लमजुङमा प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारको अग्रता

लमजुङ, मंगसिर २२ । लमजुङमा प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

प्रतिनिधि सभामा ३८ हजार ८ सय ९२ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले १९ हजार ९ सय ८७ मतका साथ अग्रस्थानमा रहनु भएको छ । उहाँलाई कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले १५ हजार ६ सय १३ मतकासाथ पच्छ्याईरहनुभएको छ ।
प्रतिनिधि सभातर्फ स्वतन्त्र उमेदवारी दिएका द्वारिका प्रसाद मिश्रले ६ सय ९६ मत प्राप्त गरी तेस्रो स्थानमा रहनु भएको छ । अन्तिम समयमा बाम गठबन्धनलाई सघाएका जनसमाजवादी पार्टीका निराजन कुंवरले ६ सय ७६ मतका साथ चौथो स्थानमा रहनु भएको छ । पाँचौ स्थानमा रहनु भएका नयाँ शक्ति पार्टी नेपालका देवेन्द्र पराजुलीले २५८ मत पाउनु भएको छ । छैटौं स्थानमा रहनु भएका विवेकशील साझा पार्टीका उमेदवार निर्देश सिलवालले १ सय ५९ र संघीय समाजवादी फोरमका उमेदवार खेमजंग गुरुङले १ सय २४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभा सदस्यमा पनि बाम गठबन्धनकै उमेदवारहरुको अग्रता छ । प्रदेश (क) मा बाम गठबन्धनका उमेदवार धनञ्जय दवाडी ९ हजार ५ सय ५० मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेस उमेदवार गर्जबहादुर गुरुङले ६ हजार ५ सय ५९ मतका साथ पछ्याइरहुन भएको छ ।
प्रदेश ख तर्फ बाम गठबन्धनका उमेदवार पृथ्वीसुब्बा गुरुङ  १२ हजार ३ सय ७४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेस उमेदवार कृष्णप्रसाद कोइरालाले ९ हजार ८ सय ४३ मतले पछ्याइ रहनु भएको छ ।
स्वतन्त्र उमेदार उत्तम गुरुङ २ सय ५९ मतका साथ तेस्रो स्थानमा रहुन भएको छ । मत गणना जारी छ ।