कमिलाको यात्रा (बाल कथा )

( समूहवाचक नामसम्बन्धी अवधारणामा आधारित )
रमेशचन्द्र घिमिरे
रानीवनको छेवैमा भएको एउटा ठूलो चिलाउनेको रुखनेर थुप्रै कमिलाहरू थिए । त्यहाँ राता कमिला, घिउ कमिला, चिनी कमिला, बूढी कमिला, साहु कमिला, रिँगटे कमिला, टाउके कमिला,चोर कमिला, चिर्कने कमिला लगायतका थुप्रै कमिलाहरू थिए । कुनै कमिलाहरू गोलामा त कुनै सिपाहीका फौजजस्तै गुजुमुज्ज भएर बस्दथे ।

कमिलाहरूले त्यहाँबाट झुप्पाका झुप्पा अङ्गुरको बोट देखे । टाउके कमिलाले भन्यो-“साथी हो, आज अङ्गुर खान जाऔँ ।” सबै कमिलाले हेरे, सबैको मुख रसायो । कमिलाका ताँती त्यतै सोझिए ।

बाटामा एक हुल मान्छे आउँदै थिए । ती गोठालाहरू थिए । तिनले अघि-अघि लगाएर गाईका बगाल धपाउँदै थिए ।

कमिला र मान्छेको परालको टौवानजिकै भेट भयो । घाँसको भारी बिसाएकी महिला पनि त्यहीँ थिइन् ।

कमिलाहरू अगाडि बढे । अल्लि अगाडि फोहोरको डङ्गुर थियो । त्यहाँ एक झुन्ड माखाहरू भन्किरहेका थिए । त्यहाँ नराम्रो गन्ध आइरहेको थियो । “छ्या, कति नमिठो गन्ध आएको हो ” भन्दै कमिलाहरू आत्तिएर निसास्सिँदै र छिटो-छिटो पाइला चाल्दै अगाडि लम्किए ।

मन्दिरमा भक्तहरूले फूलको गुच्छा चढाएका थिए । घारबाट ओइरिएका माहुरीहरू फूल-प्रसादमा भुन्भुनाइरहेका थिए । अगरबत्तीको धुवाँको मुस्लो पनि त्यहाँ देखिन्थ्यो । “आहा, यस्तो बास्ना सुँघ्न पाए पो !” घिउ कमिलाले भन्यो ।

कमिलाहरू मीठो सास तान्दै बिस्तारै गतिमा अगाडि बढ्दै थिए । यहाँको दृश्य रमाइलो थियो । हिमाली श्रृङ्खला देखिन्थ्यो । चौतारामा बसेर एकजना व्यापारी पैसाको बिटो गन्दै थियो । “त्यो पैसाको हामीलाई के काम !” चोर कमिलाले प्याच्च भनिहाल्यो ।

एकै छिन त्यहाँको दृश्य हेरेर कमिलाहरू गाउँ पसे । घरैघरको समूह थियो । एउटा घरको बरन्डामा बसेर एउटा विद्यार्थी किताबको चाङबाट किताब झिकेर पढ्ने तरखरमा थियो । “यसरी पढ्न पाए त म पनि डाक्टर कमिला हुन्थेँ होला ।” चिनी कमिलाले ठट्टा गर्‍यो ।

त्यही गाउँको अर्को घरमा एउटी महिलाले पटुकामा साँचोको झुत्ता घुसारेर दाउराको हारबाट दाउरा तान्दै थिइन् ।

गाउँ साँच्चै सुन्दर थियो । करेसाबारीमा केराको घरी देखिन्थ्यो भने बाटातिर भेडाबाख्राका बथानहरू पनि चर्दै गरेका देखिन्थे । गाउँ कटेपछि अलिकति उकालो हिँड्नु पर्थ्यो । उकालो सिद्धिनेबित्तिकै उनीहरूले अङ्गुरको झुप्पै झुप्पा भएको बोट देखे अनि सबै मिलेर अघाइन्जेल अङ्गुर खाएर आफूहरू जुन बाटो जसरी आएका थिए, त्यही बाटो त्यसरी नै लुरुलुरु फर्किए ।
…………………………………….समाप्त

No automatic alt text available.
Image may contain: plant and outdoor