लमजुङका भुकम्पपीडितले बर्षाअघि नै घर पाउने : प्राधिकरण प्रमुख भुषाल

लमजुङ १२ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले अब लमजुङमा पनि पुनर्निर्माणको गतिलाई तीव्रता दिइने जानकारी गराउँदै लमजुङका भुकम्पपीडितले आउँदो बर्षायाम अघि नै पक्की घरमा बस्न पाउने दावी गर्नुभएको छ ।
विनाशकारी भृइचालो गएको तीन बर्ष पुग्नै लाग्दा भुकम्प प्रभावित लमजुङ जिल्लामा बल्ल राष्ट्रिय पुनर्निमाण प्राधिकरणको कार्यालय उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत भुषालले यस्तो दावी गर्नुभएको हो । सदरमुकाम बेसीशहरस्थित जिल्ला समन्वय समिति र कोष तथा लेखा नियन्त्रक कार्यालय नजिकै प्राधिकरणको कार्यालय खुलेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नाम दिइएको सो कार्यालयले बेसीशहर ८ का जनक बस्नेतको घरमा कार्यालय स्थापना गरेको हो ।
सो अवसरमा भुषालले यही मंसिर महिनाभित्रै प्रभावित सबै गाउँपालिका÷नगरपालिकाका सबै वडामा प्राविधिकहरु पठाइने जानकारी दिनुभयो ।
विनाशकारी भुकम्पका कारण पूर्वी लमजुङको दूधपोखरी, विचौर, इलमपोखरी, गौंडा, पाचोक, भलायखर्क, चक्रतीर्थ, कोल्की प्यारजुङ, मोहोरियाकोट धमिलीकुवा लगायतका गाउँका १३ हजार ९ सय ५९ घरधुरी सरकारी लाभग्राहीको सूचिमा छन् । तर लामो समयसम्म पनि पुनर्निमाणका लागि रकम नपाउँदा उनीहरु टहरोमा बस्न बाध्य छन् ।
भुकम्पपीडितमध्ये कतिपयले पुनर्निमाणका लागि पहिलो किस्तासम्म पनि पाएका छैनन् भने कतिपयले दोस्रो किस्तासमेत पाइसकेका छन् । अहिलेसम्म तेह्र हजार ८४ घरपरिवारले घर निर्माणको लागि सम्झौता गरिसकेका छन् ।