जनचाहना अनुसार नगई सुखै छैन : प्रदेस संसदहरु

लमजुङ पुस २३
नेकपा एमालेका केन्द्रीय सचिव तथा लमजुङ प्रदेश ख बाट प्रदेस सभा सदस्यमा विजयी भएका उमेदवार पृथ्वीसुब्बा गुरुङले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने र दुवैको संयुक्त सरकार पनि बन्ने कुरामा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
आइतबार मध्य नेपाल नगरपालिकाको पराजुलीबेसीमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै गुरुङले जनताको अभिमत दुई पार्टीबीच एकता गर्न र बहुमतको सरकारका लागि आएकोले त्यसको विपरित एमाले र माओवादी जान नसक्ने स्पष्ट पार्नुभयो । हिजो बामपन्थी एकता र स्थिर सरकारको नारा लिएर हामी आयौं, जनताले हामीलाई पत्याए, अब जनताको अभिमत अनुसार नगई सुखै छैन भन्दै गुरुङले जनचाहना अनुसार छिट्टै पार्टी एकता हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।
नेता गुरुङले एमाले र माओवादी केन्द्रको  एकता हुन नदिन देशी विदेशी शक्ति लागि परेको भन्दै कांग्रेस पनि एमाले माओवादीबीचको एकता हुन नदिने पक्षमा रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “कांग्रेस सत्ता लम्ब्याउने नाउँमा बाम गठबन्धन टुटाउने र फुटाउने योजनामा लागेको छ, यो उसको दिवास्वप्न मात्रै हो ।” गुरुङले कांग्रेसले पराजित हुँदा पनि सत्ता नछोडेको भन्दै कांग्रेसको आलोचना मात्र गर्नुभएन, जनमतको अपमान गर्दै सत्तामा टाँसिरहेको टिप्पणीसमेत गर्नुभयो ।
सचिव गुरुङले अहिलेको सरकार कामचलाउ भएकाले दीर्घकालीन र राष्ट्रिय महत्वका निर्णय गर्न नहुने भन्दै प्रदेशको केन्द्र र प्रदेश प्रमुख तोक्न पनि अहिलेको सरकारले नहुने आशय ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं एमालेबाट समानुपातिक तर्फबाट विजयी भएका उमेदवार मायानाथ अधिकारीले अब बन्ने बामपन्थी  सरकारले देशलाई समृद्धिको दिसातर्फ लैजाने बताउनुभयो । नेकपा एमाले जनचाहना अनुसार राज्य सञ्चालन गर्नुपर्छ भन्ने पार्टी भएकाले जनताको ईच्छा अनुसार नै समृद्धि र विकासतर्फ अग्रसर हुने बताउनुभयो ।
सोही अबसरमा लमजुङ प्रदेश ‘क’ बाट निर्वाचत उमेदवार धनञ्जय दवाडीले अब बन्ने केन्द्रीय तथा प्रदेश सरकारले मुलुकको दीगो विकास र आर्थिक समृद्धिका लागि काम गर्ने बताउनुभयो । जनताले विकास र राजनीतिक स्थिरता चाहेका छन् भन्दै दवाडीले अब जनताको विश्वास अनुसार एमालेले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद टुका हमाल, जमीन्द्रमान घले, भीष्म अधिकारी लगायतले जनचाहना अनुसार अघि बढ्नुको विकल्प नरहेको भन्दै विकास र समृद्धि अबको प्रमुख एजेण्डा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी स्थानीयले देश र जनतालाई परिवर्तनको अनुभूति गराउने र देश र जनतालाई समृद्ध बनाउने अभिभारा तपाइँहरुमाथि आएको छ भन्दै चुनाव अघि गरेका प्रतिबद्धता नभुल्न आग्रह गरेका थिए ।