उत्तर कोरियालाई चीनले तेल पठाएको समाचारबाट ट्रंप निकै स्तब्ध

एजेन्सी, पुस १४ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई चीनले तेल पठाएको समाचारबाट आफू निकै स्तब्ध भएको बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले चीन रंगे हात पक्राउ परेको लेखेका छन् । प्योङयाङलाई तेल निर्यात गरिए समस्याको कहिल्यै मैत्रीपूर्ण समाधान हुन नसक्ने ट्रम्पले उल्लेख गरेका छन् । यसअघि चीनले उत्तर कोरियासँगको तेलसम्बन्धी प्रतिबन्धलाई आफूले तोडेको अस्वीकार गरेको थियो ।
लगातारको आणविक परीक्षणका कारण उत्तर कोरियाले विश्व समुदायको नाकावन्दी भोगि रहेको छ । गत हप्ता बेइजिङले उत्तर कोरियाको पेट्रोल आयात ९० प्रतिशतसम्मले कटौती गर्नेसम्बन्धी अमेरिकाले तयार पारेको राष्ट्रसंघीय प्रस्तावलाई समर्थन गरेको थियो ।
प्योङयाङको विवादास्पद ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई रोक्ने ताजा नयाँ प्रयासस्वरुप नयाँ प्रतिबन्धहरु लगाएको थियो ।
दक्षिण कोरियाली पत्रिका जोसन इल्बोले चिनियाँ ट्यांकरहरुले गोप्य रुपमा उत्तर कोरियाली पानीजहाजलाई तेल र्पुयाइरहेको समाचार लेखेपछि राष्ट्रपति ट्रम्प चीनमाथि खनिएका हुन् ।
दक्षिण कोरियाली अधिकारीहरुलाई उद्धृत गर्दै उक्त पत्रिकाले अक्टोबर महिनायता गैरकानूनी रुपमा पानीजहाजबाट पानीजहाजलाई करिब ३० पटक तेल ओसारिएका घटनाको अमेरिकी गुप्तचर भूउपग्रहले तस्वीर खिचेको जनाएको छ ।
अमेरिकी अधिकारीहरुले उक्त समाचारको पुष्टि गरेका छैनन् तर विदेश मन्त्रालयका एकजना अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले तेल ओसारपसार अहिले पनि भइरहेको हुन सक्ने जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता माइकल केभीले उत्तर कोरियासँग आर्थिक सम्बन्ध तोड्न सबै मुलुकलाई पुनः आह्वान गरेका छन् ।