अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति चीन र रुसको निन्दा

एजेंसी, पुस १९

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार सार्वजनिक गर्नु भएको अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई चीन र रुसले निन्दा गरेका छन् ।
ट्रम्पले सार्वजनिक गर्नुभएको नयाँ सुरक्षा रणनीतिमा चीन र रुसलाई अमेरिकाका प्रतिद्वन्द्वीका रुपमा प्रस्तुत गरिएका कारण रुस र चीनले निन्दा गरेका हुन् ।
क्रेमलीनका प्रवक्ता दिमीत्रि पेश्कोभले पहिलो झलकमै सो सुरक्षा रणनीति साम्राज्यवादी रहेको र त्यसले विश्वमा एउटै मात्र सर्वोच्च शक्ति अमेरिका मात्र भएको परिकल्पना गरेको जनाउ दिएका छन् । यद्यपी उक्त रणनीतिको राम्रोसँग अध्ययन गरिनुपर्ने खाँचो रहेको उनले बताएका छन् ।
यता चीनको विदेश मन्त्रालयले वासिंगटनलाई शीतयुद्धकालीन मानसिकता बोकिरहेको आरोप लगाउँदै त्यसले अमेरिका र अन्य देशहरुलाई हानि पु¥याउने बताएको छ ।
रुस र चीन दुवैले उनीहरु अमेरिकाका लागि खतरा भएको विषयलाई सीधै अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिमा ’अमेरिका फस्र्ट’ भन्ने आफ्ना चुनावी वाचाहरुतर्फ संकेत गरेका बताइएको छ ।
जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका अलग्गिनु र अन्तर प्रशान्त साझेदारी सम्बन्धी व्यापारिक सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीपबाट अमेरिका बाहिरिनुलाई उनले आफ्नो कार्यकालको सफलताहरु भनेर प्रस्तुत गरेका छन् । धनी राष्ट्रहरुले अमेरिकाले उनीहरुको बचाउ गरेको कार्यको पहिचान गर्दै उसलाई पैसा तिर्नुपर्ने खाँचो रहेको ट्रम्पले बताए ।
यसैबीच राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नोे चुनावी वाचाको खाका पनि नयाँ सुरक्षा नीतिमा प्रस्तुत गरेका छन् । साथै, आप्रवासी प्रवेशाज्ञा प्रणालीमा सुधार ल्याउनुपर्ने र त्यो मातृभूमिलाई जोगाउन आवश्यक रहेको उनको भनाइ छ । सुरक्षा रणनीतिको दस्तावेज निकै औपचारिक रहेको छ र त्यसमा चार वटा मूल सिद्धान्तहरु रहेका छन् जसमा मातृभूमिको सुरक्षा‚ अमेरिकी समृद्धिको प्रर्बद्धन‚ शक्तिमार्फत् शान्ति प्रदर्शन गर्ने र अमेरिकी प्रभावलाई विस्तार गर्ने छन् ।
६८ पृष्ठ लामो सो दस्तावेज तयार पार्न ह्वाईट हाउसका अधिकारीहरुलाई ११ महिना लागेको जनाइएको छ ।