लमजुङमा ल्होसारको रमझम जारी, टोल टोलमा नाचगान र भोज

बेसीशहर पुस १६

गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा विभिन्न स्थानमा नाचगान र स्योकैं का कार्यक्रम भएका छन् । तिथिले शनिबार पुस १५ मा ल्होसार परे पनि आइतवार पनि ल्होसारको रमझम कायम रह्यो । खिल्हो अर्थात कुकुर बर्गको स्वागतमा लमजुङका गुरुङ समुदायले ल्होसार भब्यताका साथ मनाउने क्रममा नाचगान र स्योकैं (भोज) का कार्यक्रम भइरहेका हुन् ।
आइतबार बेंसीसहरका विभिन्न टोलमा स्योकैं खाने र नाचगान गर्ने  कार्यक्रम आयोजना गरियो । बेसीशहरको मनाङे चौतारा टोल, शान्ति टोल र शेरा टोलमा आइतबार ल्होसार मनाइएको छ । कार्यक्रममा गुरुङ समुदायका गन्यमान्यलाई समेत आमन्त्र गरेर गुरुङ समुदायले टोलटोलमा सामूहिक भोज खाएका हुन् ।
मनाङे चौतारा टोलको आयोजनामा भएको ल्होसार कार्यक्रममा टोलका सल्लाहकार क्याप्टेन मिलबहादुर गुरुङले दिनभरी टोलका ब्यक्तिहरु संगसंगै जुटेर नाचगान गरी रमाइलो गरिएको र स्योकैं खाएको बताउनुभयो ।
शान्तिटोल बावा समूहका अध्यक्ष क्याप्टेन फमबहादुर गुरुङले आइतबार दिनभरी स्योकैं खाएर नाचगान गरी ल्होसार मनाइएको बताउनुभयो । यसपटक टोलका धेरै ब्यक्तिहरुको निधन भएकोले यसपटक भोज साकाहारी थियो ।
मनाङे चौतारा र शान्ति टोलमा आयोजना गरिएको स्योकैं कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ लगायत पत्रकारहरुको गएर कार्यक्रममा सहभागी भएका थिए । सोमबार प्रगतिटोल आमा समूहले पनि स्योकैं कार्यक्रमको आयोजना गर्ने भएको छ ।