तमु (गुरुङ) समुदायको उद्गमस्थल मानिने लमजुङमा ल्होसारको रमझम

बेसीशहर, पुस १४ गते ।
तमु (गुरुङ) समुदायको उद्गमस्थल मानिने लमजुङमा ल्होसारको रमझम छाएको छ । ल्होसार गुरुङ समुदायकोे मुख्य चाड हो । हरेक बर्ष पुस १५ मा ल्होसार पर्दछ । ल्हो भनेको बर्ष र सार भनेको सर्नु अर्थात नयाँ बर्ष आउनु । गुरुङ पात्रो अनुसार हरेक बर्ष १५ पुसमा नयाँ बर्ष शुरु हुन्छ । गुरुङ संस्कृति परम्परा अनुसार पात्रोमा १२ वटा वर्ग हुन्छन् । ती वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट राखिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिने विश्वास छ ।
गुरुङहरुले मान्ने १२ वर्गमध्ये     मुसा वर्ग (च्युल्हो),  गाई वर्ग (ल्वोँल्हो), बाघ वर्ग (तोल्हो), बिरालो वर्ग (हिल्हो), गिद्ध वर्ग (मुप्रील्हो),सर्प वर्ग (सप्रील्हो),घोडा वर्ग (तल्हो), भेंडा वर्ग (ल्हुल्हो) बादर वर्ग (प्रल्हो), चरा वर्ग (च्हयाल्हो), कुकुर वर्ग (खिल्हो) र  मृग वर्ग (फोल्हो) हुन् ।
अहिले चरा वर्ग (च्ह्याल्हो) सकिएर कुकुर वर्ग (खिल्हो)को शुरुवात हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको भन्ने बुझाउँछ । प्राचीन तमु प्यो शास्त्रले बताए अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ ।
हुनत गुरुङहरुले ठाउँ अनुसार विभिन्न चाडपर्वहरु मनाउने गर्छन् । कतिपय स्थानमा गुरुङहरुले दशैं तिहारलाई पनि हर्षोल्लासका साथ मनाएको पाइन्छ । विशेषतः गुरुङहरु बौद्ध संस्कृतिका अनुयायी मानिन्छन्, यद्यपी हिन्दू परम्पराको पनि यो समुदायले उतिकै सम्मान गरेको पाइन्छ ।
दशैं तिहार जस्ता हिन्दूहरुका पर्वहरु मनाउने गरे पनि गुरुङ जातिहरुले आफ्नो मुख्य चाडपर्वको रुपमा ल्होसारलाई नै मान्ने गरेका छन् । ल्होसारको अघिल्लो दिनदेखि नै यसको रमझम शुरु भएको हुन्छ । हर्षोल्लासका साथ गुरुङहरु पूजापाठ, भोज भतेर, नाचगान र शुभकामना आदन प्रदान गरेर ल्होसार मनाउने गर्छन् ।
ल्होसारको अघिल्लो साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।
सामन्यतया ल्होसार १५ दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँबर्ष आरम्भ भएको खुशीयालीमा गुरुङ समुदायले सार्वजनीक स्थलमा गएर आगो बाली धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने परम्परा छ । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ल्हो अर्थात वितेको वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ल्हो को स्वागत गर्ने भन्ने परम्परा छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने परम्परा पनि रहेको पाइन्छ ।
ल्होसारको दिन गुरुङ समुदायका प्रायः सबै एकै ठाउँमा भेला भइ रमाइलो गर्ने चलन छ । विशेषगरी पछिल्ला बर्षहरुमा यो क्रम बढेको पाइन्छ । ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा तथा विमर्श हो भनिन्छ ।
सबैजना भेला भई पा (घरेलु मदिरा) सेवन गर्ने, सेलरोटि, अचार, मासु जस्ता मीठामीठा परिकार खाने चलन छ । यसका साथै तरुल, भ्याकुर, पिँडालु लगायत कन्दमूल समेत खाने चलन रहेको छ ।
ल्होसारका अवसरमा गुरुङ समुदायका पुरुष तथा महिलाहरुले लगाउने भेषभुषा पनि ल्होसारको  अर्को आकर्षण हो । यसदिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषामा देखिन्छन् । महिलाहरुले शीरमा शिरवन्दी,मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु र मजेत्रो (कर्मु) लगाउँछन् भने पुरुषहरुले शिरमा टोपी, भोटो माथि भंग्रा र कछाडमा पटुकी कस्छन् ।
तमु प्ये ल्हु संघ लमजुङको आयोजनामा शुक्रबार बेसीशहरमा गुरुङ संस्कृति झल्कने गरी बृहत झाँकी ¥यालीको आयोजना गरियो । मनाङे चौताराबाट शुरु भएको ¥याली बेसीशहर बजार परिक्रमा गरी तमु संग्राहलयमा पुगी टुंगिएको थियो । त्यहाँ आयोजित विविध सांस्कृति कार्यक्रममा नाचगान गरी खुशीयाली साटासाट गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा लमजुङ प्रदेश सभा ख का नवनिर्वाचित सदस्य पृथ्वीसुब्बा गुरुङ मुख्य अतिथि हुनुहुन्थ्यो । उहाँले सो अवसरमा आफ्नो भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न गुरुङहरु एकजुट हुनुपर्ने बताउनुभयो ।