प्रचण्डले देखेको, काङ्ग्रेसले नदेखेको : के हो गिरिजाको सपना ?

– देवप्रकाश त्रिपाठी

त्यस दिन सुजाता कोइराला अलिक बढी नै प्रसन्न थिइन्, गल्फुटारस्थित आफ्नो निवासमा भेट्न आउनेहरूसँग निकै रोमाञ्चित हुँदै उनी भन्ने गर्थिन्, ‘आखिर सानोबुबा (गिरिजाप्रसाद कोइराला) लाई मेरो चिन्ता त रहेछ नि ! राजनीतिमा मलाई स्थापित गर्न नपाएकोमा उहाँलाई कति चिन्ता रहेछ अहिले थाहा भयो ।’

कसरी थाहा भयो अहिले ? आगन्तुकहरूमध्ये कतिले यसरी जिज्ञाशा प्रकट गर्दा सुजाताको जवाफ हुने गर्दथ्यो, ‘एकजना भारतीय विद्वान्ले सानोबुबाको जीवनी लेख्दै छन्, त्यसनिम्ति दिनहुँ उनले सानोबुबालाई भेट्ने र उहाँको विगतसँग सम्बन्धित सूचना/जानकारी लिने गर्दछन् । त्यही संवादका क्रममा सानोबुबाले आफ्नी छोरीलाई राजनीतिमा स्थापित गर्न नपाएकोमा आफूलाई धेरै दुःख लागेको बताउनुभएको हो ।’

वि.सं. २०६१ माघ १९ गते तात्कालिक श्री ५ महाराजाधिराजबाट माओवादी समस्याको समाधान गरी मुलुकमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्ने भन्दै सम्पूर्ण शासनसत्ता आफूमा निहित गर्नुअघि एकजना भारतीय लेखक गिरिजाप्रसाद कोइरालाको जीवनी लेख्ने तयारी गर्दै थिए र अङ्ग्रेजीमा तयार गरिने उक्त पुस्तक लेख्नुअघि उनी गिरिजा स्वयमबाट गिरिजाप्रसादका बारेमा विस्तृत जानकारी लिँदै थिए । दैनिक केही घन्टा गिरिजाप्रसादसँग भेटेर विविध जानकारी प्राप्त गर्दै गरेका लेखकले अन्त्यतिर एउटा महत्वपूर्ण जिज्ञाशा प्रकट गरेछन्, ‘गिरिजाबाबु, तपाईंले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो, यसक्रममा तपाईंले अनेकौँ उतारचढावबाट गुज्रनुपऱ्यो । तपाईं अनेकौँपटक प्रधानमन्त्री पनि बन्नुभयो, जीवनमा तपाईंले देख्नुभएको त्यस्तो एउटा सपना जुन पूरा हुन सकेन र जसका कारणले तपाईंलाई दुःख लागिरहन्छ, त्यस्तो केही छ ?’

जवाफमा गिरिजाप्रसादले अलिक भावुक हुँदै लेखक महोदयलाई जवाफ फर्काएछन्, ‘अरू त त्यस्तो खास केही छैन, छोरी सुजातालाई राजनीतिमा स्थापित गर्न नपाएकोमा दुःख लागेको छ । गरौँला भन्दाभन्दै यसरी प्रतिकूल समय आइदियो, यही एउटाबाहेक आफूले गर्न चाहेर नसकेको या नगरेको त्यस्तो अर्को कुनै कुरा छैन ।’

लेखकको जिज्ञाशा कुन स्तरको जवाफ पाउन लक्षित थियो, गिरिजाप्रसादले कस्तो जवाफ दिए र जवाफले लेखकको मनोदशा के बनायो, यो बेग्लै पाटो हो । तर, ‘सानोबुबा’को जवाफले सुजातालाई चाहिँ औधी प्रसन्न तुल्याएको थियो र उनले कैयन दिनसम्म ‘सानोबुबा’को ‘सपना’ र ‘चिन्ता’ आगन्तुकहरूसमक्ष प्रकट गरेकी थिइन् । ०६३ को राजनीतिक परिवर्तनपश्चात् ०६६ मा माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि गिरिजाले आफ्नी छोरी सुजातालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीको हैसियत दिलाए । काङ्ग्रेस पार्टीको सभापति र प्रधानमन्त्रीको रूपमा छोरीलाई हेर्ने सपना पूरा नहुँदै गिरिजाप्रसादको इहलीला समाप्त भयो ।

काङ्ग्रेसवृत्तमा बीपीको सपनाको चर्चा हुन्छ, बरु कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको सिद्धान्त र सपनाका कुरा हुन्छन्, तर गिरिजाप्रसाद कोइरालाको सपनालाई लिएर काङ्ग्रेसभित्र कहिल्यै कुनै प्रकारको चर्चा–परिचर्चा हुने गर्दैैन । हुने गर्दैन किनभने, गिरिजाप्रसादसँग कुनै सपना भएको जानकारी काङ्ग्रेसका कुनै नेता–कार्यकर्ताको तहमा थिएन । गिरिजाप्रसादको जुन सपना थियो त्यो सार्वजनिक महत्वको नभएको हुँदा उनी स्वयम् सार्वजनिक गर्न सक्ने अवस्थामा पनि थिएनन् ।

आमकाङ्ग्रेसजनलाई जानकारी नभएको गिरिजाप्रसादको सपना पूरा गर्ने प्रतिबद्धता माओवादी अगुवा प्रचण्डबाट पटक–पटक जाहेर भएपछि जनस्तरमा समेत एकप्रकारको कुतूहल प्रकट भएको छ । गिरिजाप्रसादको त्यस्तो सपना के थियो जुन काङ्ग्रेसजति कसैले थाहा नपाउने, प्रचण्डले मात्र थाहा पाउने र पूरा गर्न पनि प्रचण्डले मात्र पर्ने या सक्ने, आमजिज्ञाशाको विषय बनेको छ । गिरिजाप्रसादको एउटा सपना थियो आफ्नी छोरीलाई राजनीतिमा स्थापित गर्ने, प्रचण्डले शेरबहादुर देउवाको दौराको फेर समातेर छोरीलाई राजनीतिमा स्थापित गराउने कार्य सम्पन्न गरिसकेका छन् । अन्य साधारण मानिसकी छोरी भइदिएकी भए चुलोचौका र खेतबारीमा सीमित हुनुपर्नेस्तरकी आफ्नी छोरीलाई महानगरको प्रमुख बनाएर प्रचण्डले गिरिजाप्रसादको सापटी–सपना पूरा गरिसकेका छन् । यसपछि फेरि प्रचण्ड गिरिजाको कुन सपना पूरा गर्ने प्रतिबद्धता प्रकट गर्दै छन् ?

हो, राजासँगको बदलाको भावनाले तड्पिएका बेला गिरिजाप्रसाद कोइरालाले थानकोटस्थित प्रहरी थानामा हमलाको निम्ति प्रचण्डलाई उकासेको भन्ने सुनिएको हो । ०६२/६३ को आन्दोलनका क्रममा प्रचण्डले आफ्ना लडाकुको सङ्ख्या पाँच हजार हाराहारीमा मात्र रहेको जानकारी गराउँदा गिरिजाप्रसादले लडाकुको सङ्ख्या सकिने जति बढाउन सुझाव दिएको र गिरिजाको ‘सुझाव’बमोजिम नै माओवादी लडाकुको सङ्ख्या बढाएर एकतीस हजार पुऱ्याइएको भन्नेसम्म पनि थाहा भएको हो ।

गिरिजाप्रसादको त्यस्तो सपना के थियो जुन काङ्ग्रेसजति कसैले थाहा नपाउने, प्रचण्डले मात्र थाहा पाउने र पूरा गर्न पनि प्रचण्डले मात्र पर्ने या सक्ने ? आमजिज्ञाशाको विषय बनेको छ । गिरिजाप्रसादको एउटा सपना थियो आफ्नी छोरीलाई राजनीतिमा स्थापित गर्ने, प्रचण्डले शेरबहादुर देउवाको दौराको फेर समातेर छोरीलाई राजनीतिमा स्थापित गराउने कार्य सम्पन्न गरिसकेका छन् । अन्य साधारण मानिसकी छोरी भइदिएकी भए चुलोचौका र खेतबारीमा सीमित हुनुपर्नेस्तरकी आफ्नी छोरीलाई महानगरको प्रमुख बनाएर प्रचण्डले गिरिजाप्रसादको सापटी–सपना पूरा गरिसकेका छन् । यसपछि फेरि प्रचण्ड गिरिजाको कुन सपना पूरा गर्ने प्रतिबद्धता प्रकट गर्दै छन् ?

‘आजीवन कार्यकारी राष्ट्रपति बनाइदिने स्वप्नजालमा पारेर प्रचण्डले गिरिजाप्रसादसँग लिन सक्नेजति लिएको र उपयोगिता सकिएपछि गिरिजालाई आँपको कोयाझैँ फालिदिएको भन्ने पनि हामी सबैले बुझेकै तथ्य हो । यति हुँदाहुँदै पनि गिरिजाप्रसाद नेपालमा समाजवादी अधिनायकत्व या नयाँ जनवादी क्रान्तिका पक्षमा थिए भन्न सकिँदैन–मिल्दैन । गिरिजाप्रसाद प्रचण्डझैँ आत्मकेन्द्रित थिए, नगद सङ्ग्रहमा उनको प्रचण्डको जस्तै सोख थियो र प्रचण्डजत्तिकै उनी परिवारवादी पनि थिए । सत्ताबिनाको जीवन निरर्थक ठान्ने र सत्ताप्राप्तिका लागि जुनसुकै हथकण्डा अपनाउने प्रवृत्तिमा पनि गिरिजा र प्रचण्डबीच समानता देखिन्थ्यो, तर कम्युनिस्ट पार्टीको नेतृत्वमा ‘समाजवादी सत्ता’ स्थापना गर्ने सपनाचाहिँ गिरिजाप्रसादको कहिल्यै थिएन ।

‘समाजवादी सत्ता’ स्थापना गर्न ‘कम्मर कसेका’ प्रचण्डले गिरिजाको कुनचाहिँ सपना पूरा गर्ने वाचा–कसम खाएका हुन् ? यो वाचा–कसम आफैँमा रहस्यमयी छ । आफ्नो घर तथा कार्यालयमा माक्र्स, लेनिन, स्टालिन, माओ र चे ग्वेभाराको तस्बिर झुन्ड्याउने, दिल–दिमागमा सत्ता–सयलबाहेक सार्वजनिक महत्वको अर्को कुनै सपना नसजाउने, सिङ्गै देशलाई आफ्नो बाबु–बाजेको बिर्ता ठान्ने, राजनीतिलाई कमाइको अचुक साधन बनाउने र अपराधको राजनीतीकरण तथा राजनीतिलाई अपराधीकरण गर्ने प्रचण्डले पूरा गरिदिनुपर्ने गिरिजाको कस्तो सपना हो ? काङ्ग्रेसका नेता–कार्यकर्ताले थाहा नपाएको र तिनले पूरा गरिदिनु नपर्ने, प्रचण्डले नै पूरा गर्नुपर्ने के सपना हो ?

नौलो जनवादको सपना देखाएर गरिब नेपाली ठग्ने, क्रान्तिका गफ दिएर सच्चा कम्युनिस्टहरूको ठगी गर्ने, जातीय राज्यको सपना देखाएर जातीय समुदायलाई ठग्ने, भारत देखाएर चीन र चीन देखाएर भारतलाई ठग्न खोज्ने प्रचण्डले ‘सत्ता’ देखाएर शेरबहादुर देउवालाई पटक–पटक ठगिसकेका हुन् । अब फेरि गिरिजाको सपना पूरा गर्ने प्रतिबद्धता प्रकट गरेर प्रचण्ड काङ्ग्रेसीहरूलाई नै ठग्न खोज्दै छन् कि अर्को कुनै ध्येय पूरा गर्नु छ ?

प्रचण्डहरूका मार्गदर्शक माओ त्से तुङ भन्ने गर्दथे, ‘यदि वैरीहरूले तिम्रो प्रशंसा गरे भने तिमीमा त्यस्तो कुन कमजोरी छ पत्ता लगाऊ र सुधार गर ।’ माओको यही भनाइलाई सापटी लिएर प्रचण्डको अभिव्यक्तिको विश्लेषण गर्ने हो भने जीवनको उत्तरार्धमा गिरिजाप्रसाद काङ्ग्रेस, प्रजातन्त्र, जनता, राष्ट्रियता र राष्ट्रिय एकताका पक्षमा भूमिका निर्वाह गर्दै थिएनन्, उनको भूमिकाले प्रचण्ड–आकाङ्क्षाको पूर्ति मात्रै गर्दै थियो भन्ने जनाउँछ । चितवनका काङ्ग्रेसजनको मन जित्न र तिनको मत लिनबाहेक अरू कुन खोटो उद्देश्यले प्रचण्ड गिरिजाको सपनाका कुरा गर्दै छन्, चितवनवासी प्रजातन्त्रप्रेमी जनताले फेरि एकपटक गम्भीरतापूर्वक विचार गर्नुपर्ने समय आएको छ । बाह्रबुँदे सम्झौताताक भारतीय नेता र प्रशासकहरूको प्रशंसा गरेर नथाक्ने प्रचण्ड गणतन्त्र घोषणा हुनुअघिसम्म गिरिजाप्रसादको स्तुतिगान गाएर नथाक्ने भएका थिए । समय र आवश्यकताअनुसार कहिले केपी ओली, कहिले झलनाथ त कहिले माधव नेपाल हुँदै शेरबहादुर देउवाको ‘वाक्–क्षमता’ र आरजु महारानीको साडीको समेत प्रशंसा गर्न नहिचकिचाउने प्रचण्ड जोसँग मिल्छन् त्यसैलाई सिध्याउँछन् र जसको प्रशंसा गर्छन् त्यसैको ‘घाँटी रेट्छन्’ भन्ने सबैले बुझ्नु जरुरी छ र यतिबेला चितवनवासी प्रजातन्त्रप्रेमीहरूले झनै बुझ्न आवश्यक छ ।

बाह्रबुँदे सम्झौताताक भारतीय नेता र प्रशासकहरूको प्रशंसा गरेर नथाक्ने प्रचण्ड गणतन्त्र घोषणा हुनुअघिसम्म गिरिजाप्रसादको स्तुतिगान गाएर नथाक्ने भएका थिए । समय र आवश्यकताअनुसार कहिले केपी ओली, कहिले झलनाथ त कहिले माधव नेपाल हुँदै शेरबहादुर देउवाको ‘वाक्–क्षमता’ र आरजु महारानीको साडीको समेत प्रशंसा गर्न नहिचकिचाउने प्रचण्ड जोसँग मिल्छन् त्यसैलाई सिध्याउँछन् र जसको प्रशंसा गर्छन् त्यसैको ‘घाँटी रेट्छन्’ भन्ने सबैले बुझ्नु जरुरी छ र यतिबेला चितवनवासी प्रजातन्त्रप्रेमीहरूले झनै बुझ्न आवश्यक छ ।

वास्तवमा गिरिजाका कुनै सपना थिएनन्, सपना थियो भने त्यो सार्वजनिक महत्वको कदापि थिएन र सार्वजनिक गर्न मिल्ने स्तरको पनि थिएन । गिरिजा नास्तिक थिए, भौतिकवादी थिए, भोलिप्रति उनको भरोसा र विश्वास थिएन, जे गर्ने हो आजै–अहिल्यै गर्ने र जे–जति लिन सकिन्छ आजै–अहिले नै लिइहाल्ने भन्ने उनको सोच थियो । भोलि र भविष्यको सपनाप्रति गिरिजाको कुनै भरोसा नभएको तथ्य उनको जीवनसँग सम्बन्धित अनेकौँ पक्षहरूले स्पष्ट गरेका छन् । एउटा सानो घटनाले पनि उनको कुनै दीर्घ सपना थिएन भन्ने स्पष्ट गर्दछ ।

वि.सं. ०४९ सालमा स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालासँग यो पङ्क्तिकारको विशेष छलफल भएको थियो । त्यसक्रममा गिरिजाप्रसादले बडो ठाँटका साथ प्रश्न गरेका थिए, ‘लौ भन्नुहोस् मैले के–के गर्नुप¥यो ?’ देशकै निम्ति के गर्नुपर्छ भन्ने राय मागेका होलान् भन्ने ठानेर जवाफमा भनिएको थियो, ‘गिरिजाबाबु तपाईं प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो प्रधानमन्त्री हुनुहुन्छ । बहुमतप्राप्त प्रधानमन्त्री भएकोले पनि तपाईंले दीर्घकालिक राष्ट्रिय महत्वका धेरै नीति–निर्णय लिन सक्नुहुन्छ । जनताले तपाईंबाट धेरै आशा राखेका छन्, त्यसैले तपाईंले धेरै काम गर्नुपर्ने हुन्छ, मेरो विचारमा दुईवटा कामचाहिँ तपाईंले तत्काल सुरु गर्नुप¥यो– एउटा, नेपालको गाउँमा बस्तीहरू छरिएर जथाभावी बसेका छन्, त्यसले बसोवासीहरूलाई असुविधा त भएकै छ, विकास निर्माण पनि कठिन र महँगो हुन पुगेको छ । सडक निर्माण गर्दा दशतिरबाट घुमाउनुपर्ने, खानेपानी, विद्युतीकरण र विकासका अन्य आधार खडा गर्दा पनि ज्यादा झन्झटिलो र खर्चिलो हुने भएकोले तपाईंले ‘ग्रामीण बस्ती एकीकृत परियोजना’ बनाउनुप¥यो, त्यसले गर्दा विकास खर्च घट्ने र सहरीकरणको प्रक्रिया अघि बढ्ने हुन्छ । दोस्रो, गाउँमा जाने विकास बजेटमा चुहावट धेरै देखिन्छ, आर्थिक वर्षको अन्त्यतिर मात्र बजेट पुग्ने हुँदा त्यसको सदुपयोग पनि हुन पाइरहेको छैन, त्यसैले केन्द्रबाट सोझै गाउँमा बजेट पुऱ्याउने नीतिगत व्यवस्था गर्नुपऱ्यो । यी दुई काम मात्र गर्नुभयो भने पनि तपाईं पञ्चायतपछिको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुको सार्थकता रहनेछ ।’

यसप्रकार मेरा कुरा चुपचाप सुनिरहेका गिरिजाप्रसाद कोइराला अचानक कड्किए र भने, ‘यी त लामा–लामा कुरा भए, छोड्नुस् भोलिका कुरा, अहिले तत्काल गर्नुपर्ने कुराचाहिँ भन्नुहोस् न ।’ ‘तत्काल गर्नुपर्ने त्यस्ता केही कुरा मसँग रहेनन् दाज्यू, बिदा पाऊँ’ भनेर गिरिजासँग उक्त भेटवार्ता टुङ्ग्याउनुपरेको थियो । यस्ता अनेकौँ घटना–सन्दर्भ छन् जसले गिरिजाप्रसादसँग सार्वजनिक या राष्ट्रिय महत्वको सपना नभएको पुष्टि गर्दछ । सपना नै नभएका गिरिजाप्रसादको सपना पूरा गर्ने भन्दै ठगीको जुन प्रयास गरिँदै छ, यसबाट आमदेशवासी, मतदाता र खासगरी चितवनवासी जनता सचेत हुन आवश्यक देखिएको छ ।(सभार- घटना र विचार )