त्रिवेणी कप फुटबल अन्तरगत आजबाट प्रि क्वार्टर फाइनलका खेलहरु शुरु

बेसीशहर– १५ पुस ।
त्रिवेणी युवा क्लवले सञ्चालन गरेको २६ औं त्रिवेणी कप फुटबल अन्तरगत आजबाट प्रि क्वार्टर फाइनलका खेलहरु शुरु भएका छन् । कूल २३ टीम सहभागी प्रतियोगिता अन्तर्गत शनिबार ३ वटा टीम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा दूधपोखरी युवा क्लव पसगाउँलाई शुन्यका विरुद्ध ४ गोल गर्दै सुन्दरबजार रातो विजयी भएको छ । सुन्दरबजारका लागि धर्मेन्द्र चौधरीले १५ औं, लालकुमार श्रेष्ठले ४१ औं मिनेटमा, इन्द्र दुराले ४९ औं मिनेटमा र सन्तोष गुरुङले इन्जुरी समयमा गोल गरी टीमलाई अघिल्लो चरणमा प्रवेश गराएका थिए ।
त्यस्तै दोस्रो खेलमा सुन्दरबजार निलो पारेदेवी युवा क्लव दुवारलाई शुन्यका विरुद्ध १ गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । पारेदेवीलाई घर फर्काउन सुन्दरबजारका विक्रम अधिकारीले खेलको ३४ औं मिनेटमा एकमात्र गोल गरेका थिए ।
आज भएको तेस्रो तथा अन्तिम खेलमा बेसीशहरका दुई टीम आपसमा भिडेका थिए । बेसीशहरको लमजुङ मस्र्याङदी युवा क्लव र बेसीशहर युथ सोसाइटीबीच भएको रोचक र प्रतिस्पर्धात्मक खेलमा बेसीशहर युथ सोसाइटीले शुन्यका विरुद्ध २ गोल गरी क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । सोसाइटीका लागि अनिश श्रेष्ठले खेलको ४५ औं मिनेटमा र सन्तोष घलेले खेलको इन्जुरी समयमा एक एक गोल गरी टीमलाई विजयी बनाएका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार चार खेल सम्पन्न भएका थिए । शुक्रबारको खेलमा योंग आदर्श सहजीलाई शुन्यका विरुद्ध २ गोल गर्दै घनपोखरा युवा क्लव विजयी भयो । त्यस्तै बाहुनडाँडा, घेर्मु र ताघ्रिङको संयुक्त टीम बाघेता न्यू शान्ति युवा क्लव पाखाथोकलाई एकका विरुद्ध २ गोल गर्दै विजयी बन्यो ।
शुक्रबारकै अर्को खेलमा अलैंचे युवा क्लवलाई शुन्यका विरु २ गोल गर्दै मस्र्याङदी क्याम्पस प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै चौथो खेलमा घनपोखरा रातोलाई शुन्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै सामना युवा क्लव तुरतुरे तनहुँ विजयी भएको थियो ।