तानाशाही ब्यवस्थाको सपना नेपाली जनताले पुरा हुन दिदैनन्ः वरिष्ठ नेता पौडेल

सुन्दरबजार (लमजुङ) ६ मंसीर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्रले बामपन्थी गठबन्धनले देखेको एकदलीय तानाशाही ब्यवस्थाको सपना नेपाली जनताले पुरा हुन नदिने बताउनु भएको छ । संसदीय व्यवस्थाको विकल्प नभएको भन्दै पौडेलले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजे बामपन्थीहरुको पतन शुरु हुने चेतावनी दिनुभयो ।
नेपाली काँग्रेस सुन्दरबजार नगरपालिका कार्य समितिले आज सुन्दरबजारको खत्रिठाँटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो–“महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, बामपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, नेपाली जनताले त्यो सपना पुरा हुन दिँदैनन् ।” संसदीय शासन प्रणाली अंगिकार गरेका बेलायत, अमेरिका जापान, भारतलगायतका मुलुकले तीब्र विकास गरेको भन्दै विश्ववाटै हराउँदै गएको साम्यवादी ब्यस्थालाई नेपाली जनताले नरोज्ने बताउनुभयो ।
देशमा विद्यमान गरीबी, बेरोजगारी र पछौटेपनको अन्त्य गरी मुलुकलाई विकसित र आत्मनिर्भर बनाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको चर्चा गर्दै नेता पौडेलले देशका हरेक आन्दोलनमा कांग्रेसले नेतृत्व गरेको र संविधानसमेत कांग्रेसले नै जारी गराएको स्मरण गराउनुभयो ।
नेता पौडेलले कांग्रेसले देश विकासका लागि धेरै काम गरेको भन्दै अब राजनीतिक क्रान्ति सकिएको र शान्ति समेत छाएकाले तीब्र विकासमा लैजाने बताउनुभयो । सुखी जनता र समृद्ध मुलुकका लागि कांग्रेस नेतृत्वको विकल्प नभएको उहाँको कथन थियो ।
चुनावी सभामा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले दश वर्षे द्वन्द्धकालमा कम्युनिटले गरेको व्यवहार सम्झेर रुख चिन्हमा मतदान गर्न जनतालाई आग्रह गर्नुभयो । नेता भट्टराईले काँग्रेसले विकास गरेन भन्नेले देशमा कति विकास गरे भनि सोध्न मतदातासंग आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस लमजुङ प्रतिनिधी सभाका उम्मेद्वार दिलबहादुर घर्तीले हिमाल पहाड र मधेस जोड्ने कांग्रेस मात्र भएकाले देशको समृद्धि कांग्रेसबाट मात्र सम्भव हुने बताउनुभयो । लोकतन्त्रको विकल्प नभएको भन्दै उहाँले अधिनायकवादमा मुलुकलाई लैजानबाट रोक्ने जनताले नै हो भन्नुभयो ।
काँग्रेस लमजुङ प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै जिल्लाको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । आफूले लमजुङको विकासका लागि धेरै काम गरेको स्मरण गर्दै उहाँले आफू सदैव जिल्लाको विकासको लागि लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले बाम गठबन्धनको नाममा निर्माण गरेको संविधान कार्यान्वयन हुन नदिन षडयन्त्र भइरहेको भन्दै सजग हुन मतदाताहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा काँग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, राप्रपाका सहमहामन्त्री हेमजंग गुरुङलगायतले लमजुङ जिल्लालाई काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।