लमजुङ कारागारका बन्दीहरुलाई पुस्तक सहयोग

बेसीशहर, पुस १७ गते ।
लमजुङ कारागारभित्र बन्दी जिवन विताउँदै गरेकाहरुलाई रोट्रयाक्ट क्लव अफ लमजुङले दर्जनौं पुस्तक सहयोग गरेको छ । एसिया फाउण्डेशन नेपालको सहयोगमा रोट्रयाक्टले एकसय ३२ वटा पुस्तक सहयोग स्वरुप उपलब्ध गराएको हो ।
विभिन्न मुद्दामा कारागारमा चलान भएका वन्दीहरुलाई अध्ययन गर्न सजिलो होस भनि विभिन्न विषयका पुस्तकहरु सहयोग गरिएको हो । ती पुस्तकहरु कारागार शाखाको पुस्तकालयमा राखिएको छ । वन्दी जिवन विताइरहेका वन्दीहरुले फुर्सदको समयमा अध्ययन गर्न सकुन भनि पुस्तक सहयोग गरिएको रोट्रयाक्ट क्लवका अध्यक्ष झमप्रसाद गुरुङले बताउनुभयो ।
सोमबार विहान एक कार्यक्रमको आयोजना गरी बेसीशहर नगरपालिका प्रमूख गुमानसिँह अर्यालले पुस्तक हस्तान्तरण गर्नुभएको हो । कारागारलाई सुधारगृहको रुपमा लिइएको भन्दै आचरण सुधारका लागि पुस्तक अध्ययन महत्वपुर्ण हुने अर्यालले सो अवसरमा बताउनुभयो ।
कारागारमा पुस्तकालयका लागि बजेट नहुने हुँदा पुस्तक खरिद गर्न नपाएको अवस्थामा एकसय भन्दा बढि पुस्तक प्राप्त गरेपछि कारागार भित्रका कैदीबन्दी खुशी भएका छन् । कारागारभित्र समय विताउन समस्या भईरहेका बेला ज्ञान आर्जन गर्ने पुस्तक पाएकोमा खुशी लागेको बन्दी राजन पोख्रेलले बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमूख जिल्ला अधिकारी एवं जेलर काजीमान सुनार, रोटरी क्लव अफ लमजुङका अध्यक्ष दिपक पौडेल, नेपाल पत्रकार महासँघ केन्द्रिय सदस्य नवीनराज कुईकेल लगायतले पुस्तक अध्यनबाट सोच र जिवन परिवर्तन गर्न सकेमात्र कारागारलाई सुधारगृहको रुपमा परिवर्तन गर्न सकिने बताउनुभयो ।
लमजुङ कारागारमा हाल सात जना महिला सहित ७६ जना कैदी बन्दी रहेका छन् ।
सरकारी तथा गैरसरकारी सस्थासँग समन्वय गरी सामाजिक कार्य गर्दै आएको रोट्रयाक्ट क्लव अफ लमजुङले एसिया फाउण्डेशनकै सहयोगमा लमजुङका दुई विद्यालयमा पनि पुस्तक सहयोग गर्ने जनाएको छ ।