समृद्धिका लागि पनि कांग्रेसकै जीत जरुरी

मिलन शर्मा दनाई
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मुखैमा आइपुगेको छ । निर्वाचनमा दलहरु जोडतोडले लागिरहेका छन् । लावालस्कारकाबीच उमेदवारहरु चुनावी प्रचारको लागि गाउँ गाउँ घुम्दै छन् । मतदाताहरुलाई आश्वासनको भारी बोकाउँदै छन् । आफ्नो पक्षमा मतदातालाई पार्नका लागि गर्न सक्ने नसक्ने सबै किसिमका आश्वासनहरु दिँदैछन् ।
अहिले बाम गठबन्धनले आक्रामक रुपमा चुनावको प्रचार गरिरहेको छ । एमाले र एमाओवादीका संयुक्त प्रचारटोली लमजुङका गाउँ गाउँमा पुगिरहँदा उनीहरुले कांग्रेसका विरुद्ध विषबमन गरिरहेका छन् । कांग्रेसका मतदातालाई आफ्नो पक्षमा पार्न उनीहरुले कांग्रेसको उछितो काढ्न कुनै कसर बाँकी राखेका छैनन् । यति गर्दा पनि कांग्रेसी मतदातालाई आकर्षित गर्न नसकेपछि कुनै नेता अब मुख्यमन्त्री, कुनै केन्द्रीय मन्त्री बन्ने पक्का भएको हौवा पिटाउँदै छन् । कांग्रेसका मतदाताहरुसमक्ष बामपन्थी एकता भएकाले कांग्रेसले सिधै हार्ने भन्दै बामपन्थी गठबन्धनका उमेदवारलाई भोट दिन आग्रह गरिरहेका भेटिन्छन् । तर सिधै कांग्रेसका उमेदवारले हार्ने नै उनीहरुलाई पक्का विश्वास भए कांग्रेसका मतदातासंग भोट मागिरहनु पर्ने जरुरत गठबन्धनलाई किन परेछ ? यो बुझ्न सकिएको छैन ।
लमजुङबाट प्रतिनिधिसभाका लागि बामपन्थी गठबन्धनका उमेदवार देव गुरुङ निकै विकासवादी नेता हुन् भन्दै प्रचार गरेको पाइन्छ । उनले लमजुङको विकासका लागि धेरै काम गरेको भन्दै अब अझै धेरै विकास गर्नका लागि देव गुरुङलाई नै भोट मागिरहेका भेटिन्छन् गठबन्धनका नेता कार्यकर्ताहरु । सुन्दै उदेक लाग्ने र निर्लज्ज तरिकाले गरिएको यो प्रचारले मतदाताहरु दिक्क भैसकेका छन् । देव गुरुङले लमजुङको विकासका लागि माखो मारेका छन् ? मनाङ जिल्ला घर भएका उनलाई मनाङकै विकासका लागिसमेत काम नगरेको आरोप छ । ०६४ को चुनावमा मनाङबाट विकासकै नारा लगाएर जितेका देव गुरुङ आफ्नै जन्मथलोबाट किन चुनाव लडेनन् ? यदि विकासे नेता भएका भए, मनाङ जस्तो विकासमा पछि परेको जिल्लाका लागि उनले काम गरेको भए गठबन्धनबाटै उनी मनाङबाट उमेदवार बन्न सक्थे । तर उनले हिजो मनाङकै लागि समेत काम नगरेकै कारण उनी त्यहाँबाट उमेदवार बन्न हिच्किचाएको प्रष्ट हुन्छ । अनि यस्ता नेताले लमजुङको विकास गर्छन् भनेर लमजुङे मतदाताले पत्याउन हुँदैन ।
हिजो सशस्त्र द्वन्द्धका क्रममा भएका विकासलाई पनि भत्काउने काम बरु माओवादीले गरेकै हो । टेलिफोनको रिपिटर टावर ध्वस्त पारेकै हो, गाउँ गाउँका गाविस भवन, कृषि तथा पशु सेवा केन्द्रका भवनहरु भत्काइएकै हुन् । यसैलाई माओवादीको विकास भन्ने हो भने हो माओवादीले विकास गरेकै हो । माओवादीको नेता भएका कारण देव गुरुङको भागमा पनि यो विकासको जिम्मेवारी आइपुग्छ र भन्न सकिन्छ उनी विकासे नेता हुन् ।
माओवादीले द्वन्द्धका क्रममा विकासका संरचना मात्र भत्काएन, हुन लागेको विकासको ढोका बन्द गरिदिएको पक्कै हो । द्वन्द्धका प्रभावले गाउँ गाउँमा विकासका योजनाहरु सञ्चालन हुन नसकेकै हुन् । माओवादीबाहेक एमालेले पनि यो तथ्यलाई स्वीकार गरेकै हो र विकासका बाधकको रुपमा माओवादी पार्टीलाई दोष थुपारेकै हो । आज पार्टी एकता र बाम गठबन्धनको नाममा एमालेलेले यो विर्सिसकेको छ । हिजो विकास विरोधी भनेर चित्रण गरिएका माओवादी केन्द्रका नेताहरुलाई बोकेर एक नम्बरको विकासे नेता भन्दै एमाले कार्यकर्ताहरु हिँडिरहेका छन् ।
अर्कोतर्फ लमजुङ क्षेत्र नम्बर २ (ख) मा बाम गठबन्धनका पृथ्वीसुब्बा गुरुङ उमेदवार छन् । उनलाई पनि खुब विकासवादी नेता भनि चित्रण गरेको पाइन्छ । नेकपा एमाले केन्द्रीय कमिटीका सचिव समेत रहेका गुरुङ पनि मन्त्री भइसकेका ब्यक्ति हुन् । उनलाई एमालेका नेता कार्यकर्ताले जतिसुकै विकासवादीको विल्ला लगाइदिए पनि उनी विकासे नेता मान्न सकिदैन । किनकी उनले लमजुङको विकासका लागि धेरै काम गर्न सक्थे तर गरेनन् । मन्त्री हुँदा उनले गरेको काम देखिएको सितलेस्वाँराको विमानस्थल मात्र हो । पञ्चायतकालमा निर्माण शुरु भएर पनि प्राविधिक रुपले “नमिल्ने” भनि छोडिएको सो विमानस्थलमा गुरुङ पर्यटनमन्त्री भए पछि पैसा हालेका पनि हुन् ।  लमजुङको पर्यटनमा विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले बर्षौपछि त्यसलाई बजेट खन्याएका हुन र केही काम शुृरु गरिएको पनि हो । तर उनी मन्त्री नरहे पछि सितले स्वाँराको विमानस्थल अलपत्र छ । उनी मन्त्री नभए पनि एमालेको सरकार पटक पटक बनेको हो । उनी मन्त्रीबाट हटेपछि माधव नेपाल, झलनाथ खनालले पालैपालो सरकारको नेतृत्व गरे । संविधान जारी पछि पार्टी अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री बनेकै हुन् । तर सितले स्वाँराले बजेट पाएन ।
विकासका काम गर्न मन्त्री नै हुन जरुरी हुन्छ भन्ने हुदैन । नेताहरुमा दृढ ईच्छाशक्ति भए विकास हुने हो । केन्द्रीय राजनीतिमा पहुँच हुने हो भने जिल्लाको विकास गर्न मन्त्री हुनै पर्दैन । पृथ्वीसुब्बा गुरुङ मन्त्री नभए पनि एमालेको केन्द्रीय सचिव जस्तो पदमा पुगेकै हुन् । उनले चाहेको भए जिल्लालाई धेरै काम गर्न सक्थे । कांग्रेस, माओवादी तथा अन्य पार्टीमा उनको उचाइमा पुग्ने नेता लमजुङमा छैनन् र अरुले गरेनन् भन्न पनि हुँदैन । गुरुङ मन्त्री नभए पनि एमाले पटक पटक सत्तामा गएकै हो । कांग्रेस र यसका उमेदवारहरुलाई विकास विरोधी भनि आरोप लगाउँदै गर्दा एमाले नेता कार्यकर्ताहरुले लमजुङको विकासका लागि कुनचाहिँ एमाले–माओवादी नेताले के के विकासका काम गरे भनि फेहरिस्त देखाए हुने नि, तर त्यसो गर्ने सामथ्र्य उनीहरुसंग देखिएन । एमाले सत्तामा जाँदा लमजुङका विकासका लागि के के काम भए त्यो देखाउन सके मात्र पनि उनीहरुको भनाइमा सत्यता देखिन्थ्यो ।
गुरुङलाई विकासवादी नेता भनिरहँदा एमाले माओवादीका नेता कार्यकर्तासंग प्रश्न गर्न मन लाग्यो । किन गिलुङमा अहिलेसम्म विजुली पुगेन ? लमजुङका अधिकांश ठाउँमा राष्ट्रिय प्रसारणको विजुली पुगिसकेको छ । तर गिलुङमा अहिलेसम्म विजुली नुपुग्नु कसको कमजोरी हो ? के पृथ्वीसुब्बा गुरुङले पहल गरेको भए त्यहाँ विजुली बल्थेन होला ? आफू जन्मेको गाउँमा समेत अहिलेसम्म विजुली बत्ती बाल्न नसक्ने नेतालाई विकास वादी नेता भन्ने कि के भन्ने ?
मैले चिनेका गुरुङ पार्टीका इमान्दार सिपाही हुन् । कुशल संगठक पनि हुन् । लमजुङको विकासका लागि उनले भाषण धेरै गरेको मैले सुनेको छु । प्रत्यक्ष काम गरेर देखाएको देख्न नपाइएकै हो ।
बरु क्षेत्र नं. १ (क) का उमेदवार धनञ्जय दवाडीलाई विकासवादी नेताको रुपमा चित्रण गरिएको भए मान्न सकिन्छ । ब्यत्तिगत स्वभाव अलि कडा भए पनि उनले पार्टी अध्यक्षको हैसियतमा विकासका काममा हातेमालो गरेका छन् । लमजुङको विकासमा चिन्तन गर्ने, योजना बनाउने काममा उनको योगदान छ । उनीजस्तै कांग्रेसका उमेदवार गर्जबहादुर गुरुङ पनि विकासको सपना देख्ने नेता हुन् । बेलायतमा गएर विलासी जीवन विताउने हैसियत भए पनि आफ्नै गाउँ, आफ्नै जिल्लाको विकास गर्नुपर्छ भनि राजनीतिमा सक्रिय छन् उनी । पूर्वी लमजुङमा सुविधासम्पन्न अस्पताल बनाउने, दोर्दी, मस्र्याङदी र चेपे करिडोरका सडक पीच गर्ने, स्नातक तहसम्मकै भए पनि एउटा क्याम्पस खोल्ने, त्यहाँ बन्दै गरेका र पछि बन्ने जलविद्युत आयोजनाबाट जनताको जीवनस्तर उभो लगाउन सकिन्छ भन्ने सपना उनको छ ।
कांग्रेसलाई यथास्थितिवादी, विकास विरोधी पार्टीको रुपमा चित्रण गर्न बामपन्थीहरु निकै खप्पिस छन् । सबैभन्दा बढी सत्तामा बसेर पनि केही गरेन कांग्रेसले भन्ने गरिन्छ । के कांग्रेसले यो देश, जिल्लालाई केही पनि नगरेको हो त ? के छातीमा हात राखेर बामपन्थीहरु त्यसो भन्न सक्छन् ? अवस्य सक्दैनन् । किनकी विकास कांग्रेसको सरकारले धेरै गरेको छ ।
०४६ सालको आन्दोलन पछि बहुदल आउँदा हाम्रो देशको विकासको अवस्था हेरौं । हाम्रो जिल्लामा सदरमुकाम जोड्ने सडक थिएन । विजुली, टेलिफोन थिएन । हाम्रा दुर दराजका गाउँगाउँमा मोटर चल्नु विकास होइन ? गाउँ गाउँमा सञ्चार सुविधा पुग्नु विकास होइन ? स्कूल, स्वास्थ्यचौकीहरु खुल्नु विकास होइन ? जनताको जीवनस्तर माथि उठ्नु विकास होइन ? नेपालीहरुको औषत आयु बढ्नु विकास होइन ? ०४८ को आम निर्वाचन पछि कांग्रेसको सरकार बनेको हो । लगत्तै तीन बर्षपछि माओवादीले सशस्त्र विद्रोह शुरु ग¥यो । त्यसपछि के के भए सबैले जानेबुझेकै कुरा हो ।
अर्को आरोप पनि कांग्रेसलाई लाग्ने गर्छ त्यो हो युवा शक्तिको विदेश पलायन । १० बर्षे सशस्त्र द्वन्द्धका कारण देश जर्जर भयो । देश विकास ठप्प त भयो नै, भएका विकासका संरचनासमेत भत्काइए । देशमा उद्योगधन्दा, कलकारखाना खुल्न सकेनन्, भएका पनि द्वन्द्धका कारण बन्द हुन थाले । गाउँघरमा रोजगारीको अवसर बन्न पाएन । यो अवस्थामा गाउँमा पढेलेखेका र नपढेका पनि अत्याधिक युवा शक्तिहरु बेरोजगार बने । उनीहरुसंग एउटै विकल्प थियो । या त माओवादीको सेनामा भर्ती हुनु या विदेश गएर पैसा कमाउनु । कतिले माओवादीमा गएर सशस्त्र द्वन्द्धमा सघाए, कतिले त्यो उचित ठानेनन् । यो समयमा अत्याधिक युवाहरु विदेश गएको प्रमाण कसैबाट छिपेको छैन । विदेश गएर उनीहरुले पठाएको रेमिटेन्सको भरमा अहिले देशको अर्थतन्त्र चलिरहेको पनि सबैले बुझेकै कुरो हो । यस्तो अवस्थामा कांग्रेसलाई दोषारोपण गर्नु के साँँच्चै ठीक हो ? युवा शक्तिलाई देशमै उत्पादनशील क्षेत्रमा लगाउन सके देशको आर्थिक प्रगति हुने थियो । तर त्यसका लागि वातावरण बन्नु पर्छ । नयाँ संविधान बनेपछि अब देशको संक्रमण सकिँदै छ, शान्ति प्रक्रिया निष्कर्षमा पुग्दैछ अबको निर्वाचन पछि यसले टुंगो पाउने छ । र अब देशको आर्थिक विकास गर्ने बेला हो । अब कांग्रेसले केही गरेन भने उसलाई दोष दिन सकिन्छ ।
कांग्रेसका उमेदवारहरुमध्ये दीलबहादुर घर्तीलाई टुरिष्ट नेता भन्ने आरोप लगाउने गर्छन् विपक्षीहरु । हो उनी काठमाण्डौंमा बस्छन् । उनको जन्म मध्यनेपाको जीतामा भएको हो । हो उनी लमजुङमा कमै आउँछन् । यस अघिसम्म कांग्रेसको केन्द्रीय समितिमा थिए उनी । जिल्लामा पार्टीका कार्यक्रममा सरिक भइरहन्छन् । जिल्लामा हुने विकासे कार्यक्रममा बेलाएको बेला आइरहन्छन् । आफ्ना सुझाव र मतहरु राख्छन् । तर लमजुङमा कम आउँदैमा उनी टुरिष्ट हुन्छन् ? यदि हुन्छन् भने पृथ्वीसुब्बा गुरुङलाई पनि टुरिष्ट भन्नु परेन ? के उनी लमजुङमै बस्छन् ? बर्षमा कतिपटक लमजुङ आउँछन् उनी ? हुन त मनाङका देव गुरुङलाई लमजुङको उमेदवार बनाउने र लमजुङको विकासमा असाध्यै ठूलो योगदान गरेको भन्नेहरुले दीलबहादुर घर्तीलाई टुरिष्ट भन्दैमा हुन्छन् र ?
बामपन्थीहरु अरुलाई आरोप सजिलै लगाइदिन्छन्ं । तर आरोपको पुष्टि गरिरहनु पर्दैन उनीहरुलाई । अहिले त झनै चुनावको बेला छ । कांग्रेसलाई चाहिने नचाहिने आरोप लगाएर मात्र चुनाव जित्न सकिन्छ भन्ने बाम गठबन्धनको बुझाइ हो । तर जनता अब भेडा होइनन् । कांग्रेसले के ग¥यो, एमालेले के ग¥यो, माओवादीले के ग¥यो सबै जनताले बुझेका छन् ।
नेपालका हरेक राजनीतिक क्रान्तिको नेतृत्व कांग्रेसले नै गरेको छ । राजतन्त्र फाल्न नेतृत्वदायी भूमिका कांग्रेसकै हो । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको कांग्रेसले नै हो यसका लागि आफ्नो विधानबाट संवैधानिक राजतन्त्र समेत फाल्न तयार भयो कांग्रेस । पहिलो संविधानसभाको चुनावमा आफू हारेर देशलाई जिताएको कांग्रेसले नै हो । पहिलो संविधानसभामा बामपन्थीकै बहुमत थियो तै देशले संविधान पाउन सकेन । दोस्रो निर्वाचनबाट कांग्रेस पहिलो शक्ति बन्यो र कांग्रेसकै नेतृत्वमा देशले संविधान पाएको जनताले बुझेका छन् । त्यसैले कांग्रेसले भनेको छ– “कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा सम्बृद्धिको अभियान ।” अब देशले राजनीतिक क्रान्ति पुरा गरेको छ, अब आर्थिक क्रान्तिको अभियान चलाउने हो ।
यसका लागि कांग्रेसले जित्न जरुरी छ । कांग्रेसका झण्डाको अर्थ पनि यही हो । पहिलो रातो राजनीतिक क्रान्तिको सम्बाहक हो, त्यसपछिको सेतो क्रान्ति पछिको शान्तिको प्रतिक हो । त्यसमा भएका चार तारा प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, भयबाट मुक्ति र गरिबीबाट मुक्तिको अर्थ दिन्छन् । तलकोे रातोे आर्थिक क्रान्तिको प्रतीक हो । अब राजनीतिक क्रान्ति सकिएको छ । देशमा शान्ति पनि छाएको छ । अब मुलुकमा आर्थिक क्रान्ति गर्नु छ, उद्योगधन्दा, कलकारखाना खोल्नु छ, कृषिमा आधुनिकीकरण गर्ने, जलश्रोत, पर्यटनको विकास गर्नुछ र नेपाललाई गरीबबाट समृद्ध देशमा बदल्नु छ । यसका लागि कांग्रेसको रुख चिन्हमा मतदान गरौं र कांग्रेसलाई जिताऔं ।