लमजुङमा सिसि क्यामराको निगरानीमा मतपेटिका

लमजुङ, मंसिर १३ ।
गत मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपेटिका सदरमुकाम बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सिसि क्यामराको निगरानीमा राखिएको छ ।
दोस्रो चरणको निर्वाचन आगामी मंसिर २१ गते हुँदैछ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि २१ गत साँझबाट मात्र लमजुङमा पनि मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
लमजुङमा प्रतिनिधि सभाका लागि एक र दुई प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको छ । निर्वाचनका लागि लमजुङका विभिन्न स्थानमा गरी एकसय ६५ मतदान केन्द्र तोकिएका थिए । ती केन्द्रहरुबाट ल्याइएका चारसय ९५ मतपेटिकालाई कडा सुरक्षाबीच जिल्ला समन्वय समितिको सभाहलमा राखिएको हो । मतपेटिकाको सुरक्षाका लागि सशस्त्र प्रहरी र जनपद प्रहरीको पहरा राखिएको छ । यसबाहेक दलका प्रतिनिधिहरुसमेत सभाहलमा कुरुवा बसेका छन् ।
लमजुङमा एकलाख १५ हजार चारसय ४९ मतदाता रहेका थिए । जसमध्ये ७७ हजार तीनसय ४० मत मात्र खसेको र यो कूल मतदाता संख्याको ६६.९८ प्रतिशत हुने निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच मतपेटिकाको सुरक्षामा विशेष ध्यान दिइएको लमजुङका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार मतपेटिकाहरुलाई सिसी क्यामराको निगरानि समेत गराइएको छ । सोमबार बसेको मुख्य निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकायसहितको बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकका मतपेटिका छुट्टाछुट्टै स्थानमा राख्ने निर्णय गरेको थियो ।