संविधान दिन नसक्नेहरुले संविधान संशोधन गर्छु भन्नु लाजमर्दोः पौडेल

मध्यनेपाल (लमजुङ) ७ मंसीर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चार÷चारवटा बामपन्थी सरकार बनाउँदा पनि एउटा संविधान दिन नसक्नेहरुले दुई तिहाई ल्याएर संविधान संशोधन गर्छु भन्नु लाजमर्दो भएको बताउनुभएको छ ।
नेपाली काँग्रेसले बिहिबार मध्यनेपाल नगरपालिका वडा नं २ सोतीपसलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनु भएको हो । पहिलो संविधानसभाको निर्वाचन पछि माओवादीका दुई र एमालेका दुई जना नेता प्रधानमन्त्री बने पनि संविधान दिन नसकेको भन्दै दोस्रो संविधानसभाको निर्वाचन पछि बनेको नेपाली कांग्रेस नेतृत्वको सरकारले जनतालाई लोकतान्त्रिक संविधान दिएको स्पष्ट पार्नुभयो ।
संविधान नबनाएर मुलुकलाई अस्थीर बनाउने सपना देखेका बामपन्थीहरुलाई जनताले सवक सिकाउनैका लागि अघिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाएका भन्दै पौडेलले अब पनि माओवादीहरु बाम गठबन्धनका नाममा मुलुकलाई अस्थिरतातर्फ लैजान खोजिरहेकाले सचेत हुन मतदाताहरुसंग आग्रह गर्नुभयो । बामपन्थीहरुले चाहेको एकदलीय अधिनायकवाद हो भन्दै उहाँले बहुदलीय संसदीय प्रणालीले नै देशको हित गर्ने भएकाले लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।
संविधान निर्माणसँगै काँग्रेसको सिद्धान्तको विजय भएको छ, अब विपन्न र निमुखा परिवारलाई आयआर्जन गर्ने बाटो काँग्रेसले गर्छ भन्दै नेता पौडेलले भन्नुभयो–“निमुखालाई न्याय र गरिबलाई आय कांग्रेसको नारा हो ।” उहाँले लमजुङ प्राकृतिक रुपमा सुन्दर भूमी भएकाले यहाँका प्राकृतिक सम्पदाको समुचित उपयोग गरी जिल्ला र देशकै उन्नति गर्न सकिन्छ भन्नुभयो ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले अहिलेको निर्वाचनले मुलुकलाई एकदलीय अधिनायकवादमा लैजाने वा संसदीय लोकतन्त्रमा लैजाने भन्ने टुंगो लगाउने हुनाले लोकतन्त्र जोगाउन कांग्रेसलाई नै मतदान गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकका हरेक परिवर्तन कांग्रेसकै नेतृत्वमा सम्भव भएकोले अब काँग्रेसकै नेतृत्वमा देशलाई समृद्ध बनाइने उहाँले बताउनुभायो ।
नेपाली काँग्रेस लमजुङ प्रदेश (ख) का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले जिल्लाको समग्र विकास र लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई विजयी गराउनुपर्ने धारणा राख्नुभयो । “निर्वाचन अन्तरपार्टीको प्रतिस्पर्धा मात्र नभएर लोकतन्त्रवादी र साम्यवादी विचको लडाईँ हो,”– उहाँले भन्नुभयो ।
निवर्तमान सांसद रामचन्द्र पोेखरेलले बाम गठबन्धनको नाममा काँग्रेसले निर्माण गरेको संविधान कार्यान्वयन हुन नदिन केही दलहरु लागेकाले त्यसलाई रोक्न काँग्रेसलाई विजय गराउनुपर्ने बताउनुभयो । नेपाली काँग्रेस लमजुङका निवर्तमान सांसद चन्द्रबहादुर कुँवरले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *