लमजुङमा मतगणनाको तयारी पुरा, भोली सर्वदलीय वैठक हुने

बेसीशहर,मंसिर २० ।
गत मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना लमजुङमा बिहिबारबाट शुरु हुने भएको छ । मतगणनाका लागि सबै तयारी करिब पुरा भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका लागि आवश्यक धेरैजसो तयारी पुरा भएको जनाएको छ । मतगणना बिहीवार बेलुकी ५ बजेबाट गर्ने तयारी गरिएको छ । यसका लागि मतगणनास्थलको तयारी र गणकहरुको छनोट प्रायः सकिएको छ ।
मतगणनास्थलमा सिसिटीभि जडान गरिएको छ । जिल्ला समन्वय समितिको सभाहललाई गणनास्थलको रुपमा छनोट गरिएको छ । शुरुमा प्रतिनिधिसभा सदस्यको मत गणना गरिने र एकै पटक तीन स्थानमा मतगणना गर्ने तयारी भएको छ । सभाहलका कुर्सीहरुलाई बाहिर राखेर भित्रपट्टि तार जाली लगाइएको छ । मतगणनास्थलभित्र कोही पनि जान नसकुन र स्थानीय निर्वाचनका क्रममा भरतपुर महानगरपालिकाको मतगणनामा भएको जस्तो मतपत्र च्यात्ने लगायतका अवाञ्छित क्रियाकलाप नहुन भन्नेतर्फ सचेतता अपनाइएको छ ।
गणनाका लागि जिल्लाका विभिन्न कार्यालयमा कार्यरत करिब ५० जना कर्मचारी छनोट गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्य मुख्य गणक रहनु हुनेछ भने विभिन्न कार्यालयका उपसचिव, शाखा अधिकृत र नायव सुब्बा लगायतलाई गणकको जिम्मेवारी दिइने छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतगणना अघि बुधवार बिहान ११ बजेका लागि दल र उमेदवारहरुसंग वैठक राखिएको छ । मतगणनाका लागि आवश्यक आचारसंहिता लगायत विभिन्न सम्बन्धित विषयमा छलफल गरी निर्णय गर्नका लागि वैठक बोलाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
लमजुङमा एकसय ६५ मतदान केन्द्रबाट संकलित चारसय ९५ वटा मतपेटिकालाई कडा सुरक्षाबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपेटिकाको सुरक्षाका लागि सशस्त्र र जनपद प्रहरी भित्री घेरामा र नेपाली सेनालाई बाहिरी घेरामा राखिएको छ । मतपेटिका सिसि क्यामराको निगरानीमा राखिएको छ ।
एकलाख १५ हजार चारसय ४९ मतदाता रहेको लमजुङमा गत १० गतेको निर्वाचनमा ७७ हजार तीनसय ४० मत खसेको थियो । जुन कुल मतदाताको ६७ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *