लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै

लमजुङ पुस १८

लमजुङका प्रतिभावान कलाकारहरुद्वारा गतवर्ष मञ्चन गरिएको बहुचर्चित नाटक ‘फड्के’ले चर्चाको साथै राम्रो प्रशंसा समेत पाउन सफल भएपछि उत्साहित भएका निर्देशक पुरु लम्सालको निर्देशनमा लमजुङका रंगकर्मीहरुको समूह मञ्जरी नाट्य समूह फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदैछ ।
यही आउँदो माघमा पानी घट्ट बेसीशहरमा मञ्चन हुँदैछ । यही मंसिरको अन्तिम साता प्रदर्शन गर्ने तयारी गरिएको पानी घट्टलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले पछि धकेलेको हो ।
पानीघट्ट प्रदर्शनको मिति तोकिएर पनि प्रदर्शनस्थलमा निर्वाचनका मत पेटिका राख्ने, मतगणना हुने जस्ता कारणले प्रदर्शन पछि सरेको हो । सम्भवत आगामी माघको १८, १९ र २० को लागि बेसीशहरको जिल्ला सभागृहमा यो नाटक मञ्चन गरिने छ ।
संस्कृति, पुस्तान्तरण र वैदेशिक रोजगारबाट समाजमा पर्न गएको प्रभावको कथावस्तुमा नाटक पानीघट्ट घुमेको छ । युवा पुस्ता रोजगारीका लागि विदेशिएपछि गाउँघर सुनसान जस्तै छन् । गाउँघरमा युवाहरु छैनन् भन्दा पनि हुन्छ । भए पनि नगन्य छन् । विदेश गएकाहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ । यस्तै कथावस्तु जोडेर नाटक बनाइएको छ । परम्परादेखि ग्रामीण क्षेत्रमा चल्दै आएको पानीघट्ट अहिले विस्थापित भएका छन् । कतिपयलाई पानीघट्ट भनेको के हो भन्ने पनि थाह छैन । नाम सुनेका कतिपयले प्रत्यक्ष पानी घट्ट देखेका पनि छैनन् । कुनै जमानामा पानीघट्ट मान्छेको जीवनसंग जोडिएको थियो । दैनिक दिनचर्यासंग जोडिएको पानीघट्ट समयको रफ्तारसंगै लोप हुने अवस्थामा छन् ।
लमजुङ ठाडो भाकाको जननी हो । लमजुङ ठूलोस्वाँराका देउबहादुर दुराले सय बर्ष अघि शुरु गरेको ठाडोभाका लमजुङको मात्र नभै अहिलेको प्रदेश नं ४ कै लोकप्रिय भाका हो । देउबहादुर दुराको निधनपछि लमजुङ परेवाडाँडाका भेडीखर्के साइँलाले उनको बिँडो धानेका थिए । गत भदौमा उनै भेडीखर्केले पनि यो संसार छोडेपछि ठाडोभाका संकटमा छ । ठाडो भाकालाई पनि नाटकमा समावेश गरिएको मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोराले बताउनुभयो ।
पानीघट्टमा मञ्जरी नाट्य समूहका १७ जना कलाकारले अभिनय गर्ने भएका छन् । यसका लागि समूहका अध्यक्ष केदार बोहरा लगायत सबै कलाकारहरुले निकै मेहनत गरेका छन् । मञ्जरी नाट्य समूह लमजुङका कोषाध्यक्षसमेत रहेको रंगकर्मी सञ्जोग लामिछानेले पानीघट्ट आगामी फेब्रुअरीमा भारतको कोलकता शहरमा समेत प्रदर्शन हुने खुशीको खबर सुनाउनुभयो । गतसाल प्रदर्शन भएको फड्के र अब प्रदर्शन हुने पानीघट्टलाई मिलाएर नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले पुस्तक समेत निकाल्नु भएको र सम्भवत पानीघट्टको प्रदर्शनको अवसर पारेर सो पुस्तकको विमोचन गर्ने तयारी भएको पनि लामिछानेले जानकारी दिनुभयो ।