नेपाली कांग्रेसद्वारा मतदातालाई धन्यवाद ज्ञापन, जनताको सुखदुःखमा निरन्तर साथ रहने बाचा

लमजुङ, मंसिर २४ गते ।

नेपाली कांग्रेस लमजुङले गएको प्रतिनिधसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक प्रणालीमा विश्वास राख्दै पार्टीको पक्षमा मतदान गर्ने सम्पूर्ण
मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
आइतबार बेसीशहरमा एक पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसले लोकतान्त्रिक पद्दतिको संरक्षण र लोकतान्त्रिक संविधानको कार्यान्वयन हुनुपर्छ भन्ने स्पष्ट मूल्य र मान्यताको पक्षमा अडिग रही नेपाली कांग्रेसलाई मतदान गर्ने लमजुङका सम्पूर्ण मतदातालाई धन्यवाद दिएको हो । सो अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबै राजनीतिक दल, कर्मचारी, सुरक्षा निकाय पत्रकार, विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहने सम्पूर्ण लमजुङ जिल्लाबासीहरुलाई धन्यवाद समेत दिएको छ ।
विज्ञप्तीमार्फत कांग्रेसले प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ तथा प्रदेश सभा क र ख मा निर्वाचित धनञ्जय दवाडी र पृथ्वीसुब्बा गुरुङलाई पनि बधाइ ज्ञापन गर्दै उहा“हरुको कार्यकालको पूर्ण सफलताको शुभकामना ब्यक्त गरिएको छ ।
विज्ञप्तीमा कांग्रेस बुलेटमा नभै ब्यालेटमा विश्वास गर्ने पार्टी भएकाले जनमतको कदर गर्दै निर्वाचन परिणामलाई सहज रुपमा लिइएको जनाइएको छ । जनताको सुखदुःखमा निरन्तर साथ रहने बाचा गर्दै कांग्रेस उमेदवारहरुले राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा अनवरत रुपमा डटिरहने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रतिनिधिसभा सदस्य पदका उमेदवार दीलबहादुर घर्ती, प्रदेश क का उमेदवार गर्जबहादुर गुरुङ, प्रदेश ख का उमेदवार कृष्णप्रसाद कोइराला र जिल्ला सभापति भेषबहादुर पौडेलद्वारा जारी विज्ञप्तीमा आफूहरु संविधानको कार्यान्वयनमा जुटिरहने र लमजुङलाई समृद्ध बनाउने अभियानमा अझै सशक्त र रचनात्मक रुपले क्रियाशील हुने प्रतिबद्धता जनाइएको छ ।
कांग्रेसले विजय र पराजय निर्वाचनको क्रममा सामान्य विषय रहेको भन्दै विज्ञप्तीमा पराजयले निराश नहुन र आ–आफ्नो कार्यक्षेत्रमा अझै क्रियाशील भएर जुटन कार्यकर्ताहरुमा अनुरोध समेत गरेको छ ।