निर्वाचनका लागि लमजुङमा सुरक्षा सतर्कता बढाइयो

बेसीशहर मंसिर १ गते । आगामी १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै लमजुङमा सुरक्षा सतर्कता बढाइएको छ । निर्वाचनमा हुन सक्ने सुरक्षा खतरालाई कम गर्न जिल्ला प्रवेश गर्ने प्रमुख नाकाहरुमा सुरक्षा सतर्कता बढाइएको हो ।
सुरक्षा निकायले पहिलो चरणमा निर्वाचन हुँदै गरेका जिल्लाहरुमध्ये सुरक्षा खतरा रहेको जिल्ला मध्ये लमजुङलाई पनि पारेको छ । लमजुङ, गोरखा र म्याग्दीलाई बढी सम्बेदनशील मानेर सोही अनुसारको सुरक्षा सतर्कता अपनाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । विशेष गरी सुरक्षामा विप्लव नेतृत्वको माओवादीबाट सुरक्षा खतरा रहेको औंल्याइएको छ । विशेषगरी लमजुङमा माओवादी केन्द्रका उमेदवार देव गुरुङ, गोरखामा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई बढी खतरा रहेको सूचना सुरक्षा निकायले पाएको छ । यसैबीच बिहीबार गोरखामा माओवादी केन्द्रका उमेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी विष्फोट गराइए पछि सुरक्षा निकायले थप सतर्कता अपनाएको छ । गोरखा प्रवेश गर्ने नाकाहरु आरुघाट, पालुङटार लगायतका क्षेत्रमा जिल्ला प्रवेश गर्नेहरुमाथि कडा निगरानी शुरु गरेका छन् ।
त्यस्तै लमजुङ प्रवेश गर्ने नाकाहरु पाउँदी, सुन्दरबजार, कुन्छा, दुईपिप्ले, भोर्लेटार, रामबजार लगायतका नाकाहरुमा प्रहरी परिचालन गरी खानतलासी समेत शुरु गरिएको छ ।
विप्लव माओवादीका हतियारधारी कार्यकर्ताहरु लमजुङ छिरेको सूचना पाए पछि स्थानीय प्रशासनले लमजुङमा सुरक्षा सतर्कता बढाइएको हो । लमजुङमा हालसम्म त्यस्तो नराम्रो घटना नघटे पनि सम्भावित सुरक्षा खतरा रोक्न कडा निगरानीसहित सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकरी युवराज मैनालीले बताउनुभयो ।
यसैबीच लमजुङमा निर्वाचन प्रचारप्रसारको काम शान्तिुपुर्ण भएको बताइएको छ । निर्वाचनका लागि लमजुङमा अनुगमनको लागि आएकी अनुगमनकर्ता एवं निर्वाचन आयोगका सहसचिव मनमाया पंगेनी भट्टराईले जिल्लामा शान्तिपूर्ण रुपमा चुनाब प्रचारप्रसार भएको जानकारी दिनुभएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यलय लमजुङले आयोजना गरेको कार्यक्रममा पंगेनीले निर्वाचन सफल बनाउन राजनितीक दललाई आचारसंहिता पालना गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आर्चायले जिल्लामा हालसम्म कुनै राजनितीक दलले आचारसंहिताको उलङघन नगरेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले सुरक्षालाई मजबुद बनाइएको र यसको जिम्मा प्रशासनले लिने बताउनुभयो ।