलाई बाम गठबन्धनले समर्थन गरेको हो ।
मनाङमा दुवैथरि गठबन्धनले चुनावी अभियान तीब्र बनाएका छन् । यद्यपी नेपाली कांग्रेस चुनाव प्रचारमा अगाडि देखिएको छ । यस अघिको निर्वाचनसमेत जितेकाले कांग्रेस उमेदवारहरुको पल्ला भारी देखिएको छ । अहिले टेकबहादुर गुरुङको टोलीले मनाङमा घरदैलो अभियान जारी राखेको छ । अभियानकै क्रममा कांग्रेसले नासोङ गाउँपालिका अन्तर्गत पर्ने तालगाउँ, खोत्रो, धारापानी र ओडार गाउँका मतदाताहरुसँग मत माग्दै घरदैलो गरिरहेको छ ।
मनाङका उमेदवार टेकबहादुर गुरुङ आफ्नो विजयप्रति ढुक्क भएको बताउनु हुन्छ र भन्नुहुन्छ– “मनाङी जनताको आशिर्वादले यस अघि मन्त्री भएर काम गर्न पाएँ । सांसद भएको चार बर्षसम्म जिल्लामा सकेको काम गरेको छु । जिल्लामा विकासको पूर्बाधारहरु सडक, स्वास्थ्य, शिक्षा, संचार र विद्युतको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ र यसलाई पुरा गर्ने दायित्व मेरै हो । यस पाली त्यो कार्यभार पुरा गर्ने छु । भएकोले त्यसलाई पुरा गर्ने जिम्मेवारी मनाङबासीले दिनु नै हुनेछ ।”
“काँग्रेसले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र संविधान निर्माणका लागि लामो समय वितायो । आफ्नै नेतृत्वमा संविधान निर्माण पनि ग¥यो, अब आर्थिक समृद्धिका लागि  अब फेरि कांग्रेसको नेतृत्व र सरकार चाहिन्छ  ।
घरदैलो कार्यक्रममा पार्टी कार्यकर्ताको साथै आम मतदाताको पनि साथ पाएको गुरुङले बताउनुभयो । “सबैको साथ र हौसलाले जीत निश्चित भएको जस्तो लागेको छ ।” प्रदेशसभाका उमेदवार कर्मा गुरुङले भन्नुभयो ।