देशका विभिन्न ४५ जिल्लामा दोस्रो चरणको निर्वाचनका लागि मतदान हुँदै

बेसीशहर मंसिर २१ । प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि दोस्रो चरणको निर्वाचन अन्तर्गत आज देशका विभिन्न ४५ जिल्लामा मतदान भइरहेको छ । मतदानका लागि विहान ७ बजेबाट मतदान केन्द्रहरुमा मतदाताको भीड लागेको छ । निर्वाचन आयोगले गत मंसिर १० गते लमजुङसहित ३२ जिल्लामा पहिलो चरणमा निर्वाचन सम्पन्न गरेको छ ।
दोस्रो चरण अन्तर्गत आज प्रदेश नं. १ का झापा, मोरङ, इलाम, धनकुटा, सुनसरी, उदयपुर, र तेह्रथुममा, प्रदेश नं. २ का सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा र रौतहटमा मतदान हुँदैछ ।
त्यसैगरि प्रदेश नं. ३ का मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ को नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि आजै मतदान भइरहेको छ ।
प्रदेश नं. ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दियामा पनि उत्साहजन मतदान भइरहेको छ । उता प्रदेश नं ६ का सुर्खेत, सल्यान, र दैलेख तथा प्रदेश नं ७ मा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाममा पनि मतदान भइरहेको छ ।
सरकार र निर्वाचन आयोगले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातासंग अपिल गरेको छ । मतदानका क्रममा कुनै अप्रिय घटना हुन नदिन विशेष सतर्कता अपनाइएको छ । मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि कडा सुरक्षा जाँच गरिएको छ । मतदानमा जाने मतदाताहरुलाई पनि खानतलासी गरी भित्र जान दिइएको छ ।
४५ जिल्लामा भइरहेको दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि एकसय २८ र प्रदेशसभाका लागि दुईसय ५६ सीटका लागि मतदान भइरहेको छ । यसका लागि कूल चारहजार चारय ८२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार छसय ६३ र प्रदेशसभाका लागि दुई हजार आठसय १९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।

दोस्रो चरणको निर्वाचनमा एक करोड २२ लाख ३५ हजार नौसय ९३ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । यसका लागि सात हजार सातसय ५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *