ओलीलाई आगामी निर्वाचनमा बाम गठबन्धनभित्रै अन्तरघात हुने हो कि भन्ने आशंका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बाम गठबन्धनभित्रै अन्तरघात हुने हो कि भन्ने आशंका रहेको आसय ब्यक्त गर्नुभएको छ । बाम गठबन्धनद्वारा बुधवार बेसीशहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादीबीचको विगतको तित्ततापूर्ण सम्बन्धले आगामी निर्वाचनमा असर गर्ने बारे अप्रत्यक्ष रुपमा स्वीकार गर्नुभएको हो ।
एमाले र माओवादी दुवै पार्टीका अध्यक्षबीच सुर्य चिन्ह लिएर चुनावमा जाने सहमति विगतमा भए पनि प्राविधिक कारणबस त्यसो हुन नसकेको भन्दैे माओवादी सुर्य चिन्हमा मत हाल्न तयार हुँदा एमालेका कार्यकर्ताले पनि इमान्दारिताका साथ गोलाकारभित्रको हसियाँ हथौडा चिन्हमा मतदान गर्न हुने बताउनुभयो । “ विगतका तीता कुरा विर्सेर एकजुट भई बामपन्थी उमेदवारहरुलाई जिताउनु होस्”–ओलीले भन्नुभयो ।
प्रतिनिधिसभाका उमेदवार माओवादी केन्द्रका नेता देव गुरुङ, प्रदेश क का उमेदवार धनन्जय दवाडी र प्रदेश ख का उमेदवार पृथ्वीसुब्बा गुरुङको जीत सुनिश्चित भन्दै ओलीले उहाँहरुलाई अग्रीम बधाई पनि दिनुभयो । दोस्रो संविधानसभाको निर्वाचनमा पृथ्वीसुब्बाले चुनाव हारेको प्रति ओलीले ठूलो नेता चुनावी बाटोमा हिँड्डा ठेस लागेर लड्नुभयो भन्दा आमसभामा हाँसो गुञ्जिएको थियो ।
विगतमा आफूहरुको अल्पमतको सरकारले केही काम गर्न खोज्दा कांग्रेसले ढाल्ने गरेकोमा आफ्नो ठट्यौली शैलीमा ओलीले भन्नुभयो –“ यसो राम्रो काम गर्छु भन्यो, कांग्रेसले सरकार ढाल्दिन्छ ।” यस अघिको आफ्नो नेतृत्वको सरकार प्रचण्डले ढालेको बारेभने ओलीले कुनै प्रतिक्रिया दिनुभएन ।
आफ्नो भाषणका अधिकांस समय नेपाली कांग्रेसको विरोधमा खर्चिनु भएका ओलीले कांग्रेसले लोकतान्त्रिक समाजवादको उल्टो दिशामा हिँडेको आरोप लगाउनुभयो । कांग्रेसले देशमा सुशासन दिन नसकेको आरोप उहाँको थियो । बाम गठबन्धनबाट कांग्रेस आत्तिएका भन्दै ओलीले कांग्रेस प्रतिपक्षमा बसे पनि उसको अधिकरको पनि सुरक्षा गर्ने सरकार बन्ने टिप्पणी गर्नुभयो ।
आफ्नो मन्तब्यका क्रममा ओलीले नयाँ शक्ति पार्टीप्रति कटाक्ष गर्न छोड्नु भएन र भन्नु भयो -” नयाँ शक्ति पार्टीसंग अब मञ्चमा अध्यक्षता गर्ने अध्यक्ष बाँकी छन् र मञ्चमा नाच्नका लागि कलाकार छन् ।”

One thought on “ओलीलाई आगामी निर्वाचनमा बाम गठबन्धनभित्रै अन्तरघात हुने हो कि भन्ने आशंका

Comments are closed.